२०७२ को भूकम्पपछि कुनै दिन भक्तपुरमा राम झुपडी छ रे त्यसको कथा ‘स्टोरीसाइकल’ मा अगाडि बढाउने सोचले त्यहाँ पुग्यौँ । जुन ९० सालको भुइँचालोपछि मानसिकमा विक्षिप्त भएकाहरू गाँजा सेवनसहितको भजनमा लगाउने सुविधा दिइएको रहेछ । यसको कथा त पूरा हुन सकेन तर मेरो चासो गाँजामा बढन थाल्यो ।
उतिबेला बुढापाकाले अनिद्रा र शारीरिक पीडा हटाउन तथा एक्ला, अशक्त र पट्यारलाग्दा दिन बिताउन गाँजा सेवन गर्ने चलन थियो । भजनकिर्तनको आनन्द लिन, चाडपर्व मनाउन, घरपालुवा जनावर उपचार गर्न र साधुहरूलाई दान दिन पनि गाँजा प्रयोग हुन्थ्यो ।
नेपालमा शताब्दिऔँदेखि गाँजाको आयुर्वैदिक ओखती प्रयोग हुँदै आएको थियो । गाँजालाई आयुर्वेदमा ‘विजया’ भनेर उल्लेख छ । निद्रा नलाग्ने, नाकबाट पानी बगिरहने, शीघ्र स्खलन, झाडापखाला, अत्यधिक पीडा, मानसिक समस्या जस्ता रोग निको पार्न गाँजाको औषधि प्रयोग हुँदै आएको सिंहदरबार वैद्यखानाको एक दस्तावेजमा उल्लेख भएको पाइयो ।
गाँजाको कण मिसाएर तयार पारिने ‘लक्ष्मीविलास रस’ नाकबाट पानी बग्ने रोगमा अचुक ओखती मानिन्छ । अनिद्रा र उच्चरक्तचापका बिरामीलाई दिइने ‘सर्पगन्धा’ मा गाँजाको कण हुन्छ । मानसिक र डिप्रेसनका बिरामीलाई यसैबाट बनेको ‘मोदनानन्द मोदक’ दिइन्छ ।
यसरी गाँजाको महत्व हामीकहाँ परम्परागत रूपले नै स्वीकारिएको छ । विस्तारै सामाजिक सञ्जालमा गाँजाको चर्चा हुन थाल्यो । विषेशगरी सन् १९७० दशकमा अमेरिकी दबाबले प्रतिबन्धित भएको गाँजा अमेरिकाकै राज्यहरूमा खुल्ला हुँदै जाँदा यसले झन चर्चा पाउँदै गएको थियो ।
त्यसपछि हामीले पनि समाजिक सञ्जालबाटै गाँजाको चासो दिने रूपको ससानो समूह बनाएर छलफल गर्न थालेका हौँ । गाँजाको कानुनी अडचन फुकाउन गाह्रो भए पनि भाङ कानुनी रूपमा फुकुवा भएको र यहीँबाट छलफल अघि बढाउन सकिने मेरा गुरु रवि प्रधानले दिनु भएको सुझावअनुसार हामीले छलफल अघि बढायौँ ।
विश्वभर गाँजाको जस्तो चर्चा भाङले पाएको छैन । भाङ र गाँजा फरक हुन् र भाङको आर्थिक तथा पर्यावरणीय महत्व गाँजाको भन्दा धेरै छ भन्ने हामीलाई हेक्का थिएन र छैन । त्यसको फरकमा हामीले केही अध्ययन र चासो दिन थालेका छौँ ।
भाङ र गाँजामा भिन्नता
भाङ क्यानाबिस सेटिभा एलको प्रजाति हो, क्यानाबिसको उप–प्रजाति । मेरिवानाको विपरीत भाङले प्राकृतिक रूपमा अत्यन्त कम मात्रामा टेट्राहाइड्रोक्यानाबिनोल (टिएचसी) उत्पादन गर्छ । क्यानाबिसमा रहने मन प्रभावी यौगिक जसले मानिसलाई आनन्दित बनाउँछ । संयुक्त राज्य अमेरिका र बेलायत जस्ता पश्चिमी देशहरूमा औद्योगिक भाङ शब्द टिएचसीको मात्रा कम भएको (०.३५) क्यानाबिस वनस्पतिलाई मान्ने गरिएको छ । अर्को तत्व सीबीडीको मात्रा बढी रहन्छ ।
