कुन कम्पनीले तिर्‍यो सबैभन्दा बढी कर ?


काठमाडौँ। सबैभन्दा बढी कर तिर्ने उत्कृष्ट १६ करदातालाई सरकारले सम्मान गरेको छ । गत आर्थिक वर्ष २०७९ ८० मा सबैभन्दा बढी कर तिर्ने करदातालाई सम्मान गरेको हो । सबैभन्दा बढी कर तिर्ने कम्पनी तथा व्यक्तिलाई अर्थमन्त्री डा. प्रकाशशरण महतले सम्मान गरेका हुन् ।

सबैभन्दा बढी आयकर तिर्नेमा नेपाल दूरसञ्चार कम्पनी (टेलिकम) रहेको छ । निर्यात कारोबार गर्ने डाबर नेपाल प्रालि सम्मानित भएको छ । एसियन पेन्ट्स विषेश उद्योगतर्फ सम्मानित भएको छ ।

कृषि एवम् पशुजन्यतर्फ सबैभन्दा बढी कर तिर्ने ओबिसी फुड्स प्रा.ली रहेको छ । सहकारी तथा लघुवित्ततर्फ छिमेक लघुवित्त, बैंक तथा वित्तीय संस्थातर्फ ग्लोबल आईएमई बैंक, बीमातर्फ सबैभन्दा बढी कर तिर्नेमा लाइफ इन्स्योरेन्स कर्पोरेसन रहेका छन् ।

स्वास्थ तथा शिक्षातर्फ सबैभन्दा बढी कर तिर्ने नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल सम्मानित भएको छ । पर्यटनतर्फ मनोकामना दर्शन प्रालि, वस्तु व्यापारतर्फ भाटभटेनी सुपरमार्केट, मध्यस्तरीय करदातातर्फ नेपाल स्टक एक्सचेन्ज, ऊर्जातर्फ भोटेकोसी पावर कम्पनी, रेमिटेन्सतर्फ आईएमई लिमिटेड र व्यक्तिगत आयतर्फ विजयकुमार शाह सम्मानित भएका छन् ।

आयकर, मुअकसहित सबैभन्दा धेरै कर तिर्ने र समयमै बिलबिजक बुझाउने (संस्थागत) सूर्य नेपाल प्रालि दुई विधामा सम्मानित भएकाे छ ।