बोर्डलाई व्यापारीक स्वार्थ समुहको प्रभावबाट जोगाउन कर्मचारीको अपिल


काठमाडौं । नेपाल धितोपत्र बोर्ड स्वतन्त्र कर्मचारी संगठनले नेपाल धितोपत्र बोर्डलाई व्यापारीक स्वार्थ समूह तथा तिनका बिचौलियाहरुको प्रभावबाट जोगाउन अपिल गरेको छ ।

संगठनले शुक्रबार एक विज्ञप्ती जारी गर्दै पछिल्लो समय विभिन्न संचार माध्यममा बोर्ड र बोर्ड नेतृत्व बदनाम हुने गरी विभिन्न समाचारहरु आउँदा बोर्डबाट सो को स्पष्ट खण्डन हुन नसकेकोमा चिन्ता समेत प्रकट गरेको छ ।

बजार निरन्तर ओरालो लागेको तथा अर्थतन्त्रका अधिकांश सूचक सन्तोषजनक नरहेको विषम परिस्थितिमा बोर्ड एवं वोर्ड नेतृत्वप्रति ब्यपारीक स्वार्थ समूह हावी भएको भन्ने खालका आरोपको सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

संगठनले जारी गरेको विज्ञप्तीमा धितोपत्रको सार्वजनिक निष्कासन तथा अनुमतिको सम्बन्धमा बारम्बार विवादास्पद समाचारहरु पढ्न र सुन्नु पर्दा मर्माहित भएको संगठनले उल्लेख गरेको छ ।

बोर्डको स्थायी संयन्त्रको रुपमा रहेका कर्मचारीहरुमा भय र त्रासको वातावरण सृजना भएको महसुस गरेको भन्दै संबैधानिक अंग र विषयगत संसदीय समितिहरुबाट बारम्बार प्रश्न चिन्ह उठने गरी काम भएको भन्ने आरोपले समेत कार्यालय त्राहिमाम बनेको छ ।

पुँजीबजार शुद्धिकरणको महाअभियान मार्फत सत्यतथ्य जाँचबुझ गरी बोर्डको गरिमा र स्वायत्तता कायम राख्नुपर्ने विषयमा नेपाल धितोपत्र बोर्ड स्वतन्त्र कर्मचारी संगठनले जोडदार माग गरेको छ ।