सीबीडीः क्यानाबिडिस्ट (Cannabidist) भन्ने शब्दको छोटो रूप नै सीबीडी (CBD) हो । यसको प्रयोग विभिन्न औषधिमा उपयोगी हुने भएकोले र क्यानाबिसमा पाइने दोस्रो प्रमुख रासायनिक तत्व भएकोले पनि यसको महत्व छ । गाँजामा भने सीबीडी मात्रा कम र टीएचसीको मात्रा ज्यादा हुन्छ ।
टीएचसीः टेट्राहाइड्रोक्यानाबिनोल Tetro Hydrocannabinol) शब्दको संक्षिप्त रूप टीएचसी (THC) हो । गाँजामा पाइने सक्रिय रासायनिक तत्व टीएचसीको कारण मन प्रभावी हुने वा आनन्द पैदा हुने गर्छ । टीएचसी विभिन्न तरिकाले उपभोग हुने गर्छ– जस्तै धुवा तानेर, खाएर, झोल पिएर वा यसको तेलले मालिस गरेर । यो दुवै क्यानाबिस सेटिभा र क्यानाबिस इन्डिका प्रजातिमा पाइन्छ ।
तर विशेष गरी पोथी प्रजातिको क्यानाबिस इन्डिका कोपिलामा टीएचसीको मात्रा धेरै हुन्छ । टीएचसीको प्रयोग मनोरञ्जनका लागि हुने गरेको सर्वविदितै छ । यसको प्रयोग औषधीको रूपमा पनि हुने गरेको पाइएको छ ।
सीबीडीे के हो र कहाँ पाइन्छ भन्ने कौतुहलताको कारण यसमा चाख बढ्दै गएको छ । हुन त सीबीडीः दुवै क्यानाबिस सेटिभा र क्यानाबिस इन्डिका प्रजातिमा पाइन्छ तर प्राकृतिक हिसाबले यसको मात्रा क्यानाबिस इन्डिकामा बढी हुन्छ । टीएचसीजस्तो सीबीडी मन प्रभावी हुँदैन । आधुनिक प्रविधिले पोथी क्यानाबिस सेटिभामा जस्तै सीबीडीको उच्च मात्रा र टीएचसीको कम मात्रा भएको क्यानाबिस प्रजाति विकास गर्न सम्भव भएको छ । पोथी क्यानाबिस इन्डिका वनस्पतिमा धेरै कोपिलाहरू लाग्छन् । त्यसैले विभिन्न किसिमका तेल र टीएचसी तथा सीबीडीको उत्पादन गर्न यो प्रजाति बढी उपयुक्त मानिन्छ ।
सीबीडी तेल अबको बजार
भाङबाट प्राप्त गर्न सकिने तेलमध्ये सीबीडी तेल सबैभन्दा लोकप्रिय र बहुमूल्य हो भन्नेमा कुनै शंका छैन । सीबीडी, टीएचसी जस्तो मन प्रभावी हुँदैन वा नसायुक्त हुँदैन । पश्चिमा देशहरू लगायत अन्य धेरै देशहरूमा उत्पादन गरिने सीबीडी तेल प्रचुर मात्रामा सीबीडीयुक्त भाङ (प्रचुर मात्रामा फाइटो क्यानाबाइनोइड भएको) भनिने क्यानाबिस प्रजातिबाट तयार गरिन्छ, जसमा ०.३५ भन्दा कम टिएचसी रहेको हुन्छ । सीबीडी को मात्रा ज्यादा ।
तेलका लागि उत्पादन गरिने बिरुवा नै फरक छन् । हामीले देखिने गाँजा र भाङका बिरुवाभन्दा फरक (कोपिला र फूल नभएका), ती गाँजाजस्तै वास्ना आउने हुन्छन् र गाँजालाई हुर्काए जसरी नै हुर्काइन्छन् । यस प्रकारको भाङ टीएचसी उत्पादन गर्न विगत ४० वर्षभित्र विकसित गरिएको हो ।
