चार दशकदेखि प्रकाशन उद्यममा निरन्तर तिमोथी


नीतिगत निर्णयहरू गर्दा हातहातमा पुस्तक, घरघरमा पुस्तकालय भन्ने नाराले सार्थकता पाउनुपर्छ । यसो हुँदा पठन संस्कृति फस्टाउँछ, जो समाजका लागि पनि उत्तिकै आवश्यक छ । नयाँ पिँढीमा ज्ञान लिने जिज्ञासा र अभ्यास कम छ, यस सम्बन्धमा पनि समयमै सोच्नु आवश्यक छ ।”

नेपालमा वि.सं. १९०३ मा जङ्गबहादुरले गिद्धे प्रेस भित्र्याएपछि छापायुगको सुरुवात भएको मानिन्छ । भारतबाट गोरखाभारत जीवन (वि.सं.१९४३) हुँदै नेपालबाट सुधासागर (वि.सं.१९५५) र गोरखापत्र (वि.सं.१९५८) ले नेपालमा छापामाध्यमको औपचारिक सुरुवात मात्र गरेनन्, गोरखापत्र आज पनि जीवित इतिहासको रूपमा सक्रिय छ ।

राणाकालमा करिब एक दर्जन मात्र पत्रिका छापिए पनि प्रजातन्त्रको उदयपछि नेपालमा पठन संस्कृति बढ्दै गयो । अहिले पनि ज्ञानको भण्डारका रूपमा पत्रपत्रिका र पुस्तकहरूले भूमिका खेलिरहेका छन् । औपचारिक शिक्षादेखि साहित्यिक प्रकाशनसमेतले नेपालमा हालसम्म निरन्तर महत्व पाउँदै आएका छन् । 

नेपालमा छापामाध्यमको निरन्तरतालाई टिकाइराख्न सरकारीदेखि गैरसरकारी क्षेत्रका सयौ“ व्यक्तिको भूमिका रहेको पाइन्छ । प्रकाशन गृहका रूपमा चार दशकभन्दा बढी समयदेखि निरन्तर आफ्नो भूमिका खेल्दै आइरहेको एकता बुक्सका संस्थापक तथा अध्यक्ष रामचन्द्र तिमोथी (आरसी) छापामाध्यमको निरन्तरतामा भूमिका खेल्ने एक हस्ती हुन् । 

पञ्चायत, प्रजातन्त्र पुनःस्थापना, लोकतान्त्रिक आन्दोलन हुँदै गणतान्त्रिक व्यवस्थाको समेत साक्षी बनिरहेका तिमोथी अनेक उतारचढाबका बिच पनि प्रकाशन उद्यमलाई निरन्तर अगाडि बढाइरहने पुराना प्रकाशकहरूमा पर्छन् । विदेशका पुस्तकको ज्ञानसमेत नेपालमा फैलाउने मात्र नभई सहरदेखि गाउँसम्म प्रकाशन विस्तार गर्न अझै पनि सक्रिय रहेका तिमोथीको जीवनको पर्याय नै पुस्तक बनेको छ । 

एकताः लाखौं पुस्तकसँगको प्रवद्र्धक 

पछिल्लो चार दशकमा एकताको उचाइ एकनासले उठेको पाइन्छ । तिमोथीले एकताको बिँडो एकनासले थामिरहेका छन् । एकता प्रकाशनले लाखौँ पुस्तक आपूर्ति गरेको छ । सबैखाले विषयका पुस्तक एकतासँग छन् । काठमाडौँ थापाथलीस्थित सोरुम करिब ३० हजार वर्गफिटमा फैलिएको छ । एकताको ठुलो प्रकाशन भनेको– ‘डिक्स्नरी‘ हो । एकतासँग डिक्स्नरीका सबै सिरिज छन् । 

अंग्रेजी–नेपाली र नेपाली–अंग्रेजी, अंग्रेजी–अंग्रेजी नेपाली र नेपाली–नेपाली डिक्स्नरी उत्पादन गरिएका छन् । शैक्षिक क्षेत्रमा पनि एकताले विभिन्न किताबहरू छापेको छ । बालसाहित्यका पुस्तकहरू पनि एकताका फरक र अब्बल वर्गका प्रकाशन मानिन्छ । सबै क्षेत्रहरूलाई समेटेर करिव ३ हजार शीर्षकका प्रकाशनहरू एकताले छापिसकेको छ । 

