नेसनल प्याब्सनभित्र विवाद,संगठन ‘विभाजनको जोखिम’


काठमाडौँ । राष्ट्रिय निजी तथा आवसीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन)मा विवाद बढेको छ ।

अध्यक्षको अवधिबारे विवाद भएपछि नेशनल प्याब्सन विभाजनको जोखिम समेत बढेको छ । २०७८ फागुनको २२,२३ र २४ गते महाधिवेशन भएको थियो ।

महाधिवेशनबाट सहमतिमा नेतृत्व चयन भएको थियो ।

सहमति अनुसार अध्यक्षमा पाण्डव हमाल र सहअध्यक्षमा सुवास न्यौपाने चयन भएका थिए । सहमति अनुसार नेतृत्व चयन गर्दा आधा-आधा कार्यकाल अध्यक्ष चलाउने सहमति भएको भन्दै न्यौपानेलेले पदस्थापनका लागि समय र मिति तोकेर भेला बोलाएपछि विवाद चर्किएको हो ।

वर्तमान अध्यक्ष पाण्डव हमालले पदस्थापन कार्यक्रम अगाडि बढाइए दुर्घटना हुने बताए । उनले भने,“अहिले नै यस्तो स्थिति त नभनौ तर जे तयारी हुँदै छ त्यस्तो भए दुर्घटना हुनेछ ।”

आधा आधा कार्यकाल सहमति भएपनि सपथ ग्रहण गर्दा र प्रमाणपत्रमा तीन तीन वर्षकै उल्लेख भएको भन्दै हमालले आफूले पुरै कार्यकाल अध्यक्ष चलाउने अडान राख्दै आएका छन् ।

सहअध्यक्ष न्यौपानेले भने आफूले अध्यक्ष पाउनुपर्ने बताए । उनले भने,“महाधिवेशनमा १८/१८ महिना अध्यक्ष बनेर जाने सहमति भयो र सोही अनुसार घोषणा गर्‍यौँ। एउटाको १८ महिना कार्यकाल सकियो र पद हस्तान्तरण हुने बेला गज्याङ्गुजुङु भयो ।”

निर्वाचन समितिमा रहेका दुर्गा जोशीले सहमति अनुसार जानुपर्ने बताए । उनले भने,“यो विषय वर्तमान अध्यक्ष पाण्डव हमाल ज्यूले सोंच्नुपर्छ होला । जे सहमति भयो त्यो कार्यान्वयन हुनुपर्छ जस्तो लाग्छ । अध्यक्ष ज्यूको हातमा छ सबै कुरा ।”

सह-अध्यक्ष न्यौपानेले असोज १३ गते पदस्थापनका लागि भेला बोलाएका छन् ।

कतिपय सदस्यहरूले संगठन विभाजनको बाटोमा गएको भन्दै चिन्त व्यक्त गरेका छन् । सहमति गराउने प्रयास भएपनि कुरा मिल्न सकेको छैन ।