सञ्चालक समितिको ‘प्राथमिकतामा नपर्दा’ अल्झियो नेप्से–३० इन्डेक्स


काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सेयरबजारमा ल्याउन लागेको ‘नेप्से–३०’ सूचक अड्किरहेकाे छ ।

स्टक एक्सचेन्जले गत वैशाख २० गते सूचना जारी गर्दै प्रस्तावित ‘नेप्से– ३०’ इन्डेक्स सञ्चालनको लागि लगानीकर्तासँग राय सुझाव मागेको थियो ।

गत साउन नयाँ इन्डेक्स नेप्से–३० को सफल परीक्षण गरेर सार्वजनिक गर्ने अवस्थामा रहे पनि आवश्यक नियमहरूको कारण सार्वजनिक गर्न नसकिएको नेप्सेका अधिकारीहरू बताउँदै आएका थिए ।

नेप्से सञ्चालक समितिले गत भदौमा नेपाल स्टक एक्सचेन्ज लिमिटेड सूचकाङ्क (इन्डेक्स) विकास, सञ्चालन तथा व्यवस्थापन सम्बन्धी आन्तरिक कार्यविधि,२०८० पास गरिसकेको छ ।

यो कार्यविधि पास भएसँगै लामो समयसम्म अड्किएर बसेको नयाँ इन्डेक्स नेप्से ३० ल्याउन बाटो खुले पनि अहिलेसम्म कार्यान्वयनमा आएको छैन ।

नेप्से सञ्चालक समितिका सदस्यहरूले नै नबुझ्दा ‘नेप्से ३०’ सूचक सार्वजनिक गर्न समय लागेको नेप्से स्रोतको दाबी छ ।
“सञ्चालकहरू यो क्षेत्रको नहुँदा सेयरबजारमा उक्त इन्डेक्स हामीले जति आवश्यक ठानेका छौँ उहाँहरूले त्यति आवश्यक महशुस गर्न सक्नु भएन,” नेप्सेका एक अधिकारीले भने ।

सञ्चालक समितिमा सेयरबजार क्षेत्रको भन्दा पनि प्रशासनिक क्षेत्रका विषयमा बढी चासो देखिने गरेको छ ।

गत साउनमै आन्तरिक परीक्षण सम्पन्न गरेको नेप्से ३० अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन ।

नेप्से– ३० सार्वजनिक गर्न नेप्सेको सञ्चालक समितिले मिति सार्वजनिक गर्दा राम्रो हुने नेप्सेका प्रवक्ता मुराहरि पराजुली बताउँछन् ।

पराजुलीले भने, “नेप्से–३० इन्डेक्स सञ्चालनका लागि कार्यविधि पास भइसकेको छ । कार्यविधिमा नेप्से ३० इन्डेक्स सार्वजनिक गर्न सञ्चालक समितिले मिति तोक्ने भनेर उल्लेख भएअनुसार सञ्चालक समितिको बैठकले मिति तय गर्नुपर्ने हो ।”

उनले दसैँ तिहारको विदाका कारणले सञ्चालक समितिको बैठक बस्न सकेको नसकेको भन्दै अब बस्ने सञ्चालक समितिको बैठकले नेप्से–३० इन्डेक्सको सार्वजनिक मिति तय गर्न सक्ने आशा व्यक्त गरे ।

नेप्से बजार पुँजीकरण भारको आधारमा गणना हुने सूचक हो भने नेप्से ३० पनि सोही आधारमा गणना हुने इन्डेक्स हो । नेप्सेले सूचीकृत कम्पनीमध्ये सबै क्षेत्रको प्रतिनिधित्व हुनेगरी उत्कृष्ट ३० वटा कम्पनी छनोट गरेर त्यसको आधारमा धितोपत्र बजारमा त्यसको कारोबार गति मापन गर्नेगरी ‘नेप्से ३०’ सुरु गर्न लागेको हो ।

