काठमाडौँ । आर्थिक वर्ष २०७९/८० मा ५८ लाख २१ हजार जनाको डिम्याट खाता रहेको छ । आर्थिक वर्ष २०७६/७७ मा १७ लाख ५३ हजार रहेको डिम्याट खाता पछिल्लो तीन वर्षमा बढेर ५८ लाख २१ हजार पुगेको हो ।
अनलाइन लगइन गर्ने लगानीकर्ताको संख्या पनि आर्थिक वर्ष २०७६/७७ पछि बढेको छ । आर्थिक वर्ष २०७६/७७ मा ३५ हजार ११९ रहेको अनलाइन लगइन लिने लगानीकर्ताको संख्या आर्थिक वर्ष २०७९ ८० मा १७ लाख ६३ हजार ३०१ पुगेको धितोपत्र बोर्डले जनाएको छ ।
सबैभन्दा बढी १८ देखि ३० उमेर समुहका लगानीकर्ताको डिम्याट रहेको छ । नेपाल धितोपत्र बोर्डका अनुसार आर्थिक वर्ष २०७९/८० मा डिम्याट खाता भएका १८ देखि ३० उमेर भएका लगानीकर्ता ३५.७ प्रतिशत रहेका छन् ।
यस्तै १८ वर्षसम्मका १४.५ प्रतिशत, ३१ देखि ४० सम्मका २४.२ प्रतिशत, ४१ देखि ६० उमेरका २६.६ प्रतिशत, ६१ देखि ७० सम्म ५.३ प्रतिशत र ७० वर्षभन्दा माथि डिम्याट भएको लगानीकर्ता २.६ प्रतिशत रहेको जनाइएको छ ।
यस्तै, लिंगगत आधारमा सबैभन्दा बढी पुरुषहरुको रहेको छ । धितोपत्र बोर्डका अनुसार आर्थिक वर्ष २०७९/८० मा ५७.४ प्रतिशत पुरुषहरुको डिम्याट खाता रहेको छ भने महिलाहरुको ४२.५ प्रतिशत रहेको छ । संस्थागत ०.१ प्रतिशत र अन्य ०.००१ प्रतिशत रहेको जनाएको छ ।
प्रदेशगतरुपमा सबैभन्दा बढी डिम्याट खाता बागमती प्रदेशमा रहेको छ भने सबैभन्दा कम कर्णाली प्रदेशमा रहेको छ । बागमती प्रदेशमा कुल डिम्याट खाताको ३८.१ प्रतिशत रहेको छ भने कर्णाली प्रदेशमा सबैभन्दा कम २.३ प्रतिशत रहेको छ ।
कोशी प्रदेशमा १८.९ प्रतिशत, मधेश प्रदेशमा १०.३ प्रतिशत, गण्डकी प्रदेशमा १३.३ प्रतिशत, लुम्बिनी प्रदेशमा ११.४ प्रतिशत र सुदुरपश्चिम प्रदेशमा ५.८ प्रतिशत रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्