सोनापुर मिनरल्सको सेयर कारोबार खुल्यो, पहिलो दिनमै नकरात्मक सर्किट


काठमाडौं । धितोपत्र दोस्रो बजारमा सोनापुर मिनरल्स एन्ड आयलको सेयर कारोबार आजबाट खुलेको छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले तोकेको रेन्जभित्र आज स्पेसल प्रि–ओपन सेसन सेयर किनबेच भएपछि कम्पनीको कारोबार नियमित सत्रका लागि खुलेको हो।

प्रि–ओपनमा यो कम्पनीको सेयर प्रतिकित्ता ३५० रुपैयाँमा किनबेच भएको छ ।

नेप्सेले पहिलो कारोबारका लागि ओपनिङ रेन्ज प्रतिकित्ता न्यूनतम १४२.०१ रुपैयाँदेखि अधिकतममा ४२६.०३ रुपैयाँ तोकेको थियो।

तर कारोबार सुरु भएकै पहिलो दिन कम्पनीको सेयरमूल्यमा नकरात्मक सर्किट लागेको छ ।

प्रतिकित्ता ३५० रुपैयाँमा कारोबार सुरु भएको कम्पनीको सेयरमूल्य १० प्रतिशत अर्थात ३५ अंकले घटेर ३१५ रुपैयाँमा आजको कारोबार बन्द भएको छ ।

कम्पनीको सेयर क्रेता भन्दा बिक्रेता धेरै भएपछि मूल्य घटेको लगानीकर्ताहरु बताउँछन् । कम्पनीको सेयरको बिक्री अर्डर बढेको छ भने खरिद शुन्य रहेको छ ।