‘फर्निचरजन्य उत्पादनमा देश आत्मनिर्भरकाे बाटाेमा छ’


काठमाडौँ । नेपाल फर्निचर तथा फर्निसिङ संघको आयोजनामा बुधबारदेखि राजधानीमा नवौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो (फर्नेक्स २०२३) सुरु भएको छ । कोभिड–१९ काे महामारीदेखि ,आर्थिक गतिविधि कमजोर बनिरहेको बेला आयोजना गरिएको मेलामा अनुमान र अपेक्षाभन्दा राम्रो भएको आयोजकले जनाएको छ । फर्निचरजन्य उत्पादनको बजार विस्तारका साथै आत्मनिर्भरताको लक्ष्य सहित एक्स्पो आयोजना गरिएको हो । असोज १० गतेदखि १४ गतेसम्म चल्ने एक्स्पोले सुस्ताएको आर्थिक कृयाकलापलाई चलायमान बनाउने अपेक्षा गरिएको छ । नेपाल फर्निचर तथा फर्निसिङ संघको आयोजनामा ५ दिनसम्म चल्ने एक्स्पोले फर्निचर तथा फर्निसिङका आयातित उत्पादनलाई प्रतिष्थापन गर्न टेवा पुर्याउने अपेक्षा गरिएको छ । हरेक दिन बिहान १० बजेदेखि अवलोकनकर्ताका लागि एक्स्पोस्थल खुल्ला गरिने एक्स्पोको व्यवस्थापक इभेण्ट सोलुसन प्रालिले जनाएको छ ।

करिब १०० भन्दा बढी प्रदर्शनी कक्ष रहेको एक्स्पो अवलोकनका लागि प्रवेश नि:शुल्क गरिएको छ । बदलिदो आधुनिक जीवन शैलीसँगै बढ्दै गएको आन्तरिक सजावटको मागका लागि एक्स्पो उचित गन्तव्य हुने आयोजकको विश्वास छ । “किचेन, बेडरूम, बाथरूमका साथै आउटडोर फर्निचर, कार्पेट, पर्दा, म्याट्रेस, डेकोरेशन सामग्री, होम डेकोर, अफिस फर्निचर, हस्पिटल फर्निचर, होम अप्लाइन्सेज, मेशिनरी औजारका साथै इन्टेरियर डिजाइन, वास्तु परामर्श प्रदर्शनीको आकर्षणका रूपमा रहने छन् ।

प्रदर्शकहरूले चाडपर्वलाई लक्षित गरी एक्स्पो अवलोकनकर्तालाई विभिन्न किसिमका अफरहरू समेत सञ्चालन गरेका छन् ।
नेपाल फर्निचर तथा फर्निसिङ संघका अध्यक्ष दिनेशकुमार अग्रवालले फर्निचर तथा फर्निसिङमा काम गर्ने दक्ष कामदारको अभावले उद्योग नै धरासायी बन्ने सम्भावना बढ्दै गएको बताएका छन् । उनले पछिल्लो समय दक्ष जनशक्तिको अभावको कारण उत्पादन क्षमता समेत घट्दै गएको बताए । उनले सीप र तालिमको अभावले फर्निचर तथा फर्निसिङका सामानहरू लोप हुने सम्भावना बढेको बताएका छन् । नेपालमा फर्निचर तथा फर्निसिङ क्षेत्रका विशेषता, सहुलियत, ग्राहकका चाहना र फर्निचरको अवस्थाबारे केन्द्रित भएर टक्सारकर्मी रवि थापाले नेपाल फर्निचर तथा फर्निसिङ संघका अध्यक्ष दिनेशकुमार अग्रवालसँग गरेको कुराकानीको सारः

आर्थिक मन्दीले गर्दा बजार चलायमान हुन नसकेको बेला आयाेजना गरिएको मेलाको मुख्य विशेषता के के छन् ?

हामीले हरेक वर्ष आयोजना गर्ने एक्स्पोमा नयाँ नयाँ वस्तु नै लिएर आउछौँ । हरेक अवलोकनकर्ताहरूको रुचिलाई नै समेटेर मेलालाई थप आर्कषण बनाउनको लागि मेला आयोजना गर्दै आएका छौँ । नयाँ प्रविधि र नयाँ वस्तुको उत्पादन बढ्दै जादाँ यस वर्षको मेला गत वर्षको भन्दा पक्कै पनि भिन्न खालको नै छ । यो मेलामा हामीले नेपाली ब्रान्डलाई प्रथामिकतामा राखेका छौँ जसले गर्दा ६० प्रतिशत स्टलहरू नेपाली उत्पादनले भरेको छ । अवलोकनकर्ताको मन जित्न र उनीहरूको मागलाई परिपूर्ति गर्नको लागि नाम चलेका अन्तराष्ट्रिय ब्रान्डलाई समेत मेलामा हामीले सहभागि गराएका छौँ जसले गर्दापनि मेला थप आर्कषित र अवलोकनकर्ताले खोजे जस्तो भएको छ ।

