स्टार्टअप प्रवर्द्धनमा युवा उद्यमी मञ्च


नेपालमा युवाहरू विभिन्न नयाँ सोच लिएर उद्यममा जोडिने क्रम बढ्दो रूपमा छ। स्टार्टअपको माध्यमबाट विभिन्न सोच लिएर उद्यममा आउनेको संख्या पनि उत्तिकै छ ।

नेपालमा आआफ्ना क्षेत्रमा क्रियाशील उद्योगी–व्यावसायी संगठित छन् र वस्तुगत तथा क्षेत्रगत ढंगले क्रियाशील भए पनि उमेर समूहगत हिसाबले पनि युवा पंक्ति क्रियाशील छ । नवीनतम सोच र नेतृत्व विकास गरिरहेको युवा उद्यमी पंक्तिको सार्वजनिक प्रभाव र चर्चा भने कम देखिन्छ । यद्यपि आफ्नो क्षेत्रमा क्रियाशीलता निरन्तर बढाइरहेको छ । यसैअन्तर्गत नेपाल उद्योग परिसंघ, युवा उद्यमी मञ्च (सीएनआईवाईइएफ) छ, नेपाल उद्योग वाणिज्य महासंघमा पनि समान प्रकृतिको मञ्च छ । दुवैले युवा उद्यमीले माथिल्लो नेतृत्वमा जान तयारी थलो वा ‘इन्क्युबेटर’को रूपमा काम आएको छ ।

सीएनआईको युवा उद्यमी मञ्चको वार्षिक साधारण सभाले गोयल ग्रुपका प्रबन्ध निर्देशकसमेत रहेका अनुराग गोयललाई सन् २०२३/२०२४ का लागि अध्यक्षको जिम्मेवारी दिएको छ । भारतस्थित सिम्बायोसिस इन्टरनेसनल यूनिर्भसिटीबाट फाइनान्समा स्नातकोत्तर तहको अध्ययन गरेका गोयल व्यवसायमा सन् २०१० देखि जोडिएका हुन् । उनी अहिले उत्पादनमूलक उद्योग,बैंक, वित्त तथा रियल स्टेट, खानी, जलविद्युतलगायतका क्षेत्रमा क्रियाशील छन् । 

मञ्चले युवा उद्यमीहरूलाई प्रोत्साहन, प्रबद्र्धन गर्नेलाई पहिलो प्राथमिकता राखेको छ र विभिन्न समयमा सहयोग गर्ने कार्यक्रम गर्छ । स्टार्टअप र उत्पादन क्षेत्रमा प्रोत्साहन गर्ने काम गरिरहेको मञ्चले आफ्ना सदस्यलाई कसरी अनुभव दिन सकिन्छ भनेर विभिन्न कार्यक्रम गर्दै आइरहेको छ । यसलाई थप सुदृढ बनाउने जिम्मा अध्यक्ष गोयलको छ । अन्तर्राष्ट्रिय रूपमा चर्चित व्यक्तित्वहरूलाई बोलाएर कार्यक्रम गर्ने, व्यावसायिक व्यक्तित्वहरूसँग कसरी उपलब्धि हासिल गरे ? उनीहरूसँग अनुभव लिने कार्यक्रम मञ्चले गर्दै आइरहेको छ ।

 व्यवसाय सुरुवात गर्नेलाई सहयोग

नवप्रर्वद्धकहरूलाई सहयोग गर्न तथा आइडिया के हो ? नवप्रर्वद्धकहरू के हुन् भनेर परिभाषा गर्नको लागि मञ्चले ‘स्टार्टअप चेयर’ नै बनाएको छ । 

नेपालमा नवप्रर्वद्धकहरूले आफ्नो कम्पनीको मूल्याङ्कन गर्न नसक्ने अवस्था छ । यो एउटा मुख्य चुनौती बनेको छ । कम्पनीको मूल्य कम हो कि बढी ? के हो भनेर थाहा पाउनको लागि ‘स्टार्टअप फेस्ट’ मञ्चले गर्ने गर्दछ । अध्यक्ष गोयलले भने,“स्र्टाटअपहरूलाई उत्साहित गर्न हामीले फेस्ट गरेका थियौँ । यसले केही लगानी पनि जुटाइदिएका थियौँ ।”

नेपालमा उद्यमको सुरुवात गर्न कानुनी र संरचनागत झन्झटको गुनासो सधैँ सुनिने गर्छ । धेरै सरकारी संस्था धाउनुपर्ने र अन्तिममा नसकिने स्थितिसमेत बन्छ । गोयलले भने, “एउटा मात्र ठाउँमा दर्ता नभई धेरै ठाउँमा दर्ता गर्नुपर्ने अवस्था छ । जसले गर्दा युवाहरू कम्पनी दर्ता गर्न जाने तर पछि नहुने समस्याले गर्दा पनि निराश भएर पलायन हुने अवस्था आएको छ । यसले काम गर्न असजिलो हुन्छ ।” 

