प्राधिकरणले सञ्चालनमा ल्यायो ५१ वटा चार्जिङ स्टेशन, मन्त्री बस्नेतले गरे उद्घाटन


काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले बनाएको देशभरका ५१ वटा चार्जिङ स्टेसन उद्घाटन भएको छ । आज नेपाल पुलिस क्लबमा बनेको चार्जिङ स्टेसन उद्घाटन गर्दै एकसाथ देशभरका चार्जिङ स्टेशन उद्घाटन भएको हो ।

पुलिस क्लबमा बनेको चार्जिङ स्टेसन ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्री शक्तिबहादुर बस्नेतले उद्घाटन गरेका हुन् । योसँगै देशको चार्जिङ स्टेसन एकसाथ उद्घाटन भएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले करिब ३ वर्षअघि देशभर एकसाथ ५१ वटा चार्जिङ स्टेसन निर्माण गर्ने उद्घोष गरेको थियो ।

उद्धघाटन कार्यक्रमा बोल्दै मन्त्री बस्नेतले विद्युतीय सवारी साधनहरुको प्रवर्द्धन र बिस्तारका लागि आवश्यक सहुलियत र अनकुल वातावरण बनाउन सरकार तयार रहेको बताएका छन् ।

देशभरका ५१ वटा विद्युतीय चार्जिङ स्टेशन उद्घाटन विद्युतीय यात्रा मात्रै नभएर इलेक्ट्रिक भेकलमार्फत हरित र दिगो विकासमा महत्वपूर्ण योगदान गर्नसक्ने विश्वास रहेको उनको भनाइ छ । मन्त्री बस्नेतले विद्युतीय सवारी साधनहरुले जलवायु परिवर्तनबाट उत्पन्न भएको समस्या न्युनिकरण मात्रै नभएर नेपालको आर्थिक विकास र समग्र यातायात विकासमा योगदान पुग्ने बताए ।

उनले भने, ‘सरकारले अपौचारिक रूपमा देशभरका ५१ वटा विद्युतीय चार्जिङ स्टेशन उद्घाटन गरिरहेका छौं । यो चार्जिङ स्टेशन उद्घाटन विद्युतीय यात्रा मात्रै होइन इभीमार्फत हरित र दिगो विकासमा महत्वपूर्ण योगदान गर्नसक्ने विश्वास लिएका छौं । विद्युतीय सवारी साधनहरुले जलवायु परिवर्तनबाट उत्पन्न भएको समस्या न्युनिकरणमा महत्व राख्छ । सँगै नेपालको आर्थिक विकास र समग्र यातायात विकासमा योगदान पुग्नेछ । सरकारले ५१ स्थानमा मात्रै नभएर अब निकट भविष्यमा नै देशभर व्यापक रुपमा बिस्तारको योजना बनाएका छौं ।’

मन्त्री बस्नेतले विद्युतीय सवारी साधनको क्षेत्रलाई सरकारले कानूनी व्यवस्थामा मात्रै सिमित नभएको भन्दै व्यवहारिक जीवनमा अभियानको रूपमा अगाडि बढाउने बताए । चार्जिङ स्टेशसनहरूको निर्माण नेपालको हरित दिगो विकासको यात्रामा महत्वपूर्ण सावित हुने मन्त्री बस्नेतको भनाइ छ ।