सहकारीको पूँजी अनुत्पादक क्षेत्रमा लगानी भएकाे सराेकारवालाकाे भनाइ


काठमाडौँ । भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले केही सहकारी संस्थाका लापरबाहीका कारण पूरै सहकारी क्षेत्र बदनाम भएको बताएका छन् ।

आज (शुक्रबार) सहकारी पैसा कहाँ गयो ? अन्तरक्रिया कार्यक्रममा बोल्दै सचिव दुवाडीले केही संस्थाले उत्पादनमूलक क्षेत्र बाहेक अन्यत्र ऋण प्रवाह गर्दा अन्य संस्थाहरू समस्यामा परेको बताएका हुन् ।

उनले सहकारीको मर्म, उद्देश्य विपरीत सदस्यको बचतको परिचालन गरेर घरजग्गाको कारोबार गर्ने, गैरवित्तीय सम्पत्तिमा लगानी गर्ने जस्ता कार्यका कारण दिनानुदिन संकट बढ्दै गएको दाबी गरे ।

उनले भने, “संस्थाले केही रकम तरलताको रूपमा राखेर बाँकी रकम सदस्यको बीचमा नै परिचालन गर्ने हो । परिचालन गर्दा संस्थाले उच्चतम सतर्कता अपनाउने हो । यति मात्र गर्न सकियो भने सदस्यहरूको बचत सुरक्षित हुन्छ । सदस्यहरूले तस्कर तथा कालोबजारी मनोवृत्तिका मानिसहरू संस्थाको नेतृत्वमा प्रवेश गर्ने कुरामा अलि बढी चनाखो र सतर्क रहनुपर्छ ।’’

“संविधानले गरेको व्यवस्थालाई तीन खम्बे अर्थनीति भनेर व्याख्या त गरियो तर त्यो अनुरूपको व्यवहार हुन सकेन् “, उनले भने, “सरकारले सहकारी क्षेत्रलाई संविधानको मर्म अनुरूप प्राथमिकतामा राख्न सकेन । सार्वजनिक, निजी र सहकारी क्षेत्रको समन्वय, अधिकार क्षेत्र र भूमिकाको बारेमा संसदबाटै मार्गदर्शन बन्नु आवश्यक थियो ।”

राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले सहकारीमा बचकर्ताहरूले जम्मा गरेको संचालकदेखि अध्यक्षले सेयर बजार, घरजगा, तथा अन्य अनुत्पादक क्षेत्रमा लगानी गर्दा समस्याको चपेटामा परेको बताए ।

उनले बजारमा केही संस्थाले गरेको लापरबाहीका कारण सहज तरिकाले संचालनमा आएका संस्थामा समेत बचतकर्ताहरूले निक्षेप निकाल्ने होडबाजी गरेपछि यो क्षेत्र थप समस्यामा परेको जानकारी दिए ।

“सहकारी क्षेत्रको अनुगमन, नियमन कमजोर हुनु सहकारी संकटको मुख्य कारण हो । समग्र सहकारी संस्थाको ठूलो हिस्सा वित्तीय कारोबार गर्दछ । बचत तथा ऋण सहकारी बाहेक अन्य विषयगत संस्थाको पनि वित्तीय कारोबार नै मुख्य कारोबार रहेको छ । तर, सहकारी क्षेत्रसँग जोखिम न्यूनीकरणको क्षमता अत्यन्तै कमजोर छ । नियमन पक्ष कमजोर भएकाले सहकारीहरू मूल्य, मान्यता र आदर्शबाट विचलित हुँदै गएका छन् ।,” उनले भने ।

त्यस्तै राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले सहकारी सुशासनका लागि सदस्य, संचालक समिति, लेखा सुपरीवेक्षण समिति एवं कर्मचारीको महत्वपूर्ण भूमिका भएता पनि उनीहरूको लापरबाही गर्ने गरेकाे बताए । उनले भने, “यीमध्ये कुनै पक्षको भूमिका प्रभावकारी भएन भने सुशासनको सुनिश्चितता हुँदैन । तर, कतिपय सहकारी खोल्दै गलत नियतले खोलिएका छन् र संचालन अपारदर्शी छ । त्यस्ता संस्थामा सुशासन र वित्तीय अनुशासनको अवस्था कमजोर छ ।”