अर्थतन्त्र उकास्न इजिप्टका योजना : आयात घटाउने उत्पादन बढाउने


काठमाडौँ । इजिप्टले देशको आर्थिक समस्या समाधान गर्न घरेलु औद्योगिक उत्पादन बढाउँदै आयात घटाउने योजना बनाएको छ ।

इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसीले यसबारेमा सरकारको योजना सार्वजनिक गरेका हुन् ।

सिसीले इजिप्टियन मिलिटरी एकेडेमिकीको निरीक्षण भ्रमणपछि इजिप्टको सरकारी टेलिभिजनमा प्रशारण भएको कार्यक्रममा यसबारेमा जानकारी गराएका हुन् ।

कृषि उत्पादन बढाएर आयात घटाउने कुरा अर्थतन्त्र प्रवद्र्धन गर्ने योजनाको एक भाग भएको भन्दै इजिप्टको कृषियोग्य जमिनलाई ठुलो मात्रामा बिस्तार गर्ने बताए ।

सिसीले देशले झेलिरहेको आर्थिक कठिनाइको कारण विश्वव्यापी संकट, कोभिड १९ महामारी र रुस-युक्रेन युद्धको असर रहेको बताए । सबैभन्दा बढी जनसंख्या रहेको अरबियन देश इजिप्टको विदेशी ऋण मार्च अन्त्यसम्ममा १६५.३ बिलियन डलर पुगेको छ । जो २०२२ को सोही अवधिको तुलनामा ४.८ प्रतिशतले बढी हो ।

अर्थतन्त्र उकास्नका लागि इजिप्टले उद्योग र कृषिलाई प्रोत्साहन गरेको छ । साथै सरकारले विदेशी लगानी आकर्षित गर्न र देशको आर्थिक चुनौतिहरूको सामना गर्न पर्यटन क्षेत्रलाई पनि प्रवद्र्धन गर्ने योजना बनाएको छ ।

उनले कडा परिश्रम गरे देशको अहिलेको आर्थिक चुनौति सामना गर्न सकिने बताए ।