थापाथलीस्थित सोरुम र कार्यालयमा मात्र ५२ जना कर्मचारीहरू छन् । लेखकको समूह करिब ४ सय छ । सम्पादक टिममा एक दर्जन जति जनशक्ति छन् । एकता बुक्सले इटहरी, ललितपुर, पोखरा र नेपालगञ्ज शाखाबाट पनि सेवाग्राहीलाई सेवा पुर्‍याउँदै आएको छ ।

स्कुलदेखि पुस्तकसँगको मित्रता

तिमोथीले पाँच कक्षासम्म शिक्षा घरमा नै लिए । भक्तपुरको कटुन्जेस्थित घरमै आएर शिक्षकहरूले पाँच कक्षासम्म पढाए । भक्तपुर सुकुलढोकाको भीम आदर्श स्कुलमा ६ र ७ कक्षा पढेका तिमोथी ८ कक्षाबाट भने पाटन हाइ स्कुलमा रात्रिकक्षामा भर्ना भई त्यहाँबाट एसएलसीसम्म पढे । “नेपाल कमर्स क्याम्पसबाट मेरो आईकम पढाइ सकिएको थियो भने बी.कमको शिक्षा भने मैले सरस्वतीबाट लिएको थिएँ, बी.एड गर्ने मौका मैले ताहाचलबाट पाएँ,” उनले भने । 

उनी एमबीए गर्न भनी जमसेदपुर टाटा इन्स्टिच्युट मा पुगे । त्यसपछि उनी पूर्ण रूपमा व्यवसायमा होमिए । उनी सानो छँदा नै मामा र ‘अंकल’हरूले हिमाली प्रकाशन र पाटन बुक हाउस चलाउँथे । सुरुका दिनमा एसोसिएट भएर मामाहरूसँग काम गरेका थिए तिमोथीले । २०२८ सालमा नयाँ शिक्षा लागु भएको थियो । त्यसपछि हिमाली प्रकाशन बन्द भयो ।

साझा प्रकाशन बाट बालसाहित्य र अन्य पुस्तकहरू प्रकाशन हुन्थ्यो । “एसएलसी सकेपछि जापान जाने मौका पाएको थिएँ, मेकानिकल इन्जिनिएर पढ्नका लागि तर मामाले मलाई विदेश जानबाट रोक्नुभएको थियो,” पुस्तक प्रकाशनमा होमिने कारणहरू स्मरण गर्दै भने, “म १२ वर्षको हुँदा बाबा बित्नुभएको थियो । बाबाको मृत्युपछि आमाले पनि हामीलाई छाडेर जानुभएको थियो । मेरा अभिभावक भनेका मामा नै हुनुहुन्थ्यो । उहाँको सोच मलाई ठुलो व्यवसायी बनाउनु रहेछ ।” 

सेवामूलक उद्यममा जीवन समर्पित

सरकारी प्रकाशन गृहलाईसमेत सहज नहुने प्रकाशन उद्योगमा समय, परिस्थिति र तिमोथीका आफ्नै रुचिले होमिएका थिए । पढाइलाई अघि बढाउन जापान जाने अवसर भने उनले गुमाएका थिए । जापान जानुको साटो उनले नेपालमै व्यवस्थापन अध्ययन गरेका थिए । 

“मैले सरसँग किताब मागी घर लगेर रातभरि नै त्यो पुस्तक सार्ने गर्थें । मेरो मनमा जिज्ञासा आउने गथ्र्यो किन पुस्तक व्यवसाय फस्टाएन भनेर,” उनले सुनाए । त्यसबेला बिक्री नहुनेदेखि खर्च धेरै हुने भएकाले प्रकाशन उद्योगमा जोकोही आउन सक्ने अवस्था थिएन । व्यवसाय सेवामूलक भएकाले तिमोथीलाई भने प्रकाशन उद्यममै लाग्न मन लाग्यो, चार दशकभन्दा अधिक समयदेखि यसमै रमाइरहेका छन् । 

हुन त सँगै पढेका साथीहरू विदेश गई पढेर फर्किएका र इन्जिनियर बनेर विभिन्न ठाउँमा काम गरिरहेको देख्दा त्यो बेला जापान गएर पढ्न नपाएकोमा केही पछुतो जस्तो भएको थियो । उनी भन्छन्, “मलाई अहिले आएर यसमा पछुतो भने छैन । 

