एनसेल खरिदबिक्रीबारे छानबिन गर्न उच्चस्तरीय समिति गठन


काठमाडौँ । सरकारले एनसेलको शेयर खरिदबिक्रीबारे अध्ययन तथा छानबिन गर्न पूर्वमहालेखापरीक्षक टंकमणि शर्माको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गरेको छ ।

आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले पूर्वमहालेखापरीक्षक शर्माको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

समितिका सदस्यहरूमा सचिव फणिन्द्र गौतम, अर्थ मन्त्रालयका सहसचिव रितेशकुमार शाक्य , सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव बाबुराम भण्डारी, र आईक्यानका अध्यक्ष सुजनकुमार काफ्ले छन् ।

समितिलाई एनसेल खरिदबिक्री प्रकरण अध्ययन गरी प्रतिवेदन पेश गर्न एक महिनाकाे कार्यादेश दिइएको मन्त्री शर्माले जानकारी दिइन् ।