त्यस्तै उपभोक्तलाई चाडपर्वको समयमा नयाँ फनिर्चर खरिद गर्न बजार घुम्नुपर्ने समस्यालाई मध्यनजर गरेर फर्नेक्स एक्सपो २०२३ मा चाडपर्व अघि गरेका छाैँ जसले गर्दा एउटै छानामुनि विभिन्न किसिम्मका उत्पादित र आयतित सामानहरू राखेका छौं । जहाँ फनिर्चर, कारपेट, पर्दा, घर सजाउने सामानहरू छन् जुन नयाँ प्रविधिका र गुणस्तिरय छन् । त्यसले गर्दा यो एक्स्पो पहिलाभन्दा फरक र आर्कषित छ ।

मेलामा व्यवसायीलाई र अवलोकनकर्तालाई कस्तो फाइदा हुन्छ ? के यो मेला फर्निचर व्यवसायलाई चलायमान बनाउनको लागि कोसेढुङ्गा सावित हुन्छ ?

मेलामा व्यवसायीहरूले आफ्ना नयाँ ब्रान्डहरू अवलोकनकर्ताको माझमा पुर्याउनेदेखि अवलोकनकर्ताहरूले बजारमा आएका नयाँ फनिर्चरका विषयमा जानकारी लिने मौका पाउछन् । त्यस्तै विभिन्न सामानहरूको विषेशता बुझनुदेखि एउटै छानामुनि खरिद तथा विक्रि हुने भयो । प्रत्येक उद्योगीहरूले आफ्ना ग्राहकरूलाई दशैँ अफरदेखि अन्य छुटहरू लिएर आएका छन् जसले गर्दा मध्यम वर्गका ग्राहकहरूलाई समेत यसले राहात दिने भयो । त्यस्तै यसले बजारलाई अवश्य पनि चलायमान गराउँछ । ग्राहकहरूले सामानहरू खरिद गर्दा उद्योगहरू चलायमान हुन्छ र सरकारको राज्वशमा वृद्धि हुन्छ जसले गर्दा अर्थतन्त्र चलायमान हुने हामीले विश्वास गरेका छाैँ ।

हरियो वन नेपालको धन भन्ने नारा चर्चित छ । तर मेलामा विदेशी काठका फर्निचरको रजगज बढी भएको पाइयो । नेपालका काठहरू कुहिएर गएको अवस्था पनि छ । तपाईँहरू त्यी काठहरूको प्रयोग गर्न कहाँनिर चुक्नुभयाे ?

संघको आधारमा भन्दा हामी नेपालको काठ प्रयोग गर्न कतैपनि चुकेको अवस्था छैन । फर्निचर भनेको काठबाट मात्रा बनेकोलाई फर्निचर भन्नु हुदैँन । मेलामा पलास्टिकका कुर्चीदेखि, स्टिलका दराजदेखि, बाँसका सामाग्रीहरू रहेका छन् । जनु नेपालमा नै ९० प्रतिशत बनेको अवस्था छ । अब काठको फर्निचरको कुरा गर्दा सबै वस्तु आयतित छन् भन्नु कदापि मिल्दैन । हो नेपालमा केही मात्रामा काठ कुहिएर गएको अवस्थामा छ जुन हाम्रो लागि दुर्भाग्यको कुरा हो । किनभने हामीसँग भएको हाम्रो राष्ट्रको सम्पत्ती प्रयोग गर्न नपाउँदा हामीलाई पनि दुख लाग्छ । तर त्यसलाई हामीले सरकारबाट किन्न र उपभोग गर्न पायौँ भने काठलाई आयात गर्न पर्दैन् । नेपालको काठ सहज रूपमा सस्तो पायौँ भने त हामीले बाहिरबाट किन आयात गर्ने ?त्यसकारण समग्रमा भन्दा हामी आयातितमा भर त छौँ तर आयतितलाई अझै रोक्नको लागि हामी असक्षम भन्ने पक्कै छैनाैँ। त्यसमा हामी प्रयासबद्ध छौँ ।

नेपाल फर्निचरमा कहिले आत्मनिर्भर हुन्छ ? आजको दिनमा नेपालमा फर्निचको अवस्था कस्तो छ ?

