प्रविधिको विकाससँगै अवसर र चुनौति थपियो: अर्थमन्त्री डा. महत


काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले पत्रकारितामा नयाँ प्रविधिले सजिलो बनाए पनि त्यसको सदुपयोग र दुरुपयोगको चुनौति थपिएको बताएका छन् । शनिबार आर्थिक पत्रकार समाज (सेजन) को २५ औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै मन्त्री डा. महतले भने,“राजनीतिक क्षेत्रजस्तै पत्रकारिता जगत पनि परीक्षणको दौडबाट गुज्रिरहेको छ ।”

“हामीले पूर्ण व्यवसायका साथ जिम्मेवारीका साथ काम गर्नुको विकल्प छैन”, मन्त्री डा. महतले भने,“म अर्थमन्त्रालयमा पुगेकोपछि इमान्दारिताका साथ कसरी देश र जनताका लागि काम गर्ने भन्ने मानसिकताबाट मैले काम गर्ने प्रयास गरेको छु । यसलाई साथीहरुले आत्मसाथ गर्नुभएको छ, कतिपय अवस्थामा प्रश्न पनि गर्नुभएको छ ।”

“संसदभित्र र बाहिर मैले आफ्ना निर्णय आधारसहित प्रतिरक्षा गरेको छु, त्यसलाई सबैले स्वीकार गरेका छन्,” मन्त्री डा. महतले भने,“आर्थिक पत्रकार समाजलगायत सञ्चार जगतले अर्थमन्त्रालय र मेरा विषयमा कुनै प्रश्न छ भने प्रत्यक्षरुपमा चासो, चिन्ता, दुविधा र प्रश्नका लागि म सधैं खुला छु ।”

‘देशको अर्थतन्त्रलाई लयमा ल्याउने प्रयास गरिरहेको मन्त्री डा. महतले बताए । उनले पत्रकार जगत, बैंकिङ र निजी क्षेत्रबाट पनि म त्यही किसिमको सहयोगको अपेक्षा गरेको उल्लेख गरे । “राज्यबाट पनि पत्रकारहरुले सहयोगको अपेक्षा गर्नुभएको छ, त्यो स्वभाविक हो । त्यसको सहजिकरण हुन्छ,” उनले भने ।

“‘पर्यटन क्षेत्रमा सुधार भइरहेको छ, विदेशी मुद्राको सन्चित पर्याप्त छ । आर्थिक गतिविधि अगाडि बढाउनका लागि जे समस्या छ, त्यसलाई सम्बोधन गर्न सरकार लागिरहेको छ । आगामी दिनमा देशको अर्थतन्त्र सकारात्मक दिशामा जानेछ,” मन्त्री डा. महतले भने ।

उनले अनुमान गरेअनुसार राजश्व नबढेको तर गतवर्षको तुलनामा चालू आर्थिक वर्षमा वृद्धि भइरहेको बताए । उनले भने, आउँदो वर्ष लक्ष्यमा पुगे विश्वास लिएको । राज्य संयन्त्रले गर्ने कतिपय निर्णयले पनि अर्थतन्त्र प्रभावित भइरहेको छ । निजी क्षेत्रको समस्यालाई माइक्रो म्यानेजमेन्ट गर्नेतर्फ लाग्यो भने पनि समस्या आउँछ ।”