नयाँ स्टक एक्सचेन्ज ल्याउन कुराले बजार तातिएको नेप्से पनि सक्रिय हुन थाल्यो भनेर देखाउन मात्र खोजिएको नेपाल इन्भेष्र्टस फोरमका पूर्व अध्यक्ष छोटेलाल रौनियार बताउँछन् ।

रौनियार भन्छन्, “पुरानो स्टक एक्सचेन्जले केही काम गरेर, वेबसाइट पनि राम्रोसँग चल्दैन हरेक काममा ढिलासुस्ती छ भनेर आरोप लगाइरहँदा नयाँ स्टक एक्सचेन्जको कुराले बजार तात्यो, त्यहि बेलामा हामी पनि सक्रिय छौँ काम गर्दैछौँ भनेर देखाउन नेप्से–३० ल्याउने कोशिस ग¥यो ।”

“नेप्सेको काम पहिलाकै जस्तो छ, पुरानै ढर्रामा चलिरहेको छ, घोषणा गर्ने तर कार्यान्वयनमा वेवास्ता गर्ने,” उनले थपे, “त्यही भएर नै नयाँ स्टक एक्सचेन्ज ल्याउनै पर्छ भनेर आवाज उठाएका हौं ।”

के हो नेप्से–३० ?
नेप्से –३० ‘फ्रि फ्लोट’ विधिबाट नेप्सेको समग्र बजारलाई प्रतिनिधित्व गर्ने प्रमुख सूचक हो । यो सूचकांकमा नेप्सले दोस्रो बजारमा कारोबारमा रहेका कम्पनीमध्येबाट निश्चित मापदण्ड बनाएर छनौट गरेका प्रमुख ३० कम्पनीलाई स्थान दिइने प्रवक्ता पराजुली बताउँछन् ।

उनका अनुसार सबै साधारण सेयर मध्येबाट कारोबार गर्न तथा राफसाफ गर्न योग्य सेयरलाई सो कम्पनीको सेयर कारोबार मूल्यले गणना गरी आउने बजार पुँजीकरणमा आधारित रहेर यो सूचकाङ्क गणना हुने गर्छ ।

नेप्से ३० इन्डेक्सलाई हेरेर लगानीकर्ताले लगानीको योजना बनाउन सक्ने नेप्सेका अधिकारी बताउँछन् ।

“अहिले पनि म्युचुअल फण्ड तथा संस्थागत लगानीकर्ताहरूले यस्ता कम्पनी छनोटका लागि ठुलो अध्ययन गरिरहनु परेको छ । यदि नेप्सेले नै यस्ता कम्पनीहरू छनोट गरिदिएपछि म्युचुअल फण्डले यसैका लागि छुट्टै अध्ययन गरिरहनु पर्दैन,उनीहरूले नेप्से ३० मा भएका कम्पनीमा लगानी गर्न सक्छन्” प्रवक्ता पराजुली भन्छन् ।

नेप्सेले सञ्चालनमा ल्याउन खोजेको नेप्से ३० इन्डेक्स समग्र लगानीकर्ताको लागि फलदायी हुने लगानीकर्ता नवराज दाहाल बताउँछन् ।

लगानीकर्ताको लागि झुक्किने जोखिम कम हुन्छ दाहाल भन्छन्,“लगानीकर्ताले नेप्से–३० इन्डेक्स अनुसार लगानीको रणनीति बनाउन सक्छन् जसले गर्दा लगानीकर्ता झुक्किने चान्स कम हुन्छ ।”

संस्थागत लगानीकर्ता म्युचुअल फण्ड, बीमा कम्पनी, इन्भेष्टमेन्ट कम्पनीलाई राम्रा कम्पनी छनोट गर्न ‘नेप्से ३०’ बलियो आधार बन्ने सेयरबजारका जानकार बताउँछन् ।

कस्ता कम्पनी आउँछन् ?
प्रस्तावित नेप्से–३० इन्डेक्समा समावेश हुनको लागि सूचीकृत संगठित सस्था (कम्पनी)को प्रतिसेयर चुक्ता मूल्य भन्दा प्रतिशेयर किताबी मूल्य बढी हुनुका साथै विगत ५ आर्थिक वर्षमध्ये पछिल्लो आर्थिक वर्ष सहित कम्तिमा ३ वर्ष खुद नाफामा रहेको हुनुपर्ने नेप्सेले जनाएको छ ।

