नेपाल वेयरहाउजिङ कम्पनीले बोर्डबाट पायो आईपीओ निष्काशन गर्ने स्वीकृति


काठमाडौँ । नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडलाई नेपाल धितोपत्र बोर्डले आइपीओ निष्काशन गर्ने स्वीकृती दिएको छ । कम्पनीले १३ लाख ६५ हजार कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो ।

कम्पनीले पहिलो चरणमा १० प्रतिशत शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी बिदेशमा बसी रोजगारी गरिरहेका नेपालीहरुलाई छुट्टयाई बाकी रहेको सर्वसाधारणहरुको लागि निष्काशन गर्ने जनाएको छ।

कम्पनीले सर्वसाधारणका लागि १३ लाख ६५ हजार कित्ता साधारण शेयर अंकित मूल्य रु १०० का दरमा प्रारम्भिक सार्वजनिक निष्काशन गर्नका लागि नेपाल धितोपत्र बोर्डबाट बुधबार मा स्वीकृति प्राप्त गरेको छ । सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ ।

हालसम्म सुनसरी र पर्सा जिल्लामा ४० हजार मेट्रिक टन क्षेमताको वेयरहाउस निर्माण सम्पन्न गरि संचालनमा ल्याएको छ भने कपिलवस्तु जिल्लामा १५ हजार मेट्रिक टन क्षेमताको साइलो जडान भईरहेकोछ, र सो समेत पौष महिना सम्ममा संचालनमा आउने कम्पनीले उल्लेख गरेको छ ।

कम्पनीका अनुसार यो कम्पनी संस्थापन गर्नका उद्देश्यहरु मध्येको प्रमुख उद्देश्य खाद्यान्न भण्डारण गृह निर्माण गरी सो भण्डारण गृहमा कृषकहरुले उत्पादन गरेका खाद्यान्नलाई भण्डारण गर्ने सुविधा प्रदान गर्नु रहेको छ।

कम्पनीले संचालन गर्न लागेको र निर्माण भईरहेका परियोजनाहरुको लागत १ अर्ब ६२ करोड ७५ लाख रुपैयाँ रहेकोमा सो लगानी मध्ये ९४ करोड रुपैयाँ ऋण र बाँकी स्वपुँजी बाट परिचालन गरिने उल्लेख गरेको छ । कम्पनीको हालको चुक्ता पुँजी ५५ करोड रुपैयाँ रहेकोमा साधारण निष्काशन बाट थप १३ करोड ७५ लाख रुपैयाँ जुटाउने कम्पनीले जनाएको छ ।

कृषकको आवश्यकता वमोजिम सुरक्षित तथा बैज्ञानिक तबरको भण्डारण गृहका लागि नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडले देशका तीन वटा महत्वपुर्ण स्थानहरु सुनसरी, पर्सा र कपिलवस्तुमा साइलो प्रविधिमा आधारित खाद्यान्न भण्डारण गृह निर्माण गरी कृषक, कृषि वस्तु संकलक, खाद्यान्न प्रशोधक, औधोगिक प्रतिस्ठान तथा दाना उत्पादकहरुलाई सेवा प्रदान गर्ने लक्ष्य लिएको छ।

कृषकहरुबाट उत्पादित खाद्यान्न भण्डारण गर्नका साथसाथै कृषकहरुलाई आफ्नो उत्पादनको उचित मूल्य प्राप्त हुने अवसर प्रदान गर्न कम्पनीले ती तीनवटै जिल्लामा भण्डारण गृहको परिसरमा वोलकवोलको माध्यमबाट खाद्यान्न किनवेच हुने वातावरण र पध्दत्तिलाई समेत व्यवस्थित गर्ने लक्ष्य राखेको छ।

साथै कम्पनीले कृषक तथा खाद्यान्न संकलकहरुलाई घर खर्च तथा अर्को वालीका लागि आवश्यक पर्ने पूँजीको अभाव हुन नदिन निजहरुले कम्पनीको भण्डारण गृहमा राखेका खाद्यान्नको परिमाणलाई धितो मानेर वेयरहाउस रसिदको आधारमा वैंक तथा वित्तीय संस्थाहरु मार्फत ऋण प्राप्त गर्ने उचित व्यवस्थापन गरिएको जनाएको छ।