आजदेखि सोनापुर मिनरल्सको आईपीओमा आवेदन दिन सकिने


काठमाडौँ । आजदेखि सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको आईपीओमा आवेदन दिन सकिने भएको छ । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो।

कम्पनीले पहिलो चरणमा उद्योग प्रभावित क्षेत्र दाङ र रोल्पाका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

कम्पनीले जारी पूँजी ३ अर्ब ७ करोड ५० लाख ५० हजार रुपैयाँको ४० प्रतिशत अर्थात १ अर्ब २३ करोड २० हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका १ करोड २३ लाख २०० लाख कित्ता साधारण शेयर निष्काशन गर्ने अनुमति पाएको थियो।

अब दोस्रो चरणमा कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १३७ रुपैयाँ ५८ पैसा प्रिमियम थप गरी कुल २३७ रुपैयाँ ५८ पैसामा सर्वसाधारणका लागि ९७ लाख ३२ हजार ५४४ कित्ता शेयर निष्काशन गर्न लागेको हो।

आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा १५ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ। निष्काशन बन्द छिटोमा असोज १७ गते हुनेछ भने ढिलोमा असोज २८ गते हुनेछ।

आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आईआरएन ट्रिपल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।