मूल्य उतार-चढावको वास्तविकता


हामीले अहिले राष्ट्रिय तथ्याङ्क कार्यालयसँग सहकार्य गरेर यो राष्ट्रिय जीवनस्तर मापन सर्वेक्षणबाट उपभोग गर्ने वस्तु तथा सेवा र यिनीहरूको समग्र खर्चमा भएको भार प्राप्त गर्न गइरहेका छौँ । यो सर्वेक्षणमा उपभोक्ता मूल्य सूचकाङ्क निकाल्नको लागि पुग्ने गरी मानिसले उपभोग गर्ने वस्तु तथा सेवामा के के परिवर्तन आयो ? के के उपभोग गर्छन् भन्ने कुरा पनि समावेश रहेको छ ।

उपभोक्ता मूल्य सूचकाङ्क नेपाल राष्ट्र बैंकले निकाल्ने गर्दछ । यो मुद्रास्फीति गणनाको आधार हो । उपभोक्ता मूल्य सूचकाङ्कको लागि वस्तु तथा सेवाहरू छनोट गर्नुपर्ने हुन्छ । त्यसमा कुन कुन वस्तु तथा सेवा छनोट गर्ने भन्ने हुन्छ । त्यसलाई उपभोग डालो भन्ने गरिन्छ । 

उपभोक्ता मूल्य सूचकाङ्कंको लागि वस्तु डालो छनोट गर्न समय समयमा नेपाल राष्ट्र बैंकले पारिवारिक बजेट सर्वेक्षण गर्ने गरेको छ । राष्ट्र बैंक आफै पाँचओटा पारिवारिक बजेट सर्वेक्षण गरिसकेको छ । पछिल्लो बजेट सर्वेक्षण २०७०/७१ मा भएको थियो । पारिवारिक बजेट सर्वेक्षणबाट धेरै मानिसहरूले धेरै उपभोग गर्ने वस्तु तथा सेवा छनोट गरिन्छ र ती वस्तु तथा सेवामा मानिसहरूले आफ्नो आम्दानीको कति हिस्सा खर्च गर्छन् भन्ने निकालिन्छ, जसलाई भार भनिन्छ ।

वस्तु तथा सेवाको डालो र तिनको भारको जानकारी भएपछि आधार वर्षको आधार मूल्य सङ्कलन गरिन्छ । त्यसपछिका वर्षहरूमा डालोमा रहेका वस्तु तथा सेवाको मूल्य सङ्कलन गरी उपभोक्ता मूल्य सूचकाङ्क तयार गरिन्छ र आधार वर्षको मूल्य सूचकाङ्कंसँग तुलना गरेर मुद्रास्फीति निकालिन्छ । 

केही वर्षको अन्तरालमा मूल्य सूचकाङ्कं तयार पार्न वस्तु तथा सेवाको डालोमा राखिने वस्तु तथा सेवाको पहिचान गर्न पारिवारिक बजेट सर्वेक्षण गर्नुपर्ने हुन्छ । सामान्यतया यस्तो सर्वेक्षणको अन्तराल १० वर्षभन्दा बढी नाघ्नुलाई राम्रो मानिँदैन तर, व्यवहारिक रूपमा कहिले काहीँ विभिन्न कारणले केही बढी हुन जाने छुट्टै कुरा हो । 

बजारमा समयक्रममा मानिसको उपभोग शैली, उपभोग गर्ने वस्तु तथा सेवाहरूको उपलब्धता परिवर्तन भइरहेको हुन्छ । प्रविधिको विकासले गर्दा विगतमा नभएका कतिपय वस्तु तथा सेवाहरू अहिले उपलब्ध भइरहेका हुन्छन् भने कतिपय वस्तु तथा सेवाहरू बजारबाट हराइरहेका हुन्छन् । 

त्यस्तै मानिसहरूको आम्दानीको स्तर, सोच र रहनसहनमा आउने परिवर्तनले पनि उपभोग गर्ने वस्तु तथा सेवामा परिवर्तन आइरहेको हुन्छ । खासगरी विभिन्न वस्तु तथा सेवामा खर्च गर्ने आफ्नो आम्दानीको हिस्सामा (जसलाई उपभोग भार पनि भनिन्छ) परिवर्तन आइरहेको हुन्छ । पछिल्लो समय मानिसहरूको आम्दानीको बढ्दो हिस्सा गैरखाद्यान्नतर्फ बढी खर्च भइरहेको पाउँछाैँ ।