आजको दिनमा हेर्दा हामी ६० प्रतिशत आत्मनिर्भर छौँ । २० वर्षअघि कार्पेट उद्योगको कुरा गर्दा १०० प्रतिशत कार्पेट आयात हुन्थ्यो तर आज ९० प्रतिशत कार्पेट हाम्रो देशमा उत्पादन हुन्छ । त्यतिमात्र नभएर आज हामीले गुणस्तरिय कार्पेटहरू विदेश निर्यात गरेको अवस्था छ । नेपालकाे सन्दर्भमा कुनैपनि क्षेत्रहरू आत्मनिर्भर हुन सकेका छैनन् । किनभने विदेशबाट कुनै किसिम्मको सामानहरू आयात गरेनौँ भने निर्यात गर्नकाे लागि कुनैबाटो पनि राख्दैनौँ । तर हामी मिहिनेतको बाटोमा छौँ आजको दिनमा ६० प्रतिशत आत्मनिर्भरको बाटोमा छौँ भोलि ६५ होला त्यसको लागि हामीले सकारात्मक नै छाैँ । सरकारले पनि व्यवसायीकाे अनुकुलता हुने नीति ल्याएर यो व्यवसायप्रति ध्यान दियो भने हामी आत्मनिर्भर हुन सक्षम छौँ ।

नीति नियमको विषयमा बहस चलिरहँदा यो व्यवसायमा के समस्या छ ? यो क्षेत्रकाे समस्यालाई सम्बोधन गर्न सरकारले कस्तो खालको नीति ल्याउन आवश्यक छ ?

हाम्रो फर्निचर फर्निसङ व्यवसायमा समस्या धेरै छन् । आज बजारलाई आर्थिक मन्दीले च्यापेका बेला देशका कतिपय सटरहरू खाली भएका अवस्थामा छ । दिनौँदिन युवाहरू विदेश प्लायान भएको अवस्था छ । अझै विशेष रूपमा बुझदा कुनैपनि सामानहरू किन्ने क्षमता युवाहरूसँग हुन्छ । कुनैपनि युवाहरूको उमेर पुग्दै गएपछि नयाँ नयाँ वस्तुहरू किन्ने इच्छा हुन्छ । त्यसकारण अर्थतन्त्र चलायमान बनाउनको लागि वस्तुहरूको उपभोग हुनुपर्छ । यदि उपभोग गर्ने उपभोक्त नै भएनन् भने अर्थतन्त्र कसरी चलायमान हुन्छ ? त्यसैले सरकारले यो बुझनुपर्छ कि रेमिटेन्स आउनु राम्रो हो र डलर संञ्चित हुनु राम्रो हो तर त्यो डलर सामान आयात गर्नको लागि काम नै भएन भने त्यो संञ्चित गरेको के काम लाग्यो र ? हाम्रो देश यति सक्षम र आत्मनिर्भर हुन्छ सक्छ कि विदेश प्लायन हुन लागेका युवालाई रोकेर रोजगारी दिन सक्छ । त्यसको लागि सरकारले सहज नीति नियम ल्याउनु पर्यो । सरकारले नीति नियम ल्याउँदा कुनै पनि क्षेत्रलाई असहज बनाएर ल्याउन हुदैँन । व्यापार चले उद्योग खोल्छ, उद्योग चले रोजगारको सिर्जना हुन्छ र देशको अर्थतन्त्र बलियो हुन्छ ।

विदेशी काठहरू सस्तो भएकै कारण नेपालका काठको विक्रि वितरणमा समस्या परेको हो ?

काठलाई आयात गर्दा सस्तो महग्गो भन्दा पनि काठलाई पाउने सहज तरिका हुन्छ । एउटा फर्निचर व्यवसायले काठ किन्दा खेरि एउटा माध्यमबाट किन्नुपर्छ । कुनैपनि एउटा सामान किन्दा तीन तहको मुनफा हुन्छ । तीन तहमा त्यो मुनफा तिर्दा त्यसको मूल्य कति बढ्छ । हामी भन्छौँ हामी आयतमुखी देश हो तर त्यो गलत हो । हामी उत्पादनमुखी देश हुन सक्छौँ तर उत्पादन गरेको सामान जनता माझ पुर्याउन ‘कष्ट अफ भ्यालु’ ले पनि असर गर्छ । त्यो कष्ट अफ भ्यालु कसरी आउँछ ? नेपालमा फर्निचर तथा फर्निसिङ उद्योगका लागि आवश्यक काठ विदेशबाट आयात भइरहेको छ । नेपालमा पर्याप्त काठ भए पनि खरिद गर्ने झन्झटिलो सरकारी प्रक्रियाले ‘अग्राख’ काठ विदेशबाट आयात गर्नुपरेको गुनासो गरेका छन् । उनीहरूका अनुसार नेपालमै भएको काठ सीधै किन्न पाइन्न । खरिद गर्न निवेदन दिनुपर्नेदेखि अनेक झन्झट झेल्नुपर्छ । अहिले सरकारले लिलामी हुन आएका काठ मात्रै बेच्ने गरेको छ । त्यसकारण यसमा सहज गर्दा हामीले नेपालका काठलाई नै प्रयाेग गर्न पाउछाैँ ।

सरकार बाधक बनेको हो तपाईँहरूको व्यवसायमा ?

