सरकारको नीति स्थिर नहुदाँ अटो क्षेत्र धरासायी बन्यो: अध्यक्ष थापा


काठमाडौँ । सरकारको नीति स्थिर नभएका कारण अटो क्षेत्रमा व्यवसायीले खुलेर लगानी गर्न नसकेको नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष ध्रुव थापाले बताएका छन् । जाम नेपाल र नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको सहकार्यमा अटो क्षेत्रको वर्तमान अवस्थाबारे अन्र्तक्रिया कार्यक्रममा बोल्दै थापाले सरकारमा नयाँ व्यक्ति आउँदा पूरै नीति नै परिवर्तन गर्ने परिपाटीले गर्दा अटो व्यवसायको स्थिति नाजुक र धरासायी बन्दै गएको बताएका हुन् ।

थापाले अटो व्यवसायीहरूले सरकारको बजेट र मौद्रिक नीतिलाई हेरेर मात्रा लगानी गर्न सकिने परिस्थिती रहेको बताए । “पहिला मौद्रिक नीतिको कस्तो आउँछ होला भनेर हामीलाई केही पनि वास्त हुने थिएन् तर आजको दिनमा कस्तो मौद्रिक आउँछ र लगानी गर्ने भनेर प्रतिक्षामा बस्नु पर्ने हुन्छ । त्यसकारण सरकारले अटो क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्न आवश्यक छ,’’उनले भने ।

थापाले सवारी साधनलाई अनउत्पादक र विलासिता वस्तुको सूचिबाट हटाउनको लागि सरकारसँग अग्रह गरेका छन् । उनले सबै सवारी साधनलाई एउटै सूचिमा राख्न नहुने र त्यसलाई वर्गाीकरण गरेर व्यवसायीलाई सहज बनाउनु पर्ने माग राखेका छन् । उनले भने, “जबसम्म सरकारले सवारी साधनलाई विलासिता र अनउत्पादक क्षेत्रमा राख्छ तबजम्म यो देशको अर्थतन्त्र पनि मजबुत हुदैँन । त्यसकारण सरकारले यसको वर्गाीकरण गरेर व्यवसायीलाई सहज तरिकाले काम गर्ने वातावरणकाे सिर्जना गर्नुपर्छ ।’’

नाडा अटो शो २०२३ का मेला संयोजक अनुप बरालले सरकारले अटोमोबाइल्स क्षेत्रलाई हेर्ने दृषिकोण परिवर्तन गर्नुपर्ने बताएका छन् ।जब सरकारले करिब ८ महिना सवारी आयातमा परिवर्तन लगायो त्यो बेला सवारी साधनलाई मात्रा नोक्सान नभई टायर, ग्यारेस, इन्सोरेयन्स कम्पनीदेखि बैंकहरूलाई समेत घाटा भएको बरालले दाबी गरे । उनले भने, “सकारले सवारी साधनको आयातमा प्रतिबन्ध लगाउँदा सयभन्दा बढी शोरुमहरू बन्द भए भने हजारौँ मान्छेको रोजगारी गएको छ ।’’

त्यस्तै अर्थ मन्त्रालयका सहसचिव धनीराम शर्माले सरकारले अटो क्षेत्रलाई प्रथामिकतामा राखेको बताएका छन् । उनले नेपालमा एसेम्बल उद्योगबाट उत्पादित हुने वस्तुहरू उपभोक्ताले आयतित बस्तुभन्दा सस्तो हुनुपर्ने बताए । त्यस्तै उनले सरकारको नीतिमा अस्थिर रहेका स्विार्कार गर्दै अब आउँदा दिनमा स्थिर नीति ल्याएर व्यवसायीलाई लगानी गर्ने सहज वातावरणको सिर्जना गर्ने बताएका छन् ।