युवा उद्यमीहरूलाई दृढ आत्मविश्वासका साथ काम गर्ने गरी नीतिगत सुधार गर्दै प्रोत्साहन गर्नुपर्ने अर्को चुनौती छ । छोटो समयमा तत्कालै निर्णय खोज्ने पुस्ता हुँर्किदै छ । नयाँ पुस्तासँग समन्वय गर्ने सरकारी संरचनासँग सहजीकरण गर्नुपर्ने चुनौती छ । गोयलले यो अफ्ठेरो रहेको स्वीकार गरे । उनले भने,“विश्व डिजिटल रूपमा अगाडि बढिरहेको अवस्थामा पनि नेपाल भने कागजी रूपमा नै काम गर्दै आइरहेको छ । त्यसैको असर पनि विभिन्न सरकारी कामहरूमा पर्ने गरेको छ । यसले गर्दा छोटो समयमा नै निर्णय खोज्ने युवापुस्ता मारमा परेका छन् ।” 

मञ्चका काम

सिएनआईवाइइएफले ‘इन्कुबेसन सेन्टर’ सुरु गरेको छ । सीएनआई, सीएनआईवाईइएफ र टिम भेन्चर्स मिलेर नेपालको पहिलो ‘इन्कुबेसन सेन्टर ग्रोथएक्स एभरेस्ट’ भनेर सुरुवात भएको छ । मञ्चले भारतबाट इन्कुबेटर बोलाएर स्टार्टअपहरूलाई सिकाउने गरेको छ । स्टार्टअपका चुनौती, यसका लागि के के गर्न हुने ? के के गर्न नहुने ? व्यावसायिक आइडियालाई कसरी ठुलो बनाउन सकिन्छ भनेर दश जना स्र्टाटअप संस्थाहरूका सञ्चालकलाई राखेर तालिम दिएको छ । स्टार्टअप फेस्टबाट निस्किएका, स्थापित भइसकेकाहरू यसमा संलग्न छन् । पहिलो काम उदाहरणीय बनाउनको लागि तालिम दिइरहेको गोयलले बताए । गोयलका अनुसार हरेक वर्ष दुई पटक तालिम दिने र यसको अवधि ६ महिना हो । 

नेपालमा युवाहरू विभिन्न नयाँ सोच लिएर उद्यममा जोडिने क्रम बढ्दो छ । स्र्टाटअपको माध्यमबाट विभिन्न सोच लिएर उद्यममा आउनेको संख्या पनि उत्तिकै छ । सानो उद्यमबाट नै ठुलो सपना देखिरहेका नेपालीको पनि संख्या उत्तिकै छ । सानो उद्यमबाट स्थापित कम्पनी पनि बनिरहेका छन् । अध्यक्ष गोयलले भने,“नेपालमा नयाँ सोच लिएर युवाउद्यमीहरू आइरहनु भएको छ । उहाँहरूलाई उत्प्रेरित गरेपछि उदाहरण हेरेर उद्यममा लागिरहनु भएको छ । हामीले राम्रो काम गरिरहेकाहरूलाई अवार्डहरू दिएर पनि काम गरिरहेका छौँ । युवाहरूलाई व्यापार गर्न हामीहरूले उत्प्रेरणा गरिरहेका छौँ ।” 

सरकारसँग विभिन्न नयाँ व्यवसायहरूका बारेमा र ऐन, नियम बनाउन मञ्चले छलफल गर्दै आइरहेको छ । इ–कर्मश, स्टार्टअप, योजनाको ऐन बनाउँदा सरकारलाई के के चाहिन्छ, के के राख्ने भनेर मञ्चले सुझाव पनि दिँदै आइरहेको छ ।

सरकारले नीति नियम बनाउँदा सानादेखि ठुला उद्योग हेरेर र युवाहरूले सुरुवात गरेको कामलाई सहयोग पुर्‍याउने गरी बनाउन झक्झक्याउपनुपर्ने छ । “युवाहरूले केही नयाँ कामको सुरुवात गर्दा सुरुमा समस्या हुन्छ । यसमा सरकारको नीतिले पनि फरक पार्छ । घरमा साना उद्योग सञ्चालन गरिरहेकाहरूलाई पनि समस्या पर्न सक्छ । त्यसलाई र ठुला उद्यमी सबैलाई हेरेर नीति नियम बनाउनुपर्छ,” उनले भने,“सरकारले नेपालमै केही गरौँ भन्नेलाई विदेश पलायन हुनबाट रोक्नुपर्छ । नीति नियम बनाउँदा पनि युवालाई ध्यानमा राखेर बनाउनुपर्छ ।”

(टक्सार म्यागजिन २०८०, भदाै अंकबाट)