सरकारलाई हामीले कहिलेपनि बाधकको रूपमा लिएका छैनौँ ।सरकार हाम्रो साझेदार हो । अर्थतन्त्रलाई चलायमान बनाउनको लागि सरकारलाई सहयोग गछौँ । त्यसकारण सरकारले पनि हामीलाई एउटा माध्यमको रूपमा लिएर गयो भने हामीले राज्यको अर्थतन्त्रलाई उकास्नको लागि सहयोग गर्छौँ । सरकारको कुनैपनि नीतिलाई हामीले बाधकको रूपमा लिदैनौँ तर सरकारले नीति बनाउँदा विचार गर्नुपर्छ । नीति आउनु राम्रो तर ५० वर्षअघि बनेको नीतिलाई आजको दिनमा पुर्नविचार गर्नुपर्यो । हाम्रो नीति निजी क्षेत्र चलायमान बनाउन सहयाेग गर्ने खालकाे आउनु पर्यो ।

देशको अर्थतन्त्र र रोजगारमा यो व्यवसायले कति योगदान दिएको छ ?

हाम्रो देशको अर्थतन्त्र चलाउन सबैभन्दा बढी भूमिका भन्सारको रहेको छ । भन्सार भनेको व्यवसायबाट हुन्छ । हामी कुनै वस्तु आयात गर्दा भन्सार तिरेर आउँछ त्यो भन्सार भनेको देशको अर्थतन्त्रमा ठूलो योगदान दिने हो । भन्सार तिरेर आएपछि हामीले एउटा व्यवसाय चलाउछौँ । व्यवसाय चलाउनको लागि हामीले जग्गा भाडामा लिन्छौँ । विभिन्न बैंकहरूसँग ऋण लिन्छौँ विभिन्न किसिम्मको रोजगार दिन्छौँ । त्यस्तै व्यवसायीले कमाएको मुनफाको सरकारलाई कर तिर्छाै । त्यसले गर्दा आफैँ विचार गर्नुहोस् यसमा सरकारले आफैँ बुझोस् अर्थतन्त्रमा व्यवसायीको भूमिका कति छ भनेर । यसमा हाम्रो भूमिका धेरै छ ।

मेला गर्दा कस्ता खालका चुनाैति र समस्यासँग सामाना गर्नु पर्याे ?

बजार चलायमान नभएको बेला मेला गर्दा निकै चुनौतिहरू थिए । कतिपय व्यवसायीहरूलाई हामीले सहमति गराएर ल्याएका छौँ । धेरै साथीहरू उत्साहित पनि छन् उत्पादित सामानको बजार विस्तार हुने भयो भने आजको अवस्थामा यसमा बढी चुनौति छन् । आजको दिनमा हामीलाई यो मेलाबाट नयाँ प्रविधि, नयाँ सामान र नयाँ वस्तुहरू जनतासामु ल्याउँदा नेपाली ब्रान्डलाई प्रोत्साहन भएकाे छ भने व्यवसायहरू पनि फ्रस्टाउने छन् ।

मेलामा अवलोकनकर्ताहरूकाे सहभागिता कस्ताे पाउनु भयाे ? याे मेलाले अबकाे बजारलाई कस्ताे सन्देश दिनेछ ?
पक्कै पनि मेलामा अवलाेकनकर्ताहरूकाे सहभागिता उत्साहजनक नै छ । हाम्रो मेलामा भिडभाड धेरै छ । आज उपभोक्तले सबै घरमा चाहिने सबै किसिम्मका सामाग्रीहरू मेलामा किन्न र हेर्न पाएका छन् जसले गर्दा मेला एउटा व्यवसायी र ग्राहकहरूकाे लागि काेसेढुङ्गा सावित भएकाे छ । त्यस्तै देशकाे अर्थतन्त्र ओरालो लागेको अवस्थामा मेला गर्दा सरकारकाे साथमा व्यवसायी छन् है भन्ने सन्देश जान्छ । हाम्रो देशलाई पूर्ण रूपमा बनाउनुपर्छ भनेर सरकारलाई साथ दिएका छाैँ । त्यसकारण हिजो नाडाले अटो शो गर्यो, आज हामीले गरेको छौं र आउँदो दिनमा अरू क्षेत्रले पनि मेला गर्छ । यसले गर्दा जनताको आयको स्रोत पनि बढ्नुपर्यो जनताको आर्जन बढ्यो भने हाम्रो व्यापार चल्छ हाम्रो व्यापार चल्यो भने अर्थतन्त्र चलायमान हुन्छ ।

भिडियाे सामग्रीः