सिटिजन्स बैंकको ऋणपत्रमा आजदेखि आवेदन खुला


काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले ऋणपत्र जारी गरेको छ । बैंकले आज असोज १७ गतेबाट ३ अर्ब रुपैयाँबराबरको ‘सिटिजन्स बैंक डिबेन्चर–२०९०’ नामक ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको ।

बैंकले यो ऋणपत्रको १ हजार रुपैयाँ अंकित दरमा कुल ३० लाख इकाइ बिक्री खुला गरेको छ।

कुल इकाइमध्ये बैंकले १८ लाख इकाइ व्यक्तिगत तबरबबाट बिक्री गर्नेछ। बाँकी १२ लाख इकाइ सर्वसाधारणले खरिद आवेदन दिन पाउनेछन्।

सर्वसाधारणका लागि जारी हुने कुल इकाइमध्ये ५प्रतिशतले हुन आउने ६० हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्याएको छ। बाँकी इकाइ सर्वसाधारणलाई छुट्याइएको छ।

लगानीकर्ताले यो ऋणपत्रमा न्यूनतम २५ इकाइदेखि अधिकतममा सम्पूर्ण इकाइका लागि खरिद आवेदन दिन सक्नेछन्।

उक्त ऋणपत्रमा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरबाट आवेदन दिन सकिनेछ।

सिटिजन्स बैंकको यो ऋणपत्र १० वर्षे अवधिको हो। यसमा लगानीकर्ताले वार्षिक १० प्रतिशत ब्याज पाउँछन्।

यो ऋणपत्रमा लगानीकर्ताले छिटोमा असोज २१ गते र ढिलोमा कात्तिक १ गते सम्म आवेदन दिन सक्नेछन् ।

बैंकले उक्त ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।