नेप्सेको गिरावट जारी, घट्यो लगानीकर्ताको मनोबल


काठमाडौं । साताको कारोबारको दोस्रो दिन सेयरबजार दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार सेयर मापक सूचक नेप्से परिसूचक १२.५८ अंकले घटेर १९०८.६६ अंकमा झरेको छ ।

नेपाल राष्ट्रबैंकको सर्कुलरले सेयरबजारमा केही राहत पुग्छ भन्ने आशमा बसेका लगानीकर्ता अहिले आहत बनेको सेयरबजारका विज्ञहरु बताउँछन् ।

सेयर धितो कर्जामा राष्ट्रबैंकले १२ करोडको क्यापमा संसोधन त ग¥यो तर उक्त संसोधनले बजारमा कुनै प्रभाव नपार्ने हुँदा लगानीकर्ताको मनोबल घटेको उनिहरुको तर्क छ ।

सेयरबजारको मुख्य समस्यामा राष्ट्रबैंकले नजरअन्दाज गरेको गुनासो लगानीकर्ताको छ ।

सोमबार नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये २ वटा उपसमुहको सेयरमूल्य बढेको छ भने बाँकी उपसमुहको सेयरमूल्य घटेको छ ।

आज कारोबार रकमका आधारमा नबिल बैंक अग्रस्थानमा रहेको छ । बैंकको ३ करोड ५१ लाख ४५ हजार ३ सय ६९ रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै आजको दिन सयपत्री हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य ६.८८ प्रतिशतले बढेको छ ।

त्यस्तै आजको दिन बाराही हाइड्रपावर पब्लिक लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेर नकरात्मक सर्किट लागेको छ ।

कुल २८७ कम्पनीको ४३ लाख २७ हजार १ सय ७९ कित्ता सेयर किनेबेच हुँदा १ अर्ब १७ करोड १ लाख ७२ हजार ७ सय २२ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।