काठमाडौँ । एसियाली मोटरसाइकल फेडरेसन (एफआईएम एसिया) को आयोजनामा भोलि (सेप्टेम्वर १ देखि ३)सम्म थाइल्यान्डमा हुने एसिया कप अफ रोड रेसिङ (एसीआरआर) मा भाग लिन तीन सदस्यीय नेपाली टोली आज बैंकक प्रस्थान गरेको छ ।
नेपाली राइडरद्वय राजकुमार कार्की (नुवाकोट) र आषिक लामा (काठमाडौँ) तथा नेपाल अटोमोबाइल्स एसोसिएशनका सचिव विनोद तन्डुकार अफिसियलको रूपमा त्यसतर्फ प्रस्थान गरेका हुन
राष्ट्रिय खेलकुद परिषदका कार्यकारी बोर्ड सदस्य एकेन्द्र कुँवर, एफआईए वर्ल्ड काउन्सिल मेम्बर गोबिन्द भट्टराई, नेपाल अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष दसरथ रिसाल तथा उपाध्यक्ष एवं मोटरसाइकल कमिसनका प्रमुख सिताराम न्यौपानेले नेपाली टोलीलाई आज बिदाइ गरेका हुन् ।
थाइल्याण्ड सर्किट (नाखोन्चाइसी) ट्रयाकमा हुने २०० सीसीका मोटरसाइकलको सो रेसमा एसिया महादेशका राइडर्सले आफ्नो साहस, सृजना र कला प्रस्तुत गर्नेछन् ।
२५०० मिटर लम्बाई र १२ देखि १५ मिटर चौडाईको उक्त ट्रयाकमा ६ वटा दायाँ मोड, ४ वटा बाया मोड तथा २ वटा स्लालम टाइपका मोडहरु रहने छन् । नेपाल सहित सो प्रतियोगितामा जापान, भारत, थाइल्यान्ड, फिलिपिन्स, श्रीलंका, ताइवान र चीनका राइडर्सको सहभागिता हुनेछ ।
प्रतिक्रिया दिनुहोस्