मलाई त्यो बेला मेरा अभिभावकहरूले सही रूपमा गाइड गर्नुभएको थियो । त्यसबेला मैले जे कुरामा पाइला चाले“, निकै नै राम्रो गरेको थिएँ भन्ने भान अहिले भएको छ ।” व्यवसाय सञ्चालन गर्नभन्दा पनि जागिर खान सजिलो मानिने त्यस समयमा पुस्तक व्यवसाय सहज थिएन तर आमा र मामा लगायतको सहयोगले निरन्तर उद्यमशीलतामै जीवन विताइरहेका छन् । 

पुस्तक व्यवसायका सुरुवाती सङ्घर्ष

एकता को प्रकाशन सुरु हुने समयमा नेपालमा पुस्तक पाउन निकै नै गाह्रो समय रहेको तिमोथीको अनुभव छ । “त्यो बेलामा हाम्रो अग्रज संस्था भनेको रत्न पुस्तक भण्डार हो, त्यहाँबाट नै दुईचार थान पुस्तकहरू साइकलबाट ल्याएर बिक्री गर्ने गरेका थियौँ,” सुरुवाती समय स्मरण गर्दै भने, “विस्तारै हामी भारतमा गयौँ, त्यहाँबाट विभिन्न पब्लिसरहरूलाई लिएर आयाैँ ।” 

तिमोथीको टिम यसरी अघि बढेको कुरा अग्रजहरूले भने पचाउन सकेनन् । विभिन्न अवरोधहरू खडा गरिएको अनुभव उनीसँग छ तर पनि उनका पाइला रोकिएनन् । नेपालमा प्रिन्टर नै नभएकाले किताब छाप्नका लागि दिल्ली र बनारस नै जानुपर्ने समय थियो । अर्कोतिर नेपालमा लेखकहरू नै सहज उपलब्ध हुने अवस्था थिएन । विस्तारै नेपालमा प्रिटिङ्ग आउन सुरु भयो, पब्लिकेसनहरू र लेखकहरूको पनि अभाव हट्दै गयो । 

प्रकाशन उद्यम पहिलेभन्दा भद्रगोल 

पछिल्ला वर्षहरूमा प्रकाशन उद्यममा चुनौती थपिएको उनको अनुभव छ । उनी भन्छन्, “दुखद कुरा के छ भने सरकारले सही नीति नियम नबनाएकाले पब्लिकेसनहरू, प्रिन्टर र लेखकहरू पनि यस क्षेत्रबाट पलायन हुँदै गएको देख्न सकिन्छ । अहिले पुस्तक उत्पादन र बिक्रीवितरणमा धेरै झन्झट पनि हुन थालेको छ ।” 

पहिले प्रकाशकले पाठ्यक्रमअनुसारको पाठ्यविवरण (सिलेबस) बनाउने गर्थे । अहिले सरकारी पुस्तकको विवरणअनुसार नै पुस्तक तयार पार्न भनिएको छ । यसले पुस्तकको स्तर खस्केको उनको अनुभव छ । 

यस्तै, पाठ्यक्रम विकास केन्द्रको स्वीकृतिको आधारमा मात्र पाठ्यपुस्तक तयार गर्नुपर्ने बाध्यता पनि रहेको उनको भनाइ छ । “अहिले सरकारद्वारा मूल्य निर्धारण गर्ने प्रयासले गर्दा अप्ठ्यारो अवस्थाको सिर्जना भएको छ,” तिमोथी भन्छन्, “त्यसमा सबैभन्दा डरलाग्दो विषय त पाठ्यक्रम विकास केन्द्रले पुस्तकको मूल्य निर्धारण गरिदियो र आठ वर्षअघिदेखिको त्यही मूल्य कायम छ, जबकि त्यसबेला ९५ रुपैयाँ प्रतिकिलो कागज उपलब्ध हुन्थ्यो भने अहिले कागजको मूल्य प्रतिकिलो २३५ रुपैयाँ पुगेको अवस्था छ ।” कागजदेखि अन्य रङ, मजदुरको ज्याला सबै कुराको मूल्य बढ्यो तर किताबको भने मूल्य बढ्न नसक्दा प्रकाशन उद्यम संकटमा परेको उनको भनाइ छ । 

