मुलुकको पुँजी बजार ध्वस्त हुँदा पनि अर्थमन्त्रीलाई चासो छैनः हरि ढकाल


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले पुँजी बजार ध्वस्त हुँदा पनि अर्थमन्त्री डा। प्रकाशरण महतले चासो नदिएको आरोप लगाएका छन्।

मंगलबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले लगानीकर्ताको अर्बौं लगानी डुबिरहँदा पनि अर्थमन्त्री महतले पूँजी बजारबारे चासो नदिएको भन्दै आपत्ति जनाएका हुन्।

‘सरकारलाई शान्ति सुरक्षाको विशेष ख्याल राख्न म ध्यानाकर्षण गराउन चाहन्छु। देशको आर्थिक अवस्थाको बारेमा यो सदनमा विभिन्न समयमा विभिन्न माननीयज्यूहरूले आवाजहरू उठाई राख्नुभएको छ। देश आर्थिक मन्दीमा जाँदैछ,’ उनले भने, ‘आर्थिक मन्दीमा धस्सीँदैछ। आर्थिक मन्दीमा धस्सीनुका कारणहरूमा उत्खनन् कसैले गरेका छैनन्। किन आर्थिक मन्दीमा फस्दैछ भनेर सुझावहरू दिँदा अर्थ मन्त्रालयले ती सुझाव सुनुवाइ गर्दैन।’

सांसद ढकालले पुँजी बजारका लागि नियमक निकायको रूपमा रहेको धितोपत्र बोर्डले कुनैपनि काम गर्न नसकेको जिकिर समेत गरे। उनले मुलुकको अर्थतन्त्र सुधारका लागि आफूहरूले दिएको सुझावलाई अर्थ मन्त्रालयले सुनुवाई नगरेको गुनासो समेत गरे।

सांसद ढकालले मुलुकमा सामाजिक सदभाव भडकाउने प्रयास भइरहेको उल्लेख गर्दै सरकारलाई शान्ति सुरक्षाबारे विशेष ख्याल राख्न पनि आग्रह गरे।