अहिले दुई थरीका भाङ उत्पादन हुन्छन्
पुराना प्रजातिः औद्योगिक भाङ, जुन बिउ, खान र कपडा तथा घरहरू बनाउन प्रयोगमा छन् । जसमा टीएचसी र सीबीडीको मात्र कम हुन्छ । गाँजाको जस्तो बासना आउँदैन । बिरुवा अग्ला हुन्छन्, धेरै हेरचाह गर्न पर्दैन ।
सीबीडी प्रचुर मात्रामा भएको भाङः यो नयाँ आनुवंशिक प्रजाति हो । गाँजाको जस्तो होचो बिरुवा हुन्छ । गाँजाकै जस्तो बासना हुने । सीबीडीको मात्रा उच्च र टीएचसीको मात्रा कम हुने ।
अमेरिकाको कोलोराडोमा रहेको सीबीडी उत्पादन गर्ने कम्पनी भेन्टेज हेम्पले यस्तै बिरुवाहरूबाट सीबीडी उत्पादन गरिरहेको छ । हामीले गत महिना तिनले सीबीडी उत्पादन गरिसकेपछि बाँकी बसेका पदार्थबाट के गर्न सकिन्छ भन्ने एक छलफलमा भाग लिन पाएका थियौँ ।
सन् २०२५ सम्ममा भाङ र गाँजाको बजार लगभग २० अर्ब अमेरिकी डलर र औषधीय मेरिवानाको (जसलाई (सीबीडी भनेर बुझन सकिलो हुन्छ) बजार लगभग २६ अर्ब डलर पुग्ने अनुमान गरिएको छ र धेरै देशहरूले क्यानाबिसमाथिको प्रतिबन्ध हटाएपछि बजार अझ बढ्ने छ ।
अझै पनि दक्षिण पूर्व तथा दक्षिण एसियाली राष्ट्रहरू भाङ र गाँजा दुवैका सन्दर्भमा सुस्तता छ । चीन र पश्चिमी राष्ट्रहरू यस व्यवसायबाट फाइदा उठाउन लागि सकेका छन् । अबको बजार भनेको औषधीय सीबीडी उत्पादन हो । जुन हाम्रो परम्परागत गाँजा/भाङबाट सम्भव छैन वा बिश्व बजारसँग प्रतिष्पर्धा गर्नै सकिँदैन । प्रविधिमा पनि ठुलो लगानी गर्न पर्ने हुन्छ । तर सानो तहमा परम्परागत प्रयोग र आनन्दका लागि गाँजा/भाङ उत्पादन गर्न सकिए पनि त्यसको बजार हिस्सा ठुलो रहन्न । जब कि अहिले नै थाइल्यान्डले यो बजार लिन थाली सकेको छ ।
चीनले बिना चिकित्सा प्रेस्क्रिप्सन मेरिवानाको व्यक्तिगत प्रयोगमा प्रतिबन्ध लगाएको भए तापनि भाङ र औषधीय मेरिवानाको खेती र निकासीलाई प्रवद्र्धन गर्न ठुलो लगानी गरिरहेको छ । यसले भाङलाई परम्परागत चिनियाँ औषधि (टिसीएम) मा समावेश गर्न अनुमति दिएको छ । चीनमा मात्र नभएर हङकङ, ताइवान, जापान र दक्षिण कोरियामा समेत व्यापक रूपमा प्रयोग र अनुसन्धान भइरहेको छ ।
हालै मात्र सन् २०१९ मा अमेरिकामा शोधकर्ताहरूले अनुसन्धानको लागि राम्रो गुणस्तरको भाङ र मेरिवानामा पहुँच बढाइरहेका छन् । इजरायल सरकार यसमा अगाडि छ । त्यहाँको सरकारले धेरै वर्षदेखि अनुसन्धानको लागि सहयोग र अनुदान दिँदै आएको छ ।
