देशका ३८ प्रतिशत परिवार बैंकिङ पहुँच बाहिर


काठमाडौं । देशका ३८ प्रतिशत नागरिक बैंकिङ पहुँचभन्दा बाहिर रहेको पाइएको छ । हालै सम्पन्न जनगणना-२०७८ अनुसार देशभरका कुल ६६ लाख ६० हजार ८४१ परिवारमध्ये ४१ लाख २२ हजार ६९० अर्थात् ६१.८९ प्रतिशत परिवारमा कम्तिमा १ जना सदस्यको बैंक तथा वित्तीय संस्थामा खाता छ ।

सबैभन्दा कम बैंकिङ पहुँच मधेश प्रदेशमा देखिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले जारी गरेको विवरणअनुसार मधेश प्रदेशका ४९.२१ प्रतिशत परिवारको कसैको पनि बैंक खाता छैन । मधेश प्रदेशमा ५०.७९ प्रतिशत परिवारको मात्र कम्तिमा १ जना सदस्यको बैंक तथा वित्तीय संस्थामा खाता छ ।

यस्तै, कर्णालीका ४४.४७ प्रतिशत घर परिवारको बैंक खाता छैन भने सुदूरपश्चिमका ३९.६६ प्रतिशत घर परिवारको बैंकमा खाता छैन । कर्णाली प्रदेशमा ५५.५३ प्रतिशत परिवारमा कम्तिमा १ जना सदस्यको बैंक तथा वित्तीय संस्थामा खाता छ भने कर्णाली प्रदेशमा ६०.३४ प्रतिशत परिवारको बैंक खाता छ ।

यसरी नै, कोशी प्रदेशका ४४.११ प्रतिशत परिवारको बैंक खाता छैन भने बागमती प्रदेशका २७.४६ प्रतिशत र गण्डकी प्रदेशका २७.६० प्रतिशत घरपरिवारको कसैको पनि बैंक खाता छैन । कोशी प्रदेशमा ५५.८९ प्रतिशत परिवारमा कम्तिमा १ जना सदस्यको बैंक तथा वित्तीय संस्थामा खाता छ भने बागमती प्रदेशमा ७२.५४ प्रतिशत र गण्डकी प्रदेशका ७२.४० परिवारको कम्तिमा १ जना सदस्यको बैंक खाता छ ।

यसै गरी कुल २ करोड ९१ हजार ६४ हजार ५७८ जनसंख्यामध्ये ७४ लाख ९ हजार १८१ जना अर्थात् २५.५६ प्रतिशत व्यक्तिको बैक तथा वित्तीय संस्था (सहकारी संस्था बाहेक) मा कम्तिमा एउटा खाता रहेको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार देशभरिका कुल १ करोड ४२ लाख ५३ हजार ५५१ जना पुरुषमध्ये २६.४२ प्रतिशत र कुल १ करोड ४९ लाख ११ हजार २७ जना महिला मध्ये २४.७४ प्रतिशतको बैंक तथा वित्तीय संस्थामा कम्तिमा एउटा खाता छ ।

काठमाडौंको कीर्तिपुर नगरपालिका लगभग सत प्रतिशत परिवारको बैंक खाता भएको पालिका हो भने जाजरकोटको जुनीचाँदे गाउँपालिका सबैभन्दा कम परिवारको बैंक खाता भएको पालिका हो । त्यहाँका १६.२७ प्रतिशत परिवारको मात्र बैंक खाता छ । बझाङको बित्थडचिर गाउँपालिकाका १७.८८ प्रतिशत परिवारको मात्र बैंक खाता छ ।

पालिकाभरिका परिवारमध्ये ८० प्रतिशतभन्दा बढी बैंकमा खाता नहुने परिवार बढी रहेका पालिकाहरूमा कोशीको साँघुरीगढी गाउँपालिका, धनकुट्टा ८०. ६४ प्रतिशत,  मेन्छ्यायेम गाउँपालिका, तेह्रथुम ८१.३९ प्रतिशत, मधेशको कौडिन्य गाउँपालिका, सर्लाही ८०.७० प्रतिशत रहेका छन् ।
देशभरका कुल परिवारमध्ये २५.५९ प्रतिशत परिवारले कुनै बैंक तथा वित्तीय संस्था वा सहकारी संस्थाबाट ऋण लिएको पाइएको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ । त्यस्ता ऋण लिने परिवार सबैभन्दा बढी मधेश प्रदेशमा २८.८८ प्रतिशत र सबैभन्दा कम सुदुरपश्चिम प्रदेशमा २१.९६ प्रतिशत छ।

काठमाडौंमा पनि १७ प्रतिशतको बैंक खाता छैन

देशकै राजधानी काठमाडौं जिल्लामा पनि १७. ३३ प्रतिशत परिवारको बैंकमा कुनै पनि खाता नभएको राष्ट्रिय जनगणनाको विवरणबाट देखिन्छ । काठमाडौं महानगरपालिकाभित्रै १६.२७ प्रतिशत परिवारकै कुनै बैंक खाता छैन ।

काठमाडौंका पालिकाहरूमध्ये कीर्तिपुर नगरपालिकामा ९९.४४ प्रतिशत परिवारको बैंकमा खाता रहेको पाइएको छ भने नागार्जुन नगरपालिकामा ८८.५८ प्रतिशत, कागेश्वरी मनहरा नगरपालिकामा ८५.७९ प्रतिशतको बैंक खाता रहेको छ ।

यसैगरी, तारकेश्वरमा ८४.३७ प्रतिशतको, टोखामा ८४.११ प्रतिशत परिवारको बैंक खाता हुँदा काठमाडौं महानगरपालिकाभित्र ८३.७३ प्रतिशत परिवारमध्ये कसैको बैंक खाता छ ।

गोकर्णेश्वर नगरपालिकामा सबैभन्दा कम ६२.९४ प्रतिशतको मात्र बैंक खाता छ ।