पोखरामा नेपालकै पहिलो ठूलो मोटरबाइक रेस हुने


काठमाडौँ । पोखरामा नेपालकै पहिलो ठूलो मोटरबाइक रेस ‘फिसटेल रेसिङ कप २०२३’ हुने भएको छ । नेपालको मोटर स्पोर्टस संस्था (नासा) सँग आवद्ध भिआर–४६ मोटर स्पोर्टस प्रालीले उक्त प्रतियोगिता यहि मंसिर ८देखि ९ गते गर्न लागेको हो । इटालियन रेसिङ टिमको नेपाल शाखाको रूपमा रहेको भिआर–४६ मोटर स्पोर्टसका प्रवन्ध निर्देशक माइकल थापाका अनुसार उक्त प्रतियोगितामा करिब १ सय भन्दा बढि प्रतियोगीहरूको सहभागिता हुने छ ।

पोखरा रंगशालामा आयोजना हुने प्रतियोगिता नेपालकै पहिलो ठूलो बाइक रेस भएको जनाउँदै थापाले यो प्रतियोगिताले पोखराको आन्तरिक र बाह्य पर्यटनका लागि समेत महत्वपूर्ण रहेको बताए । उनले भने,“अब पोखरा हिमाल र तालले मात्रै चिनिने छैन सहाशिक खेलकुदको उत्कृष्ट खेल मध्येको एक बाइक रेसले पनि विश्वमा चिनिने छ ।”

नेपालमा बाइक संस्कृतिको इतिहास लामो भए पनि यसको खेलकुदको संस्कृति नयाँ भएको जनाउँदै धेरेको रुचीको विषय समेत भएकोले प्रतियोगितालाई ठूलो आकारमा आयोजना गर्न लागिएको प्रवन्ध निर्देशक थापाले बताए ।

प्रतियोगिताको तयारी सुरु भएको जनाउँदै उनले भने, “नेपालको बाइक रेसको इतिहासमा नै वृहत् मोटरबाइक रेस नेपालकै ठूलो ट्रयाक पोखरा रंगशालामा आयोजना हुनेछ । यसले बाइक रेस के हो भन्ने चिनाउने सँगै यूवा खेलाडीहरूलाई यसतर्फ आकर्षण गराउन समेत प्रभावकारी हुनेछ ।”

प्रतियोगितामा प्रथम, द्वितिय र तृतिय हुने खेलाडीलाई क्रमश जनही नगद रु १ लाख, ७५ हजार र ५० हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । विजेता तिनै जना खेलाडीलाई अन्तर्राष्ट्रिय बाइक रेसको अवसर समेत प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिता सम्पन्न गर्न ३५ लाख खर्च हुने जनाउँदै आयोजकले उक्त प्रतियोगिता अवलोकनका लागि टिकटको समेत व्यवस्था गर्न लागेको छ । साधारण तर्फ २ सय र भिआइपीतर्फ १ देखि ५ हजार सम्मको टिकट विक्रि गरिने प्रवन्ध निर्देशक थापाले जानकारी दिए । नेपाली बाइक रेसको इतिहास टिकटको व्यवस्था समेत पहिलो हो ।

प्रतियोगितामा १५० सिसी र ६०० सिसी गरि दुई प्रकारका बाइकहरूको प्रयोग हुने छ । जिल्ला खेलकुद विकास समिति कास्कीमा स्विकृती लिएर आयोजित उक्त बाइक रेस पोखरा रंगशाला भित्र रहेको कालोपत्रे सडक भित्र सञ्चालन हुनेछ ।