धितोपत्र बोर्डललाई ३० ओटा बैंक तथा वित्तीय संस्थाले बुझाएनन् वित्तीय विवरण


काठमाडौँ । नेपाल धितो पत्र बोर्डले आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमासिक विवरण बोर्डमा ढिलो बुझाउने वा नबुझाउने ८८ संस्थाहरुलाई कार्बाही गरेको छ ।

बोर्डले धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को नियम २६ को उपनियम (१) बमोजिम आ.व. २०७९।८० को चौथो त्रैमासिक विवरण बोर्डमा ढिलो बुझाउने तथा नबुझाउने संस्थाहरुलाई २०८०। कार्तिक २० को बोर्डको निर्णय अनुसार पन्ध्र दिन भित्र सफाई पेश गर्न भनेको छ ।

ढिलो विवरण ढिलो बुझाउने तथा नबुझाउने ३० ओटा बैंक तथा वित्तीय संस्थालाई धितोपत्र बोर्डले कार्बाही गरेको छ । चार ओटा विकास बैंक, दुई ओटा फाइनान्स कम्पनी र २४ ओटा लघुवित्तहरुलाई कार्बाही गरेको जनाएको छ ।

बोर्डले विवरण ढिलो बुझाउनेलाई ५० हजार र विवरण नबुझाउनेलाई एक लाख रुपैयाँ जरिवाना गरेको छ ।

विवरण नबुझाउनेमा कर्पोरेट विकास बैंक र गरिमा विकास बैंक थिए भने कर्णाली विकास बैंक र नारायणी विकास बैंकले ढिलो विवरण बुझाएका थिए ।

विवरण नबुझाउने बेस्ट फाइनान्स र पोखरा फाइनान्सलाई बोर्डले कार्बाही गरेको छ ।

विवरण नबुझाएर कार्बाहीमा पर्ने लघुवित्तहरुमा बिपिडब्लू लघुवित्त, धौलागिरी लघुवित्त, समाज लघुवित्त र सिर्जनशिल लघुवित्त रहेका छन् ।

विवरण ढिलो बुझाउने आरम्भ चौतारी लघुवित्त, अभियान लघुवित्त, सिवाईसी नेपाल, ग्रामिण विकास, इन्फिनिटी लघुवित्त, जनउत्थान सामुदायिक लघुवित्त, जीवन विकास, महिला लघुवित्त, मानुषी लघुवित्त र मेरो माइक्रोफाइनान्स रहेका छन् ।
यस्तै, र्मिर्मिरे माइक्रोफाइनान्स, नदिप लघुवित्त, नेरुडे लघुवित्त, एनएमबी लघुवित्त, सबैको लघुवित्त, सर्पोट लघुवित्त, स्वरोजगार लघुवित्त, उपकार लघुवित्त, विजय लघुवित्त र विन लघुवित्त रहेको बोर्डले जनाएको छ ।