बजारमा थुप्रिन थाल्यो झोल दुध: बंगलादेशमा दुग्धजन्य पदार्थ निर्यात गर्न नेपाल डेरी एसोसिएसनले पहल गर्ने


काठमाडौँ । मागभन्दा आपूर्ति भएपछि किसानले उत्पादन गर्ने दूध व्यवस्थापनका लागि नेपाल डेरी एसोसिएसनले पहल थाल्ने निर्णय गरेकाे छ ।

नेपाल डेरी एसोसिएसनको चौथो केन्द्रीय समितिको काठमाडाैँमा आज बसेकाे बैठकले बंगलादेशमा दूध तथा दुग्ध पदार्थ निर्यात गर्न तत्काल पहल गर्ने निर्णय गरेको हो । तत्कालिन दुध, बटर, धुलो दुध बढी भएको र बजारमा दूध खपत नभएको समस्या हल गर्नको लागि ५ जनाको समिति गठन गरि काम सुरू गर्ने एसोसिएसनले जनाएको छ ।

प्रथम उपाध्यक्ष दीपप्रसाद धमलाको संयोजकत्वमा बनेको समितिको सदस्यहरूमा एसोसिएसनका उपाध्यक्ष मनोज कुमार घिमिरे, उपमहासचिव विजयप्रसाद चौरसिया, एसोसिएसन लुम्बिनी प्रदेश अध्यक्ष थानेश्वर न्यौपाने र सदस्य योगेन्द्र चिमरिया रहेका छन् ।

नेपाल डेरी एसोसिएसनले एसोसिएसनको गीत बनाउने र डेरी सम्बन्धि गोठदेखि ओठसम्म समेटेर डकुमेन्ट्री बनाउने निर्णय गरेको अध्यक्ष प्रल्हाद दाहालले जानकारी दिए । रैथाने हाट बजारमा प्रत्येक शनिबार एसोसिएसनले माेही सेवन गराउने अभियान सफल भएकाे निष्कर्ष निकाल्दै थप अभियान शुरु गर्न सबै प्रदेशलाई आग्रह गर्ने निर्णय समेत गरेको दाहालले बताए ।

एसोसिएसनको २३ औं वार्षिक साधारणसभा उपाध्यक्ष कर्ण बहादुर हमालको संयोजकत्वमा सुदुरपश्चिम प्रदेशको धनगढीमा आउँदो पुस महिनामा धनगढीमा हुने भएको छ ।