मानिसले यसरी उपभोग गर्ने डालोमा परिवर्तन आइरहेको हुन्छ । त्यसले गर्दा निश्चित अन्तरालमा उपभोक्ताको डालो कस्तो छ ? के के वस्तु तथा सेवाहरू उपभोग गर्छन् भन्ने कुरा जानकारी राखिरहनुपर्ने हुन्छ । त्यसको लागि पारिवारिक बजेट सर्वेक्षण गरिन्छ । पछिल्लो पटक २०७०/७१ सालमा पाँचौँ पारिवारिक बजेट सर्वेक्षण गरिएको थियो । 

राष्ट्र बैंकले पहिलो पारिवारिक बजेट सर्वेक्षण आर्थिक वर्ष २०२९/३० मा गरेको थियो । त्यसपछि विभिन्न समयमा गर्दै २०७०÷७१ मा पाँचौँ सम्पन्न भएको थियो । यसपटक राष्ट्र बैंक आफै पारिवारिक बजेट सर्वेक्षण नगरिकन राष्ट्रिय तथ्याङ्क कार्यालयले गरेको राष्ट्रिय जीवनस्तर मापन सर्वेक्षणलाई प्रयोग गर्न गइरहेको छ । यो सर्वेक्षण पनि दुई पटक भइसकेको छ । राष्ट्रिय थ्याङ्क  कार्यालयले अहिले तेस्रो सर्वेक्षण सम्पन्न गरिसकेको छ । यो सर्वेक्षण पहिले नै गर्ने योजना भए पनि कोभिडको कारणले रोकिएको थियो । यसले गर्दा राज्यले दोहोरो खर्च गर्नु नपर्ने भएको छ ।

कोभिडले झण्डै २ वर्ष बाधा पु¥याउँदा यसको समय थोरै बढ्न गयो । हामीले अहिले राष्ट्रिय थ्याङ्क  कार्यालयसँग सहकार्य गरेर यो राष्ट्रिय जीवनस्तर मापन सर्वेक्षणबाट उपभोग गर्ने वस्तु तथा सेवा र यिनीहरूको समग्र खर्चमा भएको भार प्राप्त गर्न गइरहेका छौँ । यो सर्वेक्षणमा उपभोक्ता मूल्य सूचकाङ्क निकाल्नको लागि पुग्ने गरी मानिसले उपभोग गर्ने वस्तु तथा सेवामा के के परिवर्तन आयो ? के के उपभोग गर्छन् भन्ने कुरा पनि समावेश रहेको छ ।

सर्वेक्षणमा वस्तु तथा सेवाहरू थपेर यसको दायरा फराकिलो पारेर मूल्य सूचकाङ्कलाई पनि उपयोगी हुने गरी सर्वेक्षण सम्पन्न भइसकेको छ । बजारमा वस्तु तथा सेवा धेरै हुने भएका कारण सबैलाई समेट्न सकिँदैन । सबैभन्दा धेरै उपभोक्ताले सबैभन्दा बढी उपभोग गर्ने वस्तुहरूको डालो बनाउनुपर्ने हुन्छ । राष्ट्रिय थ्याङ्क  कार्यालयको सर्वेक्षणबाट यो आउनेवाला छ र त्यसबाट भार पनि प्राप्त गर्दैछौँ । मानिसको आम्दानी आफ्नो दैनिक उपभोगमा कति रकम खर्च गर्छन् ? खाद्यान्नमा कति गर्छन् ? शिक्षामा कति गर्छन् ? स्वास्थ्यमा कति गर्छन् ? मनोरञ्जनमा कति गर्छन् ? लत्ता कपडामा कति गर्छन् भन्ने यो सर्वेक्षणबाट आउँछ । 

अहिले हाम्रो डालोमा भएको ४९६ वस्तु तथा सेवाहरूमध्ये कतिपय वस्तु तथा सेवाहरू बजारमा छैनन् भने कतिपय नयाँ वस्तु तथा सेवा आइसकेका छन् । नयाँ उपभोग सर्वेक्षणबाट नयाँ उपभोग डालो प्राप्त गर्छौं । 

त्यसैले आर्थिक वर्ष २०८०/८१ लाई आधार मानी उपभोक्ता डालोका सम्भावित वस्तु तथा सेवाको आधार मूल्य सङ्कलन कार्य साउनदेखि सुरु भएको छ । अहिलेसम्म उपभोक्ता मूल्य सूचकाङ्कको लागि ५७ जिल्लामा ६० ओटा बजार केन्द्रहरू रहेका थिए । नयाँ उपभोक्ता मूल्य सूचकाङ्कको लागि बजार केन्द्रहरू बढाएर ८७ स्थानबाट आधार मूल्य सङ्कलन सुरु गरेका छौँ । हामी सर्वेक्षणमा नै भएका अन्तसम्म केही घटबढ हुन पनि सक्छ । 

