स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी ढंगले कार्यन्वयन नभएको विज्ञहरूको भनाइ


काठमाडौँ । विज्ञहरूले स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी ढंगले कार्यन्वयन नभएको बताएका छन् । शुक्रबार काठमाडौँमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सदस्यहरसँग स्वास्थ्य बिमा कार्यक्रम सम्बन्धी अन्तक्रिया कार्यक्रममा बोल्दै विज्ञहरूले बिमा गराएपछि सहज रूपमा गुणस्तरीय औषधोपचार गर्न पाइने विश्वासका साथ शुरु गरिएको उक्त कार्यक्रम अस्पतालहरूका भौतिक संरचना तथा जनशक्ति अभावले कार्यन्वयनमा प्रभावकारी नभएको बताएका हुन् ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति भानुभक्त जोशीले विगतमा जुन अपेक्षाले स्वास्थ्य बिमा सुरु गरिएता पनि त्यै अनुरुप कामकारबाही नभएको बताए । जोशीले स्वास्थ्य बिमाको आधारमा सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्यले उक्त कार्यक्रम ल्याए पनि सेवा लिँदा प्रक्रिया झन्झटिलो हुने भएपछि नागरिकहरूको रुचि घटेको र त्यसको समाधान गर्नको लागि छलफल गरेर छिटै कार्यहरू गर्ने बताए । “विगतमा भएका निर्णयहरू कार्यन्वायन नभएपनि त्यसको अनुगमन गरेर कार्यन्वयन गर्न हामीले छलफल गरेका छौँ ।” उनले भने,”बिमा क्षेत्रमा देखिएको समस्या, सेवा सुविधा प्राप्तमा असहज भएको भन्रे गुनासोलाई पनि छिट्टै नै समाधान गर्ने छौँ ।”

सभापति जोशीले झन्झटिलो भएकै कारण जनताले बीमाको लाभ लिन नसकेको बताए। “राज्यले स्वास्थ्य बिमामा आम जनताको पहुँच पुर्याउने गरी नीति अघि सारेको छ। तर जनता बिमा ठिक भएन भनिराखेका छन्। झन्झटिलो छ भनेर गुनासो गरिरहेका छन,” उनले भने, “बिमा व्यवस्थित गर्न नसक्दा बिरामीहरू अलपत्र र पीडामा पर्ने गरेको विगतबाट सुनेका छौँ यसलाई प्रभावकारी रूपमा अघि बढाउन उपसमिति समेत गठन गरेको छौँ ।”

नेपालको संविधानले स्वास्थ्यलाई जनताको मौलिक हकको रूपमा स्वीकार गरेको र स्वास्थ्य बिमाको सुनिश्रित गर्दै स्वास्थ्य उपचारमा पहुँचको व्यवस्था मिलाउने नीति लिएको उनले बताए ।

त्यस्तै स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक डा। दामोदर बसौलाले बिमालाई अनिर्वाय गरिएको अवस्थामा स्वास्थ्य सेवाको नि :शुल्क उपचारको लागि सरकारले आफ्नो राजस्वको श्रोत खर्चिनु पर्ने नभई सबैको लागि स्वास्थ्य सेवा दिगो हुन सक्ने बताए ।

बसौलाले देशभर स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी रूपमा अघि बढ्ने प्रक्रिया रहेको बताउँदै आउँदो दिनमा बाकीँ रहेका चार वटा स्थानीय तहहरूमा समेत यसको पहुँच पुर्याउने प्रतिबद्धता व्यक्त गरे । उनले भने, “सबै नागरिकलाई गुणस्तरीय उपचारको पहुँचमा ल्याउन स्वास्थ्य बिमा बाहेक अर्को विकल्प छैन। बिमालाई बलियो बनाउने हो भने बिमासँगै एकीकृत पूर्वाधार विकासको कार्यक्रम पनि अघि लैजान जरुरी देखिन्छ। त्यसकारण सरकारले यसमा दरिलो कदम चालेर यसलाई प्रभावकारी बनाउनको लागि सहयोग गर्नुपर्छ ।”