भारतका पब्लिकेसनहरू नेपाली बजार पूर्ण रूपमा छाएको बेला पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म यात्रा गर्दै नेपाली प्रकाशकका किताब प्रचार गरेर पुस्तक बजारलाई नेपालीकरण गर्नमा तिमोथीले नेतृत्वदायी भूमिका खेलेका थिए । 

“अहिले पुस्तक उत्पादन वा प्रिटिङमा भन्सार लगाइएको छ, कागजमा १५ प्रतिशत भन्सार र १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लाग्दा पुस्तकको मूल्य एकदमै उच्च रूपमा बढेको छ,” सरकारले पुस्तकमा कर लगाउने भन्ने सरकारको नीतिका कारण भोगेको समस्या इंगित गर्दै उनले भने । 

युनेस्कोको बडापत्रमा ‘किताब भनेको ज्ञानको माध्यम हो, त्यसको कुनै सीमाङ्कन हुनुहुँदैन, विना रोकतोक आवतजावत हुनुपर्छ । यसमा कुनै पनि कर लगाइनु हुँदैन । यसको उत्पादन पनि सही रूपमा हुनुपर्छ र यसको वितरण पनि सहज र सरल हुनुपर्छ’ उल्लेख भएको उनी बताउँछन् ।

“नेपालमा जुन राजनीतिक दलहरू सत्तामा आए पनि यसका बारेमा नबु󠄁झ्ने रहेछन्, यसो हुनाको कारण किताबको महत्व नबुझेर हो जस्तो लाग्छ,” उनी भन्छन्, “आखिर किताब बिना कुनै पनि व्यक्ति पूर्ण रूपमा शिक्षित हुन सक्दैनन् । मैले त दुईवटा कुरा जहिले पनि भन्ने गरेको छु, ज्ञानको मुख्य माध्यम वा स्रोत किताब नै हो । मानिसले तिम्रो मिल्ने साथी को हो भनेर सोध्दा मैले पृुस्तक नै हो भन्ने गर्छु ।”

पुस्तक व्यवसायी र सरकारको समस्या 

पुस्तक व्यवसायीले यो व्यवसायको मर्मलाई बुझ्न नसकेको उनको अनुभव छ । सफल पुस्तक प्रकाशन व्यवसायी बन्नका लागि धेरै कुराको ज्ञान हुनुपर्ने तिमोथीको धारणा छ । उनी आफै पनि प्रकाशन उद्योग प्रवेश गर्दा सुरुका दिनहरूमा प्रकाशनबारे विभिन्न तालिम लिएका छन् । 

“अहिले यस क्षेत्रमा सक्रिय थोरैलाई मात्र किताब बनाउनका लागि चाहिने मापदण्डदेखि विभिन्न विषयका बारेमा ज्ञान भएको पाइन्छ,” तिमोथी भन्छन्, “पेपरको मूल्यदेखि विभिन्न कुरामा ध्यान दिएपछि नै त्यसको मूल्य निर्धाण गर्ने गरिन्छ, तर यहाँ त अन्दाजमा नै पुस्तकको मूल्य राख्ने रहेको छ । त्यस कारणले गर्दा अहिले बजारमा विकृति आएको छ ।” 

पुस्तक व्यवसायीलाई नैतिकवान बनाई सम्हाल्न सकिएन भने एकता बजारमा आउनुभन्दा पहिलेको अवस्था पुग्न सक्ने जोखिम उनी देख्छन् । स्कुलहरू खोलिने क्रमम बढ्दो छ । किताबको माग पनि बढिरहेको समयमा स्कुल सञ्चालनका लागि पुस्तक अपरिहार्य वस्तु भएको तर नेपाल सरकारले यो व्यवसायलाई बचाउन कुनै ध्यान नदिएको गुनासो उनको छ । 

भारतका पुस्तकहरू मात्र पढ्नु पर्ने बाध्यताको अन्त्य एकता पब्लिकेसन ले गरेको भए पनि विदेशका स्तरीय किताबहरू पढ्न चाहनेको मागलाई पनि सम्बोधन गर्नुपर्ने तिमोथीको तर्क छ । “संसारभरि स्वीकृति लिने र मूल्य तोक्ने प्रणाली छैन तर नेपाली पुस्तकको मूल्य सरकारले तोक्ने कार्यले पनि समस्या थपिएको छ,” उनी थप्छन्, “सरकारले भने तोकेको मूल्यअनुसार काम गर्दा पेपरको पैसा र अन्य उत्पादन लागत पनि आउने अवस्था छैन । उद्योगहरू धराशायी हुँदै जाने अवस्था सृजना भएको छ । यसबारे विशेष अध्ययन गरेर यसलाई सही मार्गमा लैजानु आवश्यक छ ।” 