हालसम्म राष्ट्रिय स्तर र तराई, पहाड हिमाल र काठमाडौँ गरी भौगोलिक विभाजनको आधारमा उपभोक्ता मूल्य सूचकाङ्क निकालिरहेकोमा अब प्रादेशिक संरचनाअनुसार उपभोक्ता मूल्य सूचकाङ्क आउने गरी हामीले काम सुरु गरेका छौँ । त्यसैले पनि मूल्य सङ्कलन गर्ने बजार केन्द्र संख्या बढाउनु परेको हो । यसले सबै जिल्लाहरू समेट्न गइरहेको छ । 

काठमाडौँमा जिल्ला एउटै भए पनि बजार केन्द्र एउटाभन्दा बढी हुन्छ । मुख्य मुख्य जिल्लाहरूमा बस्ती बढी छ र बजार पनि बढी छ भने त्यसमा बजार केन्द्रहरू एकभन्दा बढी हुन्छ । दुर्गम जिल्लाहरूमा त्यहाँको सदरमुकाममा मात्र हुनसक्छ । नयाँ आधार मूल्य सर्वेक्षणको सन्दर्भमा सर्वसाधारणलाई पनि जानकारी होस् भनेर सूचना दिइरहेका छौँ । हामीले त्यहाँको स्थानीय शिक्षकहरूको सहयोगमा मूल्य सङ्कलन गरिरहेका छौँ । यस्तो मूल्य सङ्कलनमा मूल्य प्रदायक स्रोत पसल र व्यवसायले मूल्य सम्बन्धि थ्याङ्क  उपलब्ध गराई सहयोग गरिदिनु हुन हाम्रो अनुरोध छ । 

हामीले आर्थिक वर्ष २०८०/८१ वर्षभरि आधार वर्ष मूल्य सङ्कलन गर्छौं । २०८०/८१ को आधार वर्षको तुलनामा हामीले २०८१÷८२ बाट नयाँ उपभोक्ता मूल्य सूचकाङ्क निकाल्छौँ । परिवर्तित सन्दर्भमा नयाँ उपभोक्ता मूल्य सूचकाङ्कले अर्थतन्त्रको मुद्रास्फीति मापन बढी प्रतिनिधिमूलक ढंगले गर्न सक्नेछ भन्ने हाम्रो अपेक्षा रहेको छ ।

राष्ट्र बैंकले निकाल्ने मुद्रास्फीतिमा किन कम ?

उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीतिको बारेमा प्राविधिक रूपमा बुझ्न नसक्दा उपभोक्ताले धेरै मूल्य तिरिरहेको तर राष्ट्र बैंकको थ्याङ्क ले कम देखाउँछ भन्ने गुनासो आउने गर्दछ । उपभोक्ता मूल्य सूचकाङ्कको आधारमा मुद्रास्फीति निकालिन्छ । त्यो भनेको सूचकाङ्कमा आउने परिवर्तन हो । सूचकाङ्कमा आउने वार्षिक परिवर्तन मुद्रास्फीति हो । अहिले जस्तो हामीले ७ प्रतिशत भन्यौँ भने अहिलेको सूचकाङ्क गएको वर्षको सूचकाङ्क भन्दा ७ प्रतिशतले बढेको भन्ने आशय हो । 

राष्ट्र बैंकले त्यो सूचकाङ्क निकाल्ने क्रममा बजारमा उपभोग गर्ने वस्तुहरू अनगिन्ती हुन्छन् । विभिन्न मान्छेहरूले विभिन्न खाले वस्तुहरू उपभोग गर्छन् । एउटै वस्तुको पनि विभिन्न प्रकारहरू हुन्छ । विभिन्न वस्तुको ब्राण्डको कुरा हुन्छ । अहिले हामी ४९६ वटा वस्तु तथा सेवाहरूको मूल्य सङ्कलन गरेर उपभोक्ता मूल्य सूचकाङ्क निकालिरहेका छाैँ । ती वस्तु तथा सेवाहरू विभिन्न उपभोक्ताहरूले उपभोग गर्ने अनगिन्ती वस्तु तथा सेवाहरूको प्रतिनिधि हुन । निकालिने मुद्रास्फीतिले उपभोक्ता डालोमा भएका वस्तु तथा सेवामा आएको मूल्य परिवर्तनलाई समेटेको हुन्छ । 

अहिले हाम्रो डालोमा ४९६ ओटा वस्तु तथा सेवा रहेको छ । त्यो डालोबाट कुनै मूल्य साप्ताहिक रूपमा, कुनै पाक्षिक रूपमा र कुनै मासिक त कुनै त्रैमासिक रूपमा सङ्कलन गर्छाैं । छिटो छिटो परिवर्तन हुने साप्ताहिक रूपमा र छिटो परिवर्तन नहुने मासिक वा त्रैमासिक रूपमा मूल्य सङ्कलन गर्छौं । 