अघिल्लो आर्थिक वर्षमा प्रतिशेयर आम्दानी चुक्ता मूल्यको न्युनतम १० प्रतिशत रही सोही वर्षको वार्षिक मुन्द्रास्फीति दर भन्दा बढी रहेको हुनपर्ने छ ।

कम्पनीको कम्तिमा २५ प्रतिशत शेयर सर्वसाधारणमा जारी भएको वा कुल फ्रि–फ्लोट बजार पूँजीकरणमा सम्बन्धित कम्पनीको फ्रि–फ्लोट बजार पूँजीकरण एक प्रतिशतभन्दा बढी रहेको साथै सेयरधनीको संख्या कम्तिमा २० हजार हुनुपर्ने प्रावधान रहेको छ ।

पछिल्लो ६ महिनाको अवधिमा दैनिक औषत २५ लाख रुपैयाँ वा सोभन्दा बढी रकमको कारोबार भई दैनिक औषत ५ हजार कित्ता वा सोभन्दा बढी कित्ताको कारोबार भएको र दैनिक औषत ४० वा सो भन्दा बढी पटक कारोबार भएको हुनुपर्ने छ ।
त्यस्तै नेप्सेका अनुसार पछिल्लो ६ महिनाको अवधिमा उपलब्ध कारोबार दिनहरू मध्ये न्यूनतम ७५ प्रतिशत दिनहरुमा कारोबार भएको हनुपर्ने छ ।

यसरी गरिन्छ गणना ?

छनोट विधि अनुसार छनोट भएर आएका कम्पनीहरूको प्रारम्भिक सूची तयार गरी सूचीमा समावेश भएका सबै सूचीकृत संगठित संस्थाको फ्रि–फ्लोट बजार पूँजीकरण, पछिल्लो वर्षको प्रति सेयर आम्दानी, कारोबार रकम, कारोबार सङ्ख्या तथा कारोबार कित्ताका आधारमा प्रत्येकलाई भार प्रदान गरी कुल भार गणना गर्ने हुने प्रस्ताव नेप्सेले गरेको छ ।

यस्तै सूचीकृत संगठित संस्थाहरूलाई बैंक तथा वित्तीय संस्था, लघुवित्त, बिमा, जलविद्युत, उत्पादनमूलक, व्यापार तथा सेवा गरी ६ वटा क्षेत्रगत समूहमा वर्गीकरण गरी प्रत्येक समूह भित्र छुट्टाछुट्टै कम्पनीको आ–आफ्नै समूहमा कूल भार गणना गर्ने र उच्चतम भार प्राप्त गर्ने संगठित संस्थाहरूबाट ८ वटा कम्पनी छनोट गर्ने प्रस्ताव नेप्सेले गरेको छ । कुनै समूहमा ८ संगठित संस्था भन्दा कम छनौट भएमा उपलब्ध सबै संगठित संस्था छनोट गर्ने जनाएको छ ।

यसरी छनोट भएका संगठित संस्थाहरूको संख्या ३० भन्दा बढी भएमा गणना गरिएको कुल भारमा कम भार भएका कम्पनीहरूलाई हटाई ३० कम्पनी कायम गर्ने र यसरी कम्पनी हटाउँदा प्रत्येक समूहबाट कम्तीमा एक संगठित संस्था कायम गर्ने गर्ने प्रस्तावित विधिमा उल्लेख छ ।

यसरी छनोट भएका संगठित संस्थाहरुको संख्या ३० भन्दा कम भएमा प्रत्येक समूहबाट ८ भन्दा बढी कम्पनी छनोट नहुने गरी सूचीकृत सबै कम्पनीको कूल भार गणना गर्ने र उच्चतम भार प्राप्त गर्ने कम्पनी थप गरी कम्पनीको सङ्ख्या ३० पु¥याउने प्रस्ताव नेप्सेले गरेको छ ।