२६ लाख ९९ हजार मूल्य पर्ने टाटाको एस–इभी सार्वजनिक


काठमाडौँ । नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले नयाँ विद्युतीय गाडी सार्वजनिक गरेको छ। सिप्रदीले बिहीबार एक समारोहकाबिच टाटा एस–इभी पिकअप भ्यान सार्वजनिक गरेको हो।

टाटा मोटर्सको कमर्सियल भेहिकल इन्टरनेशनल बिजनेस एन्ड स्ट्राटेजी प्रमुख अनुराग मेहरोत्रा र सिप्रदीका एक्जुकेटिभ चेयरम्यान सिद्धार्थ राणाले नयाँ इभी सार्वजनिक गरेका हुन् । यो गाडीको मूल्य फेस्टिभ अफरका रुपमा २६ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

यद्यपि वास्तविक मूल्य भने २९ लाख ५० हजार रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ । कार्यक्रममा राणाले टाटा मोटर्सको कमर्सियल इभी अन्तर्राष्ट्रिय बजारमा सार्वजनिक हुनेमा नेपाल पहिलो रहेको बताउँदै अहिले आर्थिक अवस्था कमजोर भए पनि विस्तारै बजार सुधार हुने अपेक्षा पनि व्यक्त गरे।

सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले नेपालमा इभीको बजार बढ्दै गएको र नाडा अटो शोले त्यसलाई पुष्टि गरेको श्रेष्ठले बताए।

गाडीमा टायर प्रेसर मोनिटरिङ सिस्टम र रियर भ्यु क्यामरा छ। यस्तै ब्याट्रीको लागि वाटरप्रुफ आइपी ७६ प्रमाणित स्ट्यान्डर्ड छ। यस्तै एस–इभीमा ७ इन्चको इन्फोटेनमेन्ट सिस्टम र नयाँ इन्स्ट्रुमेन्ट क्लस्टर पनि उपलब्ध छ।

ब्याट्री फास्ट चार्जिङले फुल चार्ज गर्दा १०५ मिनेट लाग्छ। एक पटकको फुल चार्जमा १५४ किलोमिटर रेन्ज प्रदान गर्छ। यसमा २१।३ किलोवाट आवर क्षमताको लिथियम आयोन आरन फोस्फेट ब्याट्री छ। ब्रेकको समयमा पनि ब्याट्री रिचार्ज हुने कम्पनीले जनाएकाे छ।

कम्पनीका अनुसार यसमा २७ किलोवाटको मोटर छ। जसले १३० न्युटन मिटर पावर उत्पादन गर्छ। एस इभीको अधिकतम गति ६० किलोमिटर प्रतिघण्टा छ।

यसको ह्वील १७ इन्च र ग्राउन्ड क्लियरेन्स १६० एमएमको छ। कम्पनीले ब्याट्रीमा ६ वर्ष वा १ लाख ६० हजार किलोमिटरसम्मको वारेन्टी दिएको छ।