दशैंमा ६० अर्ब रुपैयाँ बराबरको नगद चलायमान


काठमाडौं । नेपालीहरूको प्रमुख चाड बडादशैंमा ६० अर्ब रुपैयाँ नगद चलायमान भएको पाइएको छ । यो बैंकिङ प्रणालीबाट निकालेर कारोबारमा पठाइएको नगदको अनुपातमात्र हो ।

नेपाल राष्ट्र बैंकका अनुसार २०८० असोज २५ गते चलनचल्तीमा रहेको नोटको अनुपात ६ खर्ब २९ अर्ब ३९ करोड रुपैयाँ रहेकोमा यो अनुपात कात्तिक १० गते ६ खर्ब ८९ अर्ब ८ करोड रुपैयाँ पुगेको हो ।

दशैंमा निजामती कर्मचारी, सेना-प्रहरी, शिक्षकसहित सरकारी कर्मचारीका साथै बैंक, वित्तीय संस्था, बिमा कम्पनीसहित संगठित क्षेत्रका निजी कम्पनीहरूले पनि एक महिना बराबरकै चाडवाड खर्च दिने भएकाले बैंकिङ प्रणालीबाट ५९ अर्ब ६८ करोड रुपैयाँ बाहिरिएको हो ।

सर्वसाधारणले पनि बचतका रुपमा राखेको रकममध्ये केही रकम दशैं-तिहारजस्ता चाडबाडमा निकाल्ने गर्छन् । यद्यपि यो वर्ष भने निजी क्षेत्रका कतिपय संगठित संस्थाले आर्थिक मन्दीको कारण जनाउँदै अतिरिक्त चाड खर्च नै दिएनन भने बजारमा सर्वसाधारणले उपभोगका लागि समेत कम रकम निकाल्नाले बजारमा उति आर्थिक क्रियाशिलता देखिएन ।

झन्डै ७ खर्ब रुपैयाँका नोट जारी

असोज १० गतेसम्म नेपाल राष्ट्र बैंकद्वारा जारी नोट ६ खर्ब ९६ अर्ब २८ करोड रुपैयाँ पुगेको छ । यसमध्ये ६ खर्ब ८९ अर्ब ८ करोड रूपैयाँ चलनचल्तीमा पठाइएको छ भने राष्ट्र बैंकको बैंकिङ कार्यालयमा ७ अर्ब २० करोड रुपैयाँ बराबरको नोट सञ्चितमा रहेको राष्ट्र बैंकले बताएको छ ।

योसहित २००२ सालदेखि हालसम्म भएको नेपाली नोटको कुल अनुपात १६ खर्ब रुपैयाँ नाघेको छ, जसमध्ये करिब ७ खर्ब रुपैयाँबराबरको झुत्रा नोट जलान भइसकेको छ ।

बैंकमा अझै फर्केन नगद

कात्तिक १० गतेदेखि बैंकहरू खुला भए पनि बैंकिङ प्रणालीबाट बाहिरिएको नगद अझै फर्कन नसकेको राष्ट्र बैंकको विवरणबाट देखिन्छ । कात्तिक १० गते राष्ट्र बैंक बाहिर रहेको चलनचल्तीको नोट ६ खर्ब ८९ अर्ब ८ करोड रूपैयाँ रहेकोमा कात्तिक ६ गते ६ खर्ब ८४ अर्ब ८० करोड रूपैयाँ रहेको देखिन्छ ।

नेपाल राष्ट्र बैंकका सूचना अधिकारी डा. डिल्लीराम पोखरेल बैंकिङ प्रणालीमा नगद फर्कन समय लाग्ने गरेको बताउँछन् ।