मुक्तिनाथ कृषि कम्पनीको आइपीओमा आवेदन खुल्यो


काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमीटेडले आजदेखि सर्वसाधारणका लागि आईपीओ निश्कासन गरेको छ ।

कम्पनीले आज मंसिर ८ गतेदेखि ११ लाख १८ हजार कित्ता सेयर सर्वसाधारणको लागि निष्काशन तथा बिक्री खुला गरेको छ ।

कृषि क्षेत्रबाट आईपीओ जारी गर्ने देशकै पहिलो कम्पनी पनि हो । मुक्तिनाथ विकास बैंक, क्यापिटल लगायतका प्रमोटरहरुकै लगानीमा यो कम्पनी स्थापना भएको हो ।

कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित दरमा कुल चुक्तापूँजी ७० करोड रुपैयाँ २० प्रतिशतले हुन आउने १४ करोड रुपैयाँ बराबरको आईपीओ निश्कासन प्रक्रिया अगाडि बढाएको थियो ।

कुल १४ लाख कित्ता सेयरमध्ये १० प्रतिशतले हुन आउने १ लाख ४० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बाँडफाँड गरिसकिएको छ ।

यस्तै, कुल निश्कासन हुने कित्ताको ५ प्रतिशतले हुन आउने ७० हजार कित्ता म्युचुअल फण्डहरुका लागि, ३ प्रतिशतले हुन आउने ४२ हजार कित्ता कर्मचारीका लागि सुरक्षित गरी बाँकी रहेको ११ लाख ४८ हजार कित्ता सर्वसाधारणका लागि छुट्याइएको हो ।

आज (मंसिर ८ गते) देखि बिक्री खुल्ला भएको यो कम्पनीको आइपीओमा छिटोमा मंसिर १२ गतेसम्म आवेदन दिन सकिन्छ ।

कम्पनीको आईपीओमा न्यूनतम १० देखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।

यो कम्पनीको अधिकृत पूँजी १ अर्ब रुपैयाँ रहेको छ । प्रमोटरहरुबाट ५६ करोड जम्मा भइसकेको छ भने आइपीओपछि कुल चुक्तापूँजी ७० करोड हुनेछ ।

कम्पनीमा संस्थापक र साधारण सेयरधनीको सेयर हिस्सा अनुपात ८०ः२० प्रतिशत हुनेछ ।

रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाइ इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेतगर्छ।