पलास्टिकजन्य मालाहरूको बिक्री वितरण नगर्न आग्रह


रोल्पा । रोल्पाको सुनिलस्मृति गाउँपालिकाले पलास्टिकजन्य मालाहरूको बिक्री वितरण नगर्न आग्रह गरेको छ ।

सूचना जारी गर्दै गाउँपालिकाले प्राकृतिक फूलको माला खरिदबिक्री गर्न र प्लास्टिकजन्य मालाहरूको बिक्रीवितरण नगर्न आग्रह गरेको हो ।

अध्यक्ष मणिराम बुढाथोकीले जारी गरेको सूचनामा भनिएको छ,“भाइटीकाको दिन प्रयोग हुने माला सम्बन्धमा प्लास्टिकजन्य सामाग्रीको प्रयोगलाई निरुत्साहित गरी स्थानीइस्तरको पुष्प खेती प्रर्वद्धन गर्ने हेतुले प्राकृतिक फूलको माला खरिदबिक्री गर्नु हुन तथा पलास्टिकजन्य मालाहरूको बिक्री वितरण नगरिदिनुहुन समेत यस गाउँपालिका क्षेत्रभित्र व्यवसाय सञ्चालन गर्नुहुने सम्पूर्ण व्यावसायीहरूमा हार्दिक अनुरोध छ ।”

पछिल्लो समय स्थानीय तहहरूले प्लास्टिकजन्य मालाहरूको बिक्रीवितरणलाई निरुस्ताहित गर्न थालेका छन् । प्राकृतिक फूलको साटो प्लास्टिकजन्य मालाको प्रयोग बढ्न थालेपछि पालिकाहरूले रोक्ने प्रयास गरेका हुन् ।

यस वर्षको तिहारमा ४० लाख भन्दा बढी थान मालाको खपत हुने अनुमान छ । नेपाल फ्लोरिकल्चर एसोसिएसनले नेपाली उत्पादनले ८० प्रतिशत माग धान्ने बताएको छ ।

२० प्रतिशत अझै आयात गर्नुपर्ने अवस्था रहे पनि स्थानीय उत्पादनलाई प्रोत्साहन गर्दा अझै प्रभावकारी हुने एसोसिएसनको भनाई छ ।

सुनिलस्मृति गाउँपालिकाले आर्थिक वर्ष २०८०/0८१ को नीति तथा कार्यक्रममा पुष्प व्यवसाय पकेट क्षेत्र सञ्चालन गरी पुष्प व्यवसयायको प्रवद्र्धन गर्ने नीति लिएको छ ।