बेलहिया नाकामा १० लाख भारतीय रुपैयाँसहित ३ जना पक्राउ


भैरहवा । रुपन्देहीको बेलहिया नाकाबाट सशस्त्र प्रहरीले १० लाख भारु रुपैयाँसहित तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म डण्डाले बेलहियाबाट भैरहवातर्फ आउँदै गरेको लु २ च ७३५० र प्रदेश ०१–०२६ च ३६५२ नम्बरको भ्यानमा सवार उनीहरुको साथमा रहेको श्रोत नखुलेको १० लाख भारतिय रुपैयाँ नियन्त्रणमा लिएको हो ।

सशस्त्र प्रहरीले तीन जना मध्ये राजु कौशलको साथमा ९ लाख रुपैयाँ, अभिनव जैसवाल र आस्तिक त्रिपाठीको साथमा ५०\५० हजार बरामद गरेको हो। उनीहरुबाट बरामद गरिएको सबै ५ सय भारु नोट रहेको सशस्त्र प्रहरीले जनाएको छ।

पक्राउ परेका तीनै जनालाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय भैरहवामा बुझाइएको छ ।