काठमाडौं। नेपाल राष्ट्र बैंकले जारी गर्दै आएको मूल्यवृद्धिसम्बन्धि तथ्यांकमा व्यापक गुनासो रहँदै आएपछि देशको केन्द्रिय बैंकले उपभोक्ता मूल्य सूचकांकको आधार वर्ष परिवर्तन गर्ने निर्णय गरेको छ ।
हालसम्म आर्थिक वर्ष २०७१/७२ आधार वर्ष मानेर उपभोक्ता मूल्य सूचकांक (सीपिआई) को विवरण जारी गर्दै आएकोमा अब आर्थिक वर्ष २०८०/८१ लाई नयाँ आधार वर्ष बनाउने निर्णय गरेको हो ।
“समयको अन्तरालसँगै उपभोक्ताको व्यवहारमा आएको परिवर्तन बजारमा वस्तु तथा सेवाको उपलब्धतामा आएको परिवर्तन तथा देशको प्रादेशिक संरचना लगायतका कारण आर्थिक वर्ष २०८०/८१ लाई नयाँ आधार वर्ष कायम गर्ने उदेश्यले २०८० साउनदेखि २०८१ असारसम्म देशका ७७ जिल्लास्थित तोकिएका बजार केन्द्रहरुमा विभिन्न वस्तु तथा सेवाको विवरण तथा मूल्य संकलन कार्य सुरु भएको छ,” राष्ट्र बैंकले भनेको छ।
राष्ट्र बैंकले हालसम्म ६८ ओटा वस्तु तथा सेवाहरुको साप्ताहिक मूल्य संकलन गर्दै आएकोमा १४१ ओटा वस्तु तथा सेवाको मासिक मूल्य संकलन गर्ने गरेको छ भने २८७ वस्तु तथा सेवाको. त्रैमासिक मूल्य संकलन गरि कुल ४९६ ओटा वस्तु तथा सेवाको ‘वस्तु डालो’ तयारगरी उपभोक्ता सूचकांक बनाउँदै आएको छ ।
सोही आधारमा हरेक महिना सूचकांकमा हुने परिवर्तनलाई अघिल्लो वर्षको समान अवधिसँग तुलना गरी मुद्रास्फीतिको तथ्यांक जारी गर्ने गरिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार वितेको आर्थिक वर्ष २०७९/८० मा उपभोक्ता मूल्य सुचकांक १५७.६४ अंकमा रहेको छ ।
यो अघिल्लो आर्थिक वर्ष २०७८/७९ को तुलनामा ७.७४ प्रतिशतले बढेको हो । राष्ट्र बैकले जारी गरेको मासिक तथ्यांक अनुसार उपभोक्ता मूल्यवृद्धिदर साउन, भदौ, असोज र कातिकमा औषतमा ८ देखि साढे ८ प्रतिशतको हाराहारीमा लगभग स्थिर जस्तो देखिएकोमा मंसिरदेखि असार मसान्तसम्म औषत ७ देखि साढे ७ प्रतिशतको हाराहरीमा लगभग एकै रेखामा स्थिर देखाएपछि राष्ट्र बैंकको मूल्य तथ्यांक माथि प्रश्न उठेको हो ।
राष्ट्र बैंकले जारी गर्ने मूल्यवृद्धिको तथ्यांक बजारको यथार्थसँग नमिलेको गुनासोसँगै एक दशक नपुग्दै आधार वर्ष परिवर्तन गरिएको हो । आम उपभोक्ताहरुले बजारमा खाद्य र गैर खाद्य दुबै वस्तु तथा सेवाको उच्च मूल्यवृद्धि महशुस गर्दै आएकोमा राष्ट्र बैंकको सुचकांकले तथ्यांकलाई प्रतिबिम्बित गर्नै नसकेको देखिएको हो ।
प्रतिक्रिया दिनुहोस्