हायरपर्चेज कर्जा लिन स्थायी लेखा नम्बर अनिवार्य


काठमाडौँ । नेपाल राष्ट्र बैंकले २५ लाख रुपैयाँ भन्दा बढीको हायरपर्चेज कर्जा लिनको लागि स्थायी लेखा नम्बर अनिवार्य गरेको छ ।

राष्ट्र बैंकले हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत एवम् प्रक्रियागत व्यवस्था, २०७० (चौथो संशोधन २०८०) जारी गर्दै कर्जा प्रवाह गर्दा ऋणीसँग अनिवार्य रुपमा स्थायी लेखा नम्बर लिएको हुनुपर्ने उल्लेख गरेको छ ।

रु. २५ लाखभन्दा कम कर्जा प्रवाह गरेको व्यक्तिबाट स्थायी लेखा नम्बर लिन अनिवार्य नहुने उल्लेख गरेको छ ।

यस्तै, हायर पर्चेज कर्जा दिने कम्पनीले कुनै पनि ग्राहकलाई कर्जा दिंदा ब्याज बाहेक अन्य शुल्क तथा दस्तुर लिन नपाउने राष्ट्र बैंकले जनाएको छ । साथै, कर्जा प्रवाह गर्दा ऋणीसँग गरिने सम्झौतामा वार्षिक पेनाल ब्याजदर २ प्रतिशत विन्दुभन्दा बढी नहुने गरी उल्लेख गर्नुपर्नेछ ।

पेनाल ब्याज गणना गर्दा म्याद नाघेको किस्ताको साँवा रकममा वार्षिक पेनाल ब्याजदरले विलम्ब भएको समयावधिका लागि कायम हुन आउने रकमभन्दा बढी लिन र पेनाल ब्याजमा ब्याज लाग्ने गरी रकम असुल उपर गर्न नपाइने जनाइएको छ ।