कात्तिक १० गतेदेखि आइपीओ निष्काशन गर्दै मुक्तिनाथ कृषि कम्पनी


काठमाडौ । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले प्राथमिक सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले कात्तिक १० गतेदेखि प्राथमिक सेयर आइपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको हो ।

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई जारी पुँजीको २० प्रतिशत अथवा १४ करोड रुपैयाँ बराबरको आइपीओ निष्काशन गर्न यही असोज १० गते अनुमति प्रदान गरेको छ ।

कम्पनीले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।

कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा जारी पुँजी ७० करोड रुपैयाँको २० प्रतिशतले हुन आउने १४ करोड रुपैयाँ बराबरको १४ लाख कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ ।

कम्पनीले पहिलो चरणमा सार्वजनिक निष्कासन गर्ने स्वीकृति पाएको सेयरको १० प्रतिशतले हुन आउने एक करोड ४० लाख रुपैयाँ बराबरको एक लाख ४० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गर्न लागेको हो ।

आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि बढीमा एक हजार कित्ताको लागि आवेदन दिन सकिनेछ ।वैदेशिक रोजगारीमा रहेका नेपालीले उक्तआईपीओमा २४ कात्तिकसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीले आईपीओ निष्कासनको लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र सिडिएस एण्ड क्लियरिङ लिमिटेड ‘मेरो सेयर’ अनलाइन प्रयोग आवेदन दिन सक्नेछन् ।

कम्पनीले आईपीओ निष्कासनका लागि गराएको रेटिङमा क्रेडिट रेटिङ कम्पनी इक्रा नेपालले ‘इक्रा एनपी इस्यूअर रेटिङ डबल बी माइनस’ प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

कम्पनीले कृषक तथा कृषि व्यवसायीहरुको उत्पादन र उत्पादकत्व वृद्धिको लागि आवश्यक उत्पादनका साधनहरु मल, बीउ, विषादी, औजार उपकरणसहित अनुसन्धान, विकास प्रविधि हस्तान्तरण, प्रशोधन र मूल्य अभिवृद्धिको क्षेत्रमा काम गर्ने गरेको छ ।