कृषि कर्जा लिनेकाे संख्या आफन्तबाट सहकारीमा सर्यो


काठमाडौँ । नेपालमा कृषि कार्यका लागि ऋण लिने कृषक परिवारको संख्या ४ लाख ८३ हजार रहेको छ । राष्ट्रिय तथ्यांक कार्यालयले गरेको राष्ट्रिय कृषि गणना २०७८ अनुसार नेपालमा रहेका ४१ लाख ३१ हजार कृषक परिवार संख्या रहेको छ । जसमध्ये ४ लाख ८३ हजार कृषक परिवारले ऋण लिएका छन् ।

यो तथ्यांक अनुसार कुल कृषक परिवारको १२ प्रतिशत हो । २०६८ को गणना अनुसार ऋण लिने कृषक परिवारको संख्या ८ लाख ३६ हजार थियो जुन २२ प्रतिशत हो । अधिकांश कृषकले सहकारीबाट ऋण लिएका छन् । यसरी ऋण लिनेमा ३९ प्रतिशत कृषक परिवारले सहकारीबाट कर्जा लिएका छन् ।

२०६८ को कृषि गणना अनुसार ऋण लिएकामध्ये सबैभन्दा धेरै आफतबाट लिएका थिए । आफन्तबाट कृषि ऋण लिने परिवारको संख्या ३५ प्रतिशत रहेको थियो । कृषिको लागि ऋण ऋण आवश्यक छ भन्ने वा ऋण लिएकाको हकमा थप ऋणको आवश्यकता छ भन्ने कृषक परिवारको संख्या १४ लाख १५ हजार रहेको जनाइएको छ ।

कृषि गणना २०७८ अनुसार कृषि क्रियाकलापको बीमा गर्ने कृषक परिवारको संख्या १ लाख ८२ हजार रहेको छ । बीमा गर्ने कुल कृषक परिवारको ४ प्रतिशतमात्र हो । जमिध्ये ८४ प्रतिशत कृषक परिवारले पशुपन्छीपालनका लागि बिमा गरेको उल्लेख गरेको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयले खेतीपाती गर्ने परिवार अन्र्तगत ०.०१ हेक्टर (चार आना वा आठ धुर) वा सो भन्दा बढी जग्गामा खेतीपाती लगायतका कृषि परिवार पर्ने जनाएको छ भने खेतीपाती नभएका र भए पनि ०.०१ हेक्टर भन्दा कम जग्गामा खेतीपाती गरेका तर पशुपन्छी पालेका परिवारलाई पशुपन्छी मात्र पाल्ने कृषक परिवार मानिएको उल्लेख गरेको छ ।

नेपालमा ४१ लाख ३१ हजार कृषक परिवारमध्ये ३९ लाख ९९ हजार परिवारले खेतीपाती गरेको र १ लाख ३२ हजारले पशुपन्छीमात्र पाल्ने गरेको पाइएको कार्यालयले जनाएको छ ।