आज ४३ औं विश्व खाद्य दिवस


काठमाडौँ । आज ४३ औं विश्व खाद्य दिवस नेपाल लगायत विश्वभर मनाइदै छ। विश्वव्यापी रूपमा स्वच्छ, पोषणयुक्त सन्तुलित भोजनको महत्त्व बारे जनचेतना जगाउन वर्षेनी यो दिवस मनाइदै आइएको छ। 

यो वर्षको विश्व खाद्य दिवसको नारा ‘जीवन र खाद्यको आधार पानी हो’ रहेको छ । अक्टोबर १६ मा हरेक वर्ष फरक फरक नारा तय गरेर संयुक्त राष्ट्र संघ खाद्य तथा कृषि संगठन(एफएओ)ले यो दिवस प्रवर्धन गर्दै आएको छ। 

नेपालमा खाद्यका लागि कृषि अभियानले दिवसको सन्दर्भ पारेर वर्षेनी महिनाव्यापी रूपमै मनाउदै आएको छ भने कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतको कृषि विभागले छुट्टै समिति गठन गरेर दिवस मनाइने गरेको छ। मुल दिवसको दिन चाडबाड र बिदाको समय पर्ने भएकाले दिवसको सन्दर्भ पारेर अगाडि वा पछाडी पनि दिवस मनाइने गरेको छ। 

खाद्य अभियानकर्ताहरुको समन्वयमा मनाइने यो वर्षको खाद्य दिवसको मुल कार्यक्रम चितवनमा मनाइएको छ। खाद्यका लागि कृषि अभियानको आयोजना, खाद्य दिवस मुल समारोह समिति नेपाल, कृषि तथा वन विज्ञान विश्वविद्यालय, जिल्ला प्राङ्गारिक संघ चितवन, चितवन कचेहेरी, बेटर चितवन, कृषि तथा वन विज्ञान विश्वविद्यालय आवद्ध संघसंस्थाहरु र रामपुर क्याम्पस खैरेहेनी आवद्ध संघसंस्थाहरुको सहकार्यमा दिवस मनाइएको हो। यसका साथै देशभर नै छुट्टा छुट्टै कार्यक्रमकाे आयाेजना गरी दिवस मनाइएकाे छ।

भोकमरीबाट पीडित वर्गलाई उत्थान गर्नका लागि गरिने विभिन्न कार्यहरुलाई प्रवर्द्धन गर्न तथा सबैका लागि स्वास्थ्य आहार सुनिश्चित गर्नेतर्फ सरोकारवाला पक्षलाई ध्यानाकर्षण गर्न दिवस मनाइने गरेको हो । दिवसले खाद्य स्वच्छता र सुरक्षाको सवाल बारे सरोकारवालाको ध्यानाकर्षण गर्ने भएकाले पनि हरेक वर्ष मनाइदै आइएको खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारीले बताए । 

चितवनमा विभिन्न कार्यक्रम गरी अभियानको संयोजकत्वको खाद्य दिवस मुल कार्यक्रम मनाइएको हो । खाद्यका लागि कृषि अभियानको सहकार्यमा शिल्पी थ्रिएटरले निर्माण गरेको नाटक सट्टापट्टा काठमाडौँ र चितवनमासमेत प्रदर्शन गरिएको छ । पर्यावरण, माटोे र मानव स्वास्थ्यका समकालिन संकट बोकेको नाटक प्रदर्शन गरि नाटकको विषयमा सहभागिसँग छलफल गरिएको थियो । 

कृषि उत्पादनका विभिन्न जोखिमका कारण सन् २०३० सम्ममा विश्वका करिब ६० करोड मानिस दीर्घकालीन रूपमा कुपोषित हुने अनुमान गरिएको छ जसले भाकेमारी उन्मूलनका लागि दिगो विकास लक्ष्य हासिल गर्ने ठूलो चुनौती रहेको सङ्केत गरेको कृषि विभागले जनाएको छ । विभागका महानिर्देशक हरि बहादुर केसीको संयोजकत्वमा काठमाडौँमा मूल समारोहको आयोजना गरी दिवस मनाइएको छ। 

राष्ट्रिय जनगणना तथा घरपरिवार सर्वेक्षण २०७८ अनुसार नेपालमा करिब ५७ प्रतिशत घरपरिवारले मात्र प्रशोधित पिउने पानीको पहुँच प्राप्त गरेको देखिन्छ । त्यसै गरी नेपालमा कृषक परिवारले चलन गरेको जग्गा मध्ये सिँचाई सुविधा भएको जग्गाको क्षेत्रफल ५४।४ प्रतिशत मात्र रहेको छ।  

खाद्य सुरक्षाको अवधारणा विश्वव्यापीरुपमा सन् १९७० को मध्य दशकमा विकसित भएको हो । सज् १९७४ मा भएको विश्व खाद्य सम्मेलनले खाद्य सुरक्षालाई उत्पादन मूल्यमा हुने घटबढ र खाद्य उपभोगमा हुने वृद्धिलाई धान्न सक्ने आधारभूत खाद्य वस्तुको सबै समयमा विश्वव्यापी आपूर्तिलाई परिभाषित गरेको छ भने सन् १९८३ मा विश्व खाद्य तथा कृषि सङ्गठनले प्रत्येक व्यक्तिलाई आवश्यक पर्ने आधारभूत खाद्यान्नमा भौतिक पहुँच हुनुपर्नेमा जोड दिएको छ।