भूकम्पमा घाइतेका लागि भेरी अस्पताल केन्द्र तोकियो,बाँकेका सबै अस्पताल तयारी


काठमाडौँ । जाजरकोट केन्द्र बिन्दु भएर गएको भूकम्पनमा परेर गम्भीर घाइते भएकाको उपचारका लागि जिल्ला प्रशासन कार्यालय बाँकेले बिहान साढे ३ बजेदेखि नै तयारी थालेको छ ।

गम्भीर घाइतेको उपचारका लागि बिहान ३ः२१ मिनेटदेखि नै तयारी थालिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।

भेरी अस्पताल नेपालगन्जलाई उपचारको लागि डेडिकेटेड अस्पताल तोकिएको छ भने व्यक्तिगत पहलमा उपचारका लागि आउने घाइतेहरुको आफन्तजनको सहजताको लागि पनि नरेश श्रेष्ठलाई फोकल पर्सन (९८५११४३६६६) तोकिएको छ ।

कोहलपुर मेडिकल कलेजलाई तयारी अवस्थामा राखिएको र भेरी अस्पताल , सैनिक असपताल र प्रहरी अस्पतालको १०५ वटा बेड तयारी अवस्थामा राखिएको छ।

कोहलपुर मेडिकल कलेजलाई पनि तयारी अवस्थामा राखिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ । पर्याप्त मात्रामा डक्टर , नर्सिङ स्टाफ , र लजिस्टिक प्रबन्ध मिलाईएको छ ।

हेलिकप्टरबाट आउने बिरामीको लागि रांझा बिमानस्थल , र आर्मिको हेलिप्याडमा २/२ वटा एम्बुलेन्स तैनाथ गरिएको छ ।

रगतको मौज्दात रहेको छ र अपुग भएमा रक्त दाता सुरक्षाकर्मिको व्यवस्था मिलाईएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।