कार्तिक १४ देखि ललितपुरमा गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी,करोड बढीको कारोबार गर्ने लक्ष्य


काठमाडौं । फ्लोरिकल्चर एसाेसिएसन नेपाल (फ्यान)ले गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीको आयोजना गर्ने भएको छ ।

एसाेसिएसनले नजिकिदै गरेको तिहार तथा छठ पर्वलाई लक्षित गर्दै गोदावरी फूलको व्यावसायिक प्रवर्द्धन गर्न, समय अनुकूल पुष्पको जातीय विकास एवं गुणस्तरीय उत्पादनमा सहयोग पुर्‍याउन १६ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी-२०८० आयोजना गर्ने भएको हो ।

‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि’ भन्ने नाराका हुने उक्त प्रतियोगितात्मक प्रदर्शनी यहि कार्तिक १४ देखि १८ गतेसम्म जावलाखेलको खेल मैदान, ललितपुरमा सञ्चालन फ्लोरिकल्चर एशोसिएसन नेपालले जनाएको छ ।

पुष्प विकास केन्द्र सह-आयोजक रहेको उक्त प्रदर्शनीमा कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवर्द्धन केन्द्रको सहयोग रहेको छ भने सेवा कोकोपिटले प्रयोजन गरेको छ ।

यसैगरी कृषि विकास बैंक बैंकिङ साझेदार रहेको एशोसिएनसले जनाएको छ ।

प्रदर्शनीमा व्यवसायिक स्टल ५५, प्रतियोगितात्मक स्टल र र सूचनामूलक ५ गरि जम्मा ६२ वटा प्रदर्शनी कक्ष रहने छन् ।

यो प्रदर्शनी गोदावरी फूलको प्रतिस्पर्धात्मक प्रदर्शनी समेत रहेकोले गोदावरी फूलको ५ वटा प्रजातीमा प्रतिस्पर्धा गराई पुरस्कृत गर्ने फ्यानका अध्यक्ष मिनबहादुर तामाङले बताए ।

“प्रतिस्पर्धा हुने गोदावरीको प्रजातीहरूमा १० मिनियचर, २० स्पाईंडर, ३० रिफ्लेक्स, ४० ईन्कर्म र ५० गोदावरीको कट फ्लावर प्रजाती रहेको छ,” उनले भने, “मेलामा सहभागी भएको नर्सरी व्यवसायीहरुलाई उत्साह थप्नका लागि उत्कृष्ठ स्टल तर्फ पनि प्रतिस्पर्धा गराईने छ। प्रतिस्पर्धामा प्रथम, दोस्रो, तेस्रो तथा उत्कृष्ठ हुने नर्सरी र फर्मलाई सिल्ड, नगद तथा प्रमाण पत्रद्वारा पुरस्कृत गरिने छ।”

बिगतमा ४ दिने मेला हुने गरेकोमा यस वर्ष १ दिन थप गरी ५ दिने मेला आयोजना हुनेभएको छ ।

गोदावरी फूलको प्रदर्शनीमा ४० हजार बढिले प्रत्यक्ष अवलोकन गर्ने साथै एक करोड भन्दा बढिको व्यवसायिक कारोबार हुने अपेक्षा गरिएको अध्यक्ष तामाङले बताए।

हाल नेपालमा ४८ जिल्लाको करिब २२१ हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय भईरहेको फ्यानको तथ्याकं छ । पुष्प व्यवसायमा प्रत्यक्ष तथा अप्रत्यक्ष गरी ४४ हजार भन्दा बढि जनशक्ति रोजगारमा संलग्न छन् ।