स्वास्थ्य बिमा बोर्डका विज्ञ सदस्य सुरेश तिवारीले स्वास्थ्य सेवाको पहुँच र उपभोग बढाउनका साथै गुणस्तरीय स्वास्थ्य सेवाको सुनिश्चित गर्ने उद्धेश्यले स्वास्थ्य बिमा कार्यक्रम संचालनमा आएको बताउँदै यसको कार्यन्वयनमा सबै पक्षहरू एक भएर लाग्नको लागि अनुरोध गरेका छन् ।

तिवारीले अन्य देशमा जस्तै स्वास्थ्य बिमामा अनिवार्य सहभागिताको अवधारण ल्याएर सबै निशुल्क स्वास्थ्य सेवालाई स्वास्थ्य बिमासँग आवद्ध गर्नुपर्ने अबको आवश्यकता रहेको बताए । उनले भने, “स्वास्थ्यसेवा तर्फ राज्यले सामाजिक सुरक्षाको नाममा गरिरहेको खर्चलाई स्वास्थ्य बिमा मार्फत दिगो बनाई राज्यले स्वास्थ्य क्षेत्रमा गर्ने लगानी कम गर्न सकिन्छ ।”

जर्मनीका स्वास्थ्य बिमा क्षेत्रमा लामो सयमसम्म काम गरेका डा ऐनले जमर्नीमा स्वास्थ्य बिमा अनिर्वाय रहेको र प्रथामिकताको रूपमा लिएर कार्यन्वयन गरिएको बताए । उनले जबसम्म सरकारदेखि निजी क्षेत्रले स्वास्थ्य बिमालाई प्रभावकारी रूपमा बढाउनको लागि कार्य गर्दैन त्योबेलासम्म स्वास्थ्य बिमाको कुनै प्रभावकारिता नहुने दाबी गरे ।

उनले भने, “जर्मनीमा पनि १८८०देखि यो क्षेत्रलाई प्रभावकारी बनाउने भनेर काम गरेका थियौँ । तर यसमा लामो समयसम्म काम गर्दा आजको दिनसम्म हामीले ९० प्रतिशत नागरिकमा स्वास्थ्य बिमाकाे पहुँच पुर्याएका छाैँ । त्यसैले नेपालले राम्रो प्रगाति गरेको छ यसमा अझै मिहिनेत गर्न आवश्यक छ ।”

स्वास्थ्य बिमाको हालको अवस्था

राष्ट्रिय स्वास्थ्य नीति २०७१ र राष्ट्रिय स्वास्थ्य बीमा नीति २०७१ ले स्वास्थ्य बीमालाई कार्यान्वयमा ल्याउने नीति अंगिकार गरे बमोजिम सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति गठन आदेश २०७१ सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति गठन भई २०७२ सालमा कैलाली, बागलुङ र इलामबाट सुरु भएको यो अभियान हालसम्म ७७ जिल्लाका ७४८ स्थानीय तहमा विस्तार भैसकेको छ ।

प्राथमिक स्वास्थ्य केन्द्र, आधारभूत अस्पताल, प्रादेशिक अस्पताल, संघिय अस्पताल, स्वास्थ्य विज्ञान प्रतिष्ठान मेडिकल कलेज र नीजि अस्पतालहरू गरी जम्मा ४४० वटा सेवा प्रदायक संस्थाहरूसँग सम्झौता गरी स्वास्थ्य बीमा सेवा प्रवाह भैरहेको छ। हालसम्म जम्मा २२ लाख १६ हजार ६५९ (२४।६२ प्रतिशत) परिवारका ७१ लाख ८१ हजार ३२५ (३३।२३ प्रतिशत) जना नागरिक कार्यक्रममा आवद्ध भएका छन। कुल आवद्ध नागरिक मध्ये ५० लाख २६ हजार ९२७ जना नवीकरण (७० प्रतिशत) गरेको पाइन्छ भने कूल ३२ लाख ३१ हजार ५९६ जनाले सेवा सेवा उपभोग (४४।० प्रतिशत) गरेको विद्यमान अवस्था छ ।