भदौ १९ गतेदेखि आइपीओ जारी गर्दै भिजन लुम्बिनी उर्जा


काठमाडौं । भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडले सर्वसाधारणको लागि आइपीओ निष्काशन गर्ने भएको छ । क्रम्पनीले नेपाल धितोपत्रबोर्डबाट यहि भदौ ५ गते साधारण सेयर आइपीओ निष्काशनको लागि अनुमति प्राप्त गरेको छ ।

जसअनुसार कम्पनीले यहि भदौ १९ गतेदेखि आइपीओ निष्काशन गर्ने तयारी गरेको जनाएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।

कम्पनीले जारी पूँजीको १० प्रतिशतले हुन आउने १९ करोड १२ लाख ५० हजार रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ दरका १९ लाख १२ हजार ५०० कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो ।

यसका साथै सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने १ करोड ९१ लाख २५ हजार रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित दरका १ लाख ९१ हजार २५० कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गर्न लागेको हो ।

उक्त आइपीओमा कास्की जिल्लाका माछापुच्छ्रे गाउँपालिकाको वडा नं. १, २, ३, ४ र पोखरा महानगरपालिका वडा नं. १९ का स्थानिय बासिन्दाहरुले आवेदन दिन सक्नेछन् । सो आईपीओमा स्थानीय वासिन्दाहरुले न्यूनतम १० कित्ता अधिकतममा ३ लाख ८० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

स्थानिय बासिन्दाले आयोजना स्थल, मुक्तिनाथ विकास बैंक र नेपाल फाइनान्सका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। यसका साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सकिनेछन।

यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले निर्माण गरेको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

उक्त आइपीओमा स्थानिय बासिन्दाहरुले छिटोमा असोज २ गते हुनेछ भने ढिलोमा असोज १७ गतेसम्म आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले असोज २ गतेभित्र आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीले उक्त आइपीओ निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड लाई नियुक्त गरेको छ

क्रेडिट रेटिङ गर्दा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आईआरएन डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।