१० अर्ब रुपैयाँको विकास ऋणपत्र जारी गर्दै नेपाल राष्ट्र बैंक


काठमाडौं । नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँको विकास ऋणपत्र २०८६ ‘ज’ जारी गर्ने भएको छ। राष्ट्र बैंकले यहि भदौ ११ गतेदेखि ६ वर्षे अवधिको विकास ऋणपत्र जारी गर्न जनाएको छ ।

उक्त ऋणपत्रको पर्सि भदौ १० गते बोलकबोलमार्फत बिक्री गरिनेछ।

यो ऋणपत्रमा इच्छुक बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले बोलपत्र पेस गर्न सक्नेछन्।

यो ऋणपत्रको ब्याजदर पनि बोलकबोलमार्फत हुनेछ। ब्याज भुक्तानी अर्धवार्षिक हुने र आर्जित ब्याजमा ब्याजकर लाग्ने राष्ट्र बैंकले जनाएको छ। ऋणपत्र २०८६ भदौ ११ गते परिपक्व हुनेछ।

बोलकबोलमा इच्छुक खरिदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धीका रुपमा सहभागी हुन पाउनेछन्। प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलकबोलहरुलाई क्रमशः निष्काशित रकमको ८५ र १५ प्रतिशत अर्थात रु. ५ अर्ब ५० करोड र रु. १ अर्ब ५० करोड छुट्याइएको छ।

अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमका लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालाहरुलाई बिक्री गरिनेछ।

अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमभन्दा बढी रकमको बोल प्राप्त हुन आएमा बोलवालाहरुलाई समानुपातिक रुपमा ऋणपत्रको रकम बाँडफाँड गरिने बैंकले जनाएको छ।

यो ऋणपत्र धितो राखी कर्जा लिन तथा दिन पाइने व्यवस्था रहेको छ ।

नेपाल राष्ट्र बैंकले आन्तरिक ऋण उठाउन तथा विकास आयोजना निमार्ण गर्नका लागि विकास ऋणपत्र निष्काशन गर्ने गर्दछ। विकास ऋणपत्र दीर्घकालीन अवधिको आन्तरिक ऋण उठाउन दुई वा सो भन्दा बढी वर्षका लागि प्रयोग गरिने सरकारी औजार हो।

हाल राष्ट्र बैंकबाट निष्कासन भएका विकास ऋणपत्र ५, ७, ८, ९, १०, ११, १२, १३ र १५ वर्षे अवधिका रहेका छन् । नेपाल सरकारको आवश्यकतानुसार यो ऋणपत्रको अवधि निर्धारण गरिन्छ ।