इजरायल औषधीय क्यानाबिसको लागि सबैभन्दा प्रगतिशील छ । एसियाबाट पर्याप्त आनुवंशिक इतिहास प्राप्त गर्ने र (जुन सम्पूर्ण पश्चिमा मुलुकले सित्तैमा प्राप्त गरेका थिए र अहिले उनीहरूको नयाँ आनुवंशिक प्रजाति प्याटेन्ट गरेर हामीलाई बिक्री गर्न चाहन्छन्) जसले सीबीडीको मात्रा बढी उत्पादन गर्न सक्छ ।
संयुक्त राज्य अमेरिका र क्यानडाका अलावा धेरै पश्चिमा देशहरू, गैर–पश्चिमी देशहरू,जस्तै उरुग्वे, कोलम्बिया, युगान्डा, लेसोथो, दक्षिण अफ्रिका, श्रीलंकाले पनि औषधीय मेरिवाना र केही देशहरूमा व्यक्तिगत प्रयोगका लागि क्यानविस (गाँजा/भाङ) लाई पहिले नै वैधता प्रदान गरेका छन् ।
क्यानविस (गाँजा/भाङ)
कानुनी इतिहास
सन् १९७० मा अमेरिकाले नियन्त्रित वस्तुहरूसम्बन्धी ऐनअन्तर्गत आफ्नै देशमा चिकित्सा प्रयोगमा समेत लागु हुनेगरी क्यानाबिसमा औपचारिक रूपले नै प्रतिबन्ध लगायो । सन् १९७२ मा नेपालले सन् १९६१ को पुरानो लागुपदार्थसम्बन्धी महासन्धि संशोधनमा सहमति जनायो जुन १९७५ मा लागु भयो । त्यसैले नेपालले सन् १९७५ देखि गाँजा र ह्यासिसमा प्रतिबन्ध लगाउन सुरु गरेको हो ।
अमेरिकामा सन् १९७० मा प्रतिबन्धित भएपछि क्यानाबिसबारे कुप्रचार हुन थाल्यो । हामीले सीएनएनका चिकित्सासम्बन्धी संवाददाता डा. सञ्जय गुप्ताको रिपोर्टहरू फलो गरिरहेका छौँ । डा. गुप्ता भन्छन् “मैलै जे थाहा पाएँ, त्यो हतोत्साहित गर्ने खालको थियो । अमेरिकाको स्वस्थ्य विभागले शब्दको एकदमै ध्यानपूर्वक चयन गरी क्यानाबिसलाई हेरोइन र कोकिन जस्तै लागु औषधको सूचिमा राख्न सुझाव दिएको रहेछ ।”
“मेरिवाना औषधीको रूपमा प्रयोग गर्ने चलन कुनै नौलो कुरा हुँदै होइन, चिकित्सक समुदायहरूले यस विषयमा धेरै वर्षदेखि लेख्न थालेका हुन् । यसका फाइदाहरूबारे सयौँ लेखहरू विभिन्न पत्रपत्रिकाहरूमा छापिएका छन् तर धेरैजसो यस्ता लेखहरू सन् १८४० देखि १९३० को बिचमा लेखिएका देखिन्छन्,” डा. गुप्ताले भनेका छन् ।
सन् १९७० र ८० को दशकमा क्यानविस (गाँजा/भाङ) ले औषधिको रूपमा नयाँ चासो आकर्षित गर्न थाल्यो । विशेष गरी क्यान्सर र एड्स रोगीहरूले यसको प्रयोगको कारणले राहत महसुस गरेको रिपोर्टहरू प्रकाशित भए । सन् १९९६ मा, क्यालिफोर्निया मेडिकल भाङलाई कानुनी मान्यता दिने पहिलो अमेरिकी राज्य बन्यो । सन् २००१ मा, क्यानाडा चिकित्सा प्रयोगको नियमन गर्ने प्रणाली अपनाउने पहिलो देश बन्यो । पछि, धेरै युरोपेली र ल्याटिन अमेरिकी देशहरू बेल्जियम (सन् २००३), चिली (सन् २००५), ब्राजिल (सन् २००६), र चेक गणतन्त्रले क्यानविस (गाँजा/भाङ)लाई गैरअपराधिक सूचीकरण (डिक्रिमिनाइज्ड) गरे ।
