उत्कृष्ट ५ स्टार्टअप, प्रडक्ट र राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड २०२३ को घोषणा


काठमाडौँ । प्रविधि क्षेत्रको सबैभन्दा प्रतिष्ठित र लोकप्रिय रहेको आइसिटी अवार्ड कार्यक्रम अन्तर्गत यस वर्षको लागि विभिन्न ३ विधामा उत्कृष्ट ५ को सार्वजनिक गरिएको छ ।

स्टार्टअप आइसिटी अवार्ड २०२३, प्रडक्ट आइसिटी अवार्ड २०२३ र राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड २०२३ विधामा १४ जना जुरी सदस्यहरुको छनौटको आधारमा उत्कृष्ट ५ को घोषणा गरिएको हो ।

उत्कृष्ट ५ मा पर्ने स्टार्टअपहरुमा भोजमाण्डु फुड प्रा.लि, दियो एआई टेक्नोलोजी प्रा.लि, जीजी कर्पोरेसन प्रा.लि, रासन टेक्नोलोजिज प्रा.लि र यार्सा टेक प्रा.लि रहेका छन् । यसैगरी प्रडक्ट आइसिटी अवार्ड अन्तर्गत उत्कृष्ट ५ प्रडक्टहरुमा डिजी बज, फास्ट बैंकिङ, मनि मित्र, क्युकआरपिए र यात्री पी १ रहेका छन् । राइजिङ स्टार इन्नोभेसन विधा अन्तर्गत उत्कृष्ट ५ मा पर्न सफल इन्नोभेसनहरुमा ब्लाङ्सेर, ड्रेसन, द्रिश्य, इन्टर्नसाथी र प्रष्ट नेपाली रहेका छन् ।

आइसिटी अवार्ड २०२३ का यि ३ विधाहरुमा २०० बढिको नोमिनेसन प्राप्त भएको थियो । उत्कृष्ट १२ स्टार्टअप, १३ राइजिङ स्टार र १४ प्रडक्टले गत असोज १९ र २० गते काठमाडौंमा आयोजना भएको स्टार्टअप एण्ड आइडिया फेस्टमा सहभागी भएर प्रडक्ट र स्टार्टअप प्रदर्शनीमा राखेका थिए ।

यसैगरी उनिहरुले असोज २७ गते आयोजना भएको ग्राण्ड जुरी सेसन अन्तर्गत प्रिजेन्टेसन एण्ड स्पिड डेटिङमा पनि सहभागी भएर प्रस्तुती दिएका थिए । उनिहरुको प्रस्तुती, आइडिया र स्टार्टअपको बारेमा कान्तिपुर टेलिभिजनमा विशेष टेलिभिजन शो पनि प्रशारण हुने आयोजकले जनाएको छ ।

विभिन्न ३ विधामा छनौट भएका उत्कृष्ट ५ हरुले केहि समयपश्चात सञ्चालन हुने पब्लिक भोटिङमा सहभागी हुनेछन् भने स्र्टाटअप लगायतका विधामा जुरी समितीले कार्यालय भ्रमण गर्ने जनाइएको छ । उत्कृष्ट ५ मा पर्न असफल स्टार्टअप, प्रडक्ट र राइजिङ स्टारहरुले पनि पब्लिक च्वाइस आइसिटी अवार्ड २०२३ विधामा सहभागी हुन पाउनेछन् । सर्वोत्कृष्टलाई पुस ६ गते आयोजना हुने ग्राण्ड फिनाले कार्यक्रममा विशेष सम्मान गरिने अयोजक समितिका अध्यक्ष राजन लम्सालले बताए ।

यसैगरी आइसिटी अवार्ड २०२३ अन्तर्गत अन्य व्यत्तिगत र सस्थागत अवार्ड विधाहरुमा पनि छनौट प्रकृया जारी रहेको छ । प्रोफेसनल एक्सिलेन्स, पायोनियर, आन्टरप्रेनर्स, वुमन आइकन र नेपाली डायस्पोरा आइसिटी अवार्डका विधाहरुमा दोश्रो चरणको छनौट प्रकृया सञ्चालनमा छ । त्यस्तै, डिजिटल एजुकेसन, डिजिटल गर्भनेन्स र डिजिटल सर्भिसेस विधामा पहिलो चरणको छनौट प्रकृया सञ्चालन भइरहेको छ ।

साउथ एसिया स्टार्टअप आइसिटी अवार्ड विधामा नोमिनेसन अवधी समाप्त भएर स्क्रिनिङ भइरहेको आयोजकले जानकारी दिएको छ । साउथ एसिया स्र्टाटअप अवार्डमा विभिन्न ६ देशबाट ६० बढिको नोमिनेसन प्राप्त भएको छ । यस विधामा सर्वोत्कृष्ट छनौटकोे लागि भारत, बंगलादेश, पाकिस्तान र श्रीलंकाबाट जुरी सदस्यहरु रहेका छन् ।

लिभिङ विथ आइसिटीले आयोजना गर्दै आइरहेको आइसिटी अवार्ड सन् २०१६ बाट सुरु भएको हो । यस वर्ष आठौं सस्करण अन्तगर्तको आइसिटी अवार्डमा १३ विधामा ५५० बढिको अनलाइन नोमिनेसन प्राप्त भएको आयोजकले जनाएको छ । छनौटको लागि १४ जना बिज्ञ जुरी सदस्यहरु रहेका छन भने १३ जनाको विशिष्ट सल्लाहकार समिती रहको छ ।

आयोजकका अनुसार अवार्डमा छनौट प्रकृयाको लागि २५ बढि जुरी मिटिङ र प्रवद्धनको १० बढि प्रिइभेन्ट क्याम्यिनसँगै टेलिभिजन शो पनि सञ्चालन हुनेछ ।