सिटिजन्स बैंकले ३ अर्बको ऋणपत्र निष्कासन गर्दै


काठमाडौँ। सिटिजन्स बैंकले असोज १७ गतेदेखि ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले १० वर्ष अवधिको वार्षिक १० प्रतिशत ब्याजदरमा ‘१० प्रतिशत सिटिजन्स बैंक डिबेन्चर २०९०’ निष्काशन गर्न लागेको हो ।

बैंकले एक हजार रुपैयाँ अंकित दरका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो । जसमध्ये ६० प्रतिशत अर्थात १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत र बाँकी ४० प्रतिशत अर्थात १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणमा बाँडफाँट गरिन लागेको उल्लेख गरिएको छ । सर्वसाधारणमा बाँडफाँट गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ ।

लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि असोज १७ गतेदेखि असोज २१ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा माग बमोजिम आवेदन नपरेको खण्डमा कात्तिक १ गतेसम्म आवेदन दिन सकिने उल्लेख गरिएको छ । बैंकको बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ ।