लघुवित्त वित्तीय संस्थामा कार्यरत शाखा प्रबन्धकहरूमा स्नातक गर्नेकाे संख्या ५० प्रतिशत भन्दा कम


काठमाडौँ । लघुवित्त वित्तीय संस्थामा कार्यरत शाखा प्रबन्धकहरूमा स्नातक गर्नेकाे संख्या ५० प्रतिशत भन्दा कम देखिएको छ ।

राष्ट्र बैँकले गरेको अध्ययनका क्रममा लघुवित्त वित्तीय संस्थामा कार्यरत शाखा प्रबन्धक शैक्षिकहरूमा स्नातक उत्तिर्ण गर्ने संख्या ४६ प्रतिशत रहेको छ भने प्रविणता प्रमाण पत्र तह उत्तिर्ण गर्ने ४३ प्रतिशत छन् ।

७ प्रतिशत शाखा प्रबन्धकले मात्रै स्नातकोत्तर तह उत्तिर्ण गरेको अध्ययनले देखाएको छ । ४ प्रतिशतले माध्यमिक तह उत्तिर्ण गरेका छन् । ६९.६ प्रतिशतले एउटा संस्थामा मात्र काम गरेको र २०.३ प्रतिशतले दुईवटा संस्थामा काम गरेको तथ्याङ्क देखिएको छ ।

७.८ प्रतिशतले तीनवटा, १.८ प्रतिशतले चारवटा र ०.५ प्रतिशतले बाह्रवटासम्म संस्थामा काम गरेको प्रतिवेदनमा उल्लेख छ । कर्मचारीहरूको कार्य अवधि १ महिनादेखि २७ वर्षसम्म रहेको प्रतिवेदनमा उल्लेख छ ।

कार्य अनुभवको सन्दर्भमा ५९ प्रतिशत कर्मचारीको कार्य अनुभव ५ वर्षभन्दा कम रहको छ भने २८ प्रतिशत कर्मचारीको कार्य अनुभव ५ देखि ९ वर्ष रहेको छ ।

१२ प्रतिशत कर्मचारीको कार्य अनुभव १० वर्ष वा सोभन्दा बढी रहेको राष्ट्र बैँको प्रतिवेदनमा उल्लेख छ । कर्मचारीहरूको मासिक तलब रु.११,५०० देखि रु.८४,१०८ रहेको देखिएको छ । औसत तलब रु.४१ हजार ४ सय ५९ रहेको छ ।

लघुवित्त वित्तीय संस्थाका अधिकांश कर्मचारीहरू तालिम प्राप्त रहेको र सर्वेक्षणमा सहभागी ४३ प्रतिशतले ५ देखि ९ वटासम्म तालिम पाएका छन् भने ३६ प्रतिशत कर्मचारी ४ वटासम्म तालिममा सहभागी भएका छन् । यद्यपी, ३ जना कर्मचारीले कुनै पनि तालिम नपाएको प्रतिवेदनमा उल्लेख छ ।