अखिल नेपाल किसान महासंघ सुदूरपश्चिम प्रदेश कमिटीले प्रदेश सरकारलाई १० बुँदे ज्ञापन पत्र बुझायो


धनगढी । अखिल नेपाल किसान महासंघ सुदूरपश्चिम प्रदेश कमिटीले कृषि क्षेत्र र किसानका विभिन्न समस्याबारे १० बुँदे ज्ञापन पत्र बुझाएको छ ।

महासंघका प्रदेश कमिटी अध्यक्ष मदनराज रेग्मीले सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रीलाई ज्ञापन पत्र हस्तान्तरण गरेका हुन् ।

ज्ञापन पत्रमा लम्पी स्किन रोगका कारण सुदूरपश्चिम प्रदेशमा हजारौको संख्यामा पशुहरूको मृत्यु भैसकेको र लाखौँको संख्यामा पशुवस्तुहरू संक्रमित रहेको भन्दै तत्काल योजना बनएर समाधान गर्न माग गरिएको छ ।

महासंघले लम्पीस्किन रोगलाई तत्काल महामारी घोषणा गर्न माग गर्दै क्षति पुगेका किसानलाई राहत र क्षतिपूर्ति तथा पुनस्र्थापनाका लागि प्रयाप्त बजेटसहितको राहत घोषण गर्ने माग गरेको छ ।

त्यस्तै रोग नियन्त्रणका लागि प्रयाप्त मात्रामा खोप र प्राविधिकको व्यवस्था गरी द्रुत गतिमा किसानलाई उपलब्ध गराउन भनिएको छ ।

महासंघले पशुमा क्षति पुगेका किसानलाई अविलम्ब बिमा रकम भुक्तानी गर्ने व्यवस्था मिलाउन र महामारीबाट क्षति भएका पशुपालक किसानहरूको कर्जा रकम मिनाहा गरी सुलभ दरमा पशुपालन व्यवसाय गर्न सहुलियत ब्याजदरमा सरल तरिकाले कर्जा उपलब्ध गराउन पहल गर्न माग समेत गरेको छ ।

बाढी पहिरो दुबान तथा प्राकृतिक प्रकोपबाट क्षति पुगेका किसानलाई उचित राहात र पुर्नस्थापनाका लागी विशेष पहल गर्नुपर्नेमा समेत महासंघले जोड दिएको छ ।

समयमा किसानलाई सहुलियत दरमा मलखाद र बिउ बिजन उपलब्ध गराउने. व्यवस्था गर्न तथा अनुदातमा वितरीत मलखा लक्षित किसानसम्म नपुगी विचौलियाहरूले चर्को मूल्यमा बिक्री वितरण गरिरहेको आम किसानहरूको गुनासो रहेको भन्दै नियमित अनुगमनको व्यवस्था मिलाउन महासंघले भनेको छ ।

महासंघले ‘छिमेकी मुलुकबाट आयात हुने कृषि जन्य बस्तुहरू खाद्यान्न तथा तरकारी र फलफूल आदीको गुणस्तर तथा विषादी मापन गर्ने व्यवस्थामा कडाई गरियोस’ भनेको छ ।

किसानलाई दिने अनुदानका कार्यक्रमहरू वास्तविक किसान पहिचान गरेर मात्र दिने व्यवस्था गर्न र किसानको उत्पादनको सहन रुपमा बजारीकरण गर्न प्रत्येक पालिकामा कृषक सहायता केन्द्रको व्यवस्था गर्न महासंघले माग पत्रमा उल्लेख गरेको छ ।
महासंघले आफ्ना माग पुरा नभए आन्दोलन गर्ने चेतावनी समेत दिएको छ ।