उपभोक्ता डालोमा रहेका वस्तुहरूको मूल्य एक ठाउँबाट मात्र आउँदैन । अहिले नै पनि हामी ६० ठाउँबाट लिन्छौँ । जुम्लाको आउँछ, पूर्वको खोटाङबाट आउँछ, तराईबाट आउँछ, काठमाडौँ, ललितपुर, भक्तपुर हेटौँडा गरी विभिन्न ६० बजार केन्द्रबाट मूल्य आउँछ । यी सबै मूल्यको औसतको औसत हुँदै अन्तिममा एउटा अंक प्राप्त हुन्छ । यतिका वस्तु तथा सेवाको यतिका ठाउँबाट आउने मूल्यकोे औषतको रूपमा राष्ट्रिय उपभोक्ता मूल्य सूचकाङ्क प्राप्त हुन्छ । 

यसमा मानिसको टिप्पणी के हुन्छ भने व्यक्तिले एउटा वस्तु किन्न जाँदा आफूले तिरेको मूल्यको आधारमा एउटा अवधारणा बन्छ । तरकारीको मूल्यमा बढी उतारचढाव हुन्छ । कहिले दोब्बरले बढ्दा यता सूचकाङ्क भने जम्मा ७–८ प्रतिशतले बढ्यो भन्ने हुन्छ । औषतको औषतबाट अन्तिममा निस्कने भएको हुनाले सूचकाङ्कले एउटा वस्तुको मूल्य परिवर्तनको प्रवृतिलाई मात्रै देखाउँदैन । एउटै समयमा कुनै वस्तु तथा सेवाको मूल्य घटेको हुन्छ भने कुनै बढेको हुन्छ । घट्ने र बढ्ने मात्रा पनि फरक हुन्छ । हामीले घटेकोलाई ख्याल गर्दैनौँ तर सामानको मूल्य बढेको हामीलाई बढी अनुभव हुन्छ । त्यसमा पैसा बढी गइरहेको हुन्छ, त्यसले गर्दा यसले छुन्छ । 

हामीकहाँ एउटा वस्तु मात्र छैन, धेरै वस्तु हुन्छ । त्यहि समयमा कुनै वस्तुको बढेको हुन्छ भने कुनैको घटेको हुन्छ । कम भार भएको सामानको बढेको हुनसक्छ बढी भार भएको वस्तुको घटेको हुनसक्छ । कतिपय पढेलेखेको मान्छेले पनि मुद्रास्फीति मापनको प्राविधिक पक्ष नबुझ्दा यस्ता टिप्पणी आउने गर्दछ ।

किन नयाँ उपभोक्ता मूल्य सूचकाङ्क ?

दश वर्षअगाडि आर्थिक वर्ष २०७०/७१ मा पछिल्लो पारिवारिक सर्वेक्षण गरेका थियौँ र आर्थिक वर्ष २०७१/७२ को आधार वर्ष मानेर आधार मूल्य सङ्कलन गरी मूल्य सूचकाङ्क निकालिरहेका छौँ । 

माथि भनेझैँ अहिले ४९६ ओटा वस्तु तथा सेवा डालोमा रहेका छन् । त्यसमा भएका कतिपय वस्तु तथा सेवा बजारमा अस्तित्वमा छैन । कतिपय ब्राण्ड नै परिवर्तन भइसकेका छन् । कुनै वस्तु तथा सेवा हराएर नयाँ आइसकेका छन् । वस्तु तथा सेवा नै परिवर्तन भइसकेपछि हिजो खर्च गर्नु नपर्ने अवस्था भए पनि आज खर्च गर्नुपर्ने अवस्थामा भएको छ । 

उपभोग परिवर्तन भइरहेकाले उपभोक्ता मूल्य सूचकाङ्कको लागि नयाँ डालोसहित आधार वर्ष परिवर्तन गर्न लागेको हो । उपभोगमा आएको परिवर्तनअनुसार उपभोक्ता मूल्य सूचकाङ्कको लागि वस्तु तथा सेवा डालो परिवर्तन गर्दा उपभोक्ता मूल्य सूचकाङ्क बढी प्रतिनिधिमूलक हुन जान्छ । समय अन्तरालमा यो परिवर्तन गरेन भने यसले बजारको मूल्यको प्रतिनिधित्व झन् गर्दैन ।

(डा. श्रेष्ठ नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक हुन्)

(टक्सार म्यागजिन २०८०, असाेज-कार्तिक अंकबाट)