फूल आयात भए नसहने फ्यानको चेतावनी


काठमाडौँ । फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान) ले स्वदेशमै सयपत्री फूलको प्रयाप्त उत्पादन भइरहँदा पनि किसानको उत्पादनलाई प्रत्यक्ष असर गर्ने गरी कुनै पनि पक्षबाट हुने आयातलाई प्रोत्साहन गर्ने गतिविधि नसहने चेतावनी दिएको छ ।

अध्यक्ष मीन बहादुर तामाङ्गले विज्ञप्ति जारी गर्दै सयपत्री फूलको आयात भए फ्यान र नेपाली किसान चुप लागेर नबस्ने चेतावनी दिएका छन् ।

अध्यक्ष तामाङले जारी गरेको विज्ञप्तिमा भनिएको छ,“तिहारको पूर्व सन्ध्यामा अबैध तथा आबश्यकता भन्दा बढि सयपत्री मालाको आयात भई रहेको सूचनाहरु प्राप्त भए पछि नेपाली किसानहरु प्रतिकारका लागि फूलका माला बोकेर सरकारी निकायमा धर्ना दिनेसम्मको तयारी भइरहेको थियो तर तत्काललाई सरकारी पक्षबाट आएको प्रतिवद्धताले असहज परिस्थिति सृजना हुनबाट टरेको जानकारी पनि गराउन चाहन्छौँ । ”

अवैध रुपमा पुष्प आयात गर्ने, भण्डारण गर्ने तथा विक्री गर्ने माथि गृहमन्त्रालयले प्राथमिकताका साथ अनुमगन समेत गरिरहेको र फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान) पनि निरन्तर समन्वयमा रहेको विज्ञप्तिमा जानकारी गराइएको छ ।

विज्ञप्तिमा भनिएको छ,“तिहार नजिकिदै जाँदा यस किसिमको अवैध कारोबार बढ्न सक्ने सम्भावित अवस्थालाई निरुत्साहन गर्न यस्ता गतिविधिको जानकारी पाइएमा हामीलाई वा नजिकको प्रहरी कार्यालयमा जानकारी दिनु हुन पनि सबैमा अनुरोध गर्दछौँ ।”

फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान) को समेत निरन्तर पहल कदमी र सरोकारवाला सबैको सक्रियताले यस पटक प्लाष्टिकजन्य फूलको कारोबार निरुत्साहन र स्वदेशमै उत्पादित पुष्प प्रवद्र्धनका लागि महत्वपूर्ण कार्य भएको विज्ञप्तिमा छ ।

फ्यानले भनेको,“कोरोनाकालमा थला परेको पुष्प क्षेत्र यति बेला कोरोना अघिकै गतिमा अगाडि बढिरहेको छ । निरन्तर यो गति बढ्दै जाने र पुष्प व्यवसाय फैलदै जाने तथा पुष्प तथा पुष्पजन्य उत्पादनमा मुलुक आत्मनिर्भर बन्दै निर्यातमा प्रयाप्त बढावा हुनेमा हामी विश्वस्त छौँ ।”