२ अर्ब १५ करोड रुपैयाँमा पैदल मार्ग सुधार गर्दै काठमाडौँ महानगर, दरबारमार्ग क्षेत्रमा ग्रेनाइट लगाउने


काठमडौँ । काठमाडौँ महानगरपालिकाले पैदल मार्गलाई यात्रुमैत्री बनाउन यस वर्ष २ अर्ब १५ करोड रुपैयाँ लगानी गरेर निर्माण, मर्मत तथा सुधारको काम गर्ने जनाएको छ । यसका लागि सबैजसो सडक खण्डको लागत अनुमान तयार भइसकेको छ ।

निर्माण कार्यका लागि जारी सूचनाबाट आएका र छनौट भएका केही निर्माण व्यवसायीसँग सम्झौता भइसकेको महानगरको उल्लेख गरेको छ । मापदण्ड र निर्माण पक्षको क्षमताजस्ता प्राविधिक पक्षबाट काम हुन नसक्ने देखिएपछि केही सडकको पुनः बोलपत्रको सूचना जारी भएको छ भने केही सार्वजनिक सूचना प्रकाशनको चरणमा छन् ।

पैदल यात्रा गर्ने यात्रीको सहजताका लागि गएको आर्थिक वर्षबाट थालिएको कामलाई यस वर्ष थप तीब्र बनाइएको महानगरकाे जनाएकाे छ । सार्वजनिक निर्माण विभागले पैदल मार्गको संरचना निर्माण तथा सुधारका लागि काम गरिरहेको छ । यसअन्तर्गत मार्गमा रंगीन ब्लकहरु छापिनेछन् भने दरबारमार्ग क्षेत्रमा भने ग्रेनाइट लगाउने महानगरको योजना छ ।

महानगरकाे सार्वजनिक निर्माण विभागका अनुसार, वडा नं. २९ को पुतलीसडक, अनामनगरलगायत क्षेत्रमा यस अघि काम भइसकेको छ । अहिले वडा नं. २६ लैनचौरबाट वडा नं. १६ सोह्रखुट्टे हुँदै बालाजुसम्मको सडक किनारा दुवैतर्फ काम भइरहेको छ । यसको लागत ४ करोड ५५ लाख रुपैयाँ हो । वडा नं. २६ लैनचौरबाट वडा नं. २ को लाजिम्पाट, वडा नं. ३ को महाराजगञ्ज हुँदै चक्रपथसम्मको खण्डको कामका लागि सम्झौता भइसकेको छ । यसको लागत करिब १० करोड रुपैयाँ हो । वडा नं. २८ को प्रदर्शनी मार्गमा काम थालनी भएको छ । यसको लागत ३ करोड ७८ लाख रुपैयाँ हो । वडा नं. ११ को त्रिपुरेश्वरदेखि वडा नं. २२ सुन्धारा, वडा नं. २७ र २८ को सिमाना महावौद्ध, रत्नपार्क, जमल हुँदै वडा नं. २६ को लैनचौरसम्मको सडक खण्डका लागि निर्माण पक्षसँग सम्झौता भइसकेको छ । यसको लागत १८ करोड रुपैयाँ हो । नयाँ बजार बडा नं. १७ खण्डमा पर्ने जग्गा एकीकरण आयोजना क्षेत्रभित्र करिब ११ करोड लागतमा काम हुँदैछ ।

बालुवाटार, तीनकुनेदेखि सिनामंगल, त्रिभुवन विमानस्थल प्रवेशद्वार, सञ्चारग्राम, तिलगंगा हुँदै गौशालासम्म, नयाँ बानेश्वरदेखि पुरानो बानेश्वरसम्मको मार्ग, थापाथलीदेखि टेकुहुँदै कालीमाटीसम्म, बागबजारदेखि चारखाल, डिल्लीबजार पिपलबोट, मैतीदेवी चोक, सेतो पुल, पुरानो बानेश्वर भीमसेनगोलाहुँदै सिनामंगल सडक, कालीमाटीदेखि सोल्टी मोडहुँदै कलंकीसम्म लगायतका दर्जनौँ स्थान पैदलमार्ग निर्माण तथा मर्मत गर्न लागेको हो ।

काठमाडौँ महानगरपालिका क्षेत्रभित्र करिब १ हजार ३ सय किलोमिटर सडक सञ्जाल छ । यसमध्ये ८ मिटरभन्दा कम चौडाइ भएको १ हजार किलोमिटर सडक महानगरपालिकाको स्वामित्वमा छ । बाँकी सडक संघीय सरकारअन्तर्गतको डिभिजन सडक कार्यालयको स्वामित्वमा छ ।