सन २०१० मा उरुग्वेमा, राष्ट्रपति जोसे मुजिकाले मनोरञ्जनात्मक क्यानबिस (गाँजा/भाङ) वैधानिक बनाउन कानुनमा हस्ताक्षर गरे । डिसेम्बर २०१३, उरुग्वेलाई आधुनिक युगमा क्यानबिस वैधानिकता दिने पहिलो देश भएको घोषणा गरे ।
क्यानडामा सन् २०१७ मा हाउस अफ कमन्सले क्यानबिस (गाँजा/भाङ) वैधानिक बनाउने बिल पारित ग¥यो ।
संयुक्त राज्य अमेरिकामा, डिसेम्बर २०१८ मा, एक कृषि कानुन( फार्म बिल) पारित गरियो, जसमा भाङको खेती र व्यापारलाई अनुमति दिँदै हाल लगभग ३० राज्यहरूमा वैध औषधीको रूपमा क्यानबिस (गाँजा/भाङ) र १० राज्यहरूले मनोरञ्जन क्यानबिसलाई अनुमति छ । यद्यपि, संघीय स्तरमा, गाँजा अझै पनि प्रतिबन्धित अनुसूचीमा छ । अमेरिकाले पनि भाङको बाटो हुँदै कानुनी रूपमा खुकुलो गरेको छ । नेपालमा गाँजामाथि प्रतिबन्ध लगाउन दबाब दिने अमेरिका, क्यानडा लगायतका पश्चिमा मुलुकहरूले नै प्रतिबन्ध हटाएपछि नेपालले पनि गाँजा खुला गर्नुपर्ने आवाज उठ्न थालेको छ ।
सन २०२० को अन्त्यतिर संयुक्त राष्ट्रसंघले गाँजालाई औषधीय गुण भएको वनस्पति मान्दै ‘हानिकारक समूह’बाट हटाएपछि नेपालमा पनि यसमाथिको प्रतिबन्ध फुकुवा गर्ने विषयमा बहस सुरु भयो । कानुनी प्रतिबन्ध हटाउन संसद्मा प्रस्ताव समेत दर्ता भयो । गाँजा खेती (व्यवस्थापन) ऐनलाई संसदबाट अनुमोदन गरियो भने, नेपाली किसानहरू फाइदा हुन्छ–हुँदैन प्रष्ट छैन । विधेयकले साना किसानहरूलाई आफ्नो जमिनमा गाँजा खेती गर्न नदिने र ठूला फार्महरूलाई मात्र दिने प्रस्ताव गरेको छ ।
खेती गर्दा पहिले नै गाँजा बोर्डद्वारा अनुमोदित औषधि कम्पनीहरूलाई र निर्यातका लागि अधिकृत एजेन्टहरूलाई बेच्ने पक्का भएपछि मात्र अनुमति दिनेछ । यसले ठूला उत्पादनकर्ताहरूलाई मात्र फाइदा हुने छ । अहिले पनि अवैध गाँजा खेतीमा भारतीयहरूको लगानी छ । लगानी, प्राविधिक, बिउ भारतबाट आउँछ । गाँजाको खेती बढाउन प्राविधिक ज्ञान चाहिन्छ, त्यो समेत भारतबाटै आउँछ ।
हामीले पारम्परिक औषधिमा स्वदेशी प्रयोगको खोजी नगरी कच्चा उत्पादन निर्यात गर्ने क्यानबिस (गाँजा/भाङ) कुरा सजिलो छैन । हामीले नेपालमा पाइने विभिन्न क्यानबिस (गाँजा/भाङ) प्रजातिहरूको अध्ययन गर्नुपर्छ र मूल्य अभिवृद्धि उत्पादनहरूको लागि हाम्रो क्षमता निर्माण गर्नुपर्छ किनभने कच्चा गाँजाले हामीलाई कुनै प्रतिस्पर्धात्मक बनाउन सक्दैन । यति हुँदाहुँदै राम्रो कुरा हामीसँग संसदमा विधेयक छ, मानिसहरूले अन्ततः क्यानविस (गाँजा/भाङ) कुरा सुनिरहेका छन् र गाँजालाई लागुपदार्थको सट्टा लाभदायक बालीका रूपमा छलफल गरिरहेका छन्, कहीँ त अवश्य पुगिन्छ ।
(टक्सार म्यगजिन २०८० साउन अंकबाट)
प्रतिक्रिया दिनुहोस्