पाँच वर्षअघि सरकारले किताबमा १० प्रतिशत भन्सार लगाएपछि पुस्तक व्यवसायमा संकट उत्पन्न भएको उनको अनुभव छ । विष्णु पौडेल अर्थमन्त्री हुँदा कर नहटाएको भए पुस्तक व्यवसाय बन्द गर्ने अवस्था पुगेको स्मरण गर्ने तिमोथीले सरकारको सो नीतिले करिव २ वर्षसम्म किताब मगाउन नसकेको अनुभव सुनाए । 

पुस्तकलाई अरू वस्तु वा कमोडिटीको रूपमा लिनु वा व्यवहार गर्नु गलत रहेको र यसले भविष्यमा मानव विकासमा ठुलो हानि पुर्‍याउन सक्ने उनको विश्लेषण छ । 

‘डिजिटलले छापालाई रोक्दैन’ 

विश्व डिजिटल युगमा छ तर डिजिटलका कारण हार्डकपीको बजार नघटेको तिमोथीको भनाइ छ । “किताब पढ्नु र डिजिटलमा पढ्नु धेरै नै फरक हुन्छ, बाहिरी देशमा पनि किताबको माग बढ्दो नै छ,” उनी भन्छन्, “बालबालिकाहरू ग्याजेटको कुुलतमा लाग्ने सम्भावना भएकाले हार्डकपीको प्रयोगमा जोड दिन थालिएको छ ।” 

प्रविधिको विकासले प्रकाशन उद्योगलाई सहयोग पुगेको अनुभव छ । पहिले लेटर प्रेसमा एक एक अक्षर जोडेर काम गरेका उनी झन्झटिलो प्रक्रियाको लेटर प्रेसलाई प्रतिस्थापन गर्दै अपसेट प्रेस आएपछि निकै सहजता थपिएको बताउँछन् । 

कम्प्युटरले छापामाध्यमलाई सहयोग गरेको, छपाइको लागि प्लेट पनि नबनाई सिधै छाप्ने प्रविधि आइरहेकाले प्रविधि सहयोगी बनेको उनको अनुभव छ । “नयाँ प्रविधिले पुरानो प्रविधिलाई पछि पार्ने काम त भविष्यमा पनि हुन्छ नै तर डिजिटलमा गएर पुस्तक पढिँदैन र यसको बिक्री नै हुँदैन भन्ने भने मलाई उचित लाग्दैन,” उनले भने । 

प्रकाशन उद्योग सपार्ने उपाय

स्थिर सरकारी नीति हुँदा प्रकाशन उद्योगलाई सहयोग पुग्ने उनको भनाइ छ । हालसम्म पुस्तक नीति (बुक पोलिसी) नै नभएकाले किताबको महत्व बुझाउन पुस्तक नीति ल्याउनु पर्ने उनको धारणा छ । पाठ्यक्रम विकास केन्द्र जस्ता निकाय र सरकारले कुनै पनि नीति नियम बनाउँदा सरोकारवालाहरूलाई पनि साथमा लिएर बनाउनुपर्ने उनकोे सुझाव छ । 

सरकार र निजी क्षेत्र मिलेर नै अर्थतन्त्रका लागि योगदान गर्न सकिने भएकाले सरकारले निजी क्षेत्रलाई साथमा लाने नीति लिएमा प्रकाशन क्षेत्र पनि सहज रूपमा अगाडि बढ्ने तिमोथीको भनाइ छ । उनी भन्छन्, “नीतिगत निर्णयहरू गर्दा हातहातमा पुस्तक, घरघरमा पुस्तकालय भन्ने नाराले सार्थकता पाउनुपर्छ । यसो हुँदा पठन संस्कृति फस्टाउँछ, जो समाजका लागि पनि उत्तिकै आवश्यक छ । नयाँ पिँढीमा ज्ञान लिने जिज्ञासा र अभ्यास कम छ, यस सम्बन्धमा पनि समयमै सोच्नु आवश्यक छ ।” 

(टक्सार म्यागजिन २०८०, साउन अंकबाट)