मंसिर २७ गतेदेखि प्रिमियममा आइपीओ जारी गर्दै हिमालयन रिइन्स्योरेन्स


काठमाडौं । हिमालयन रिइन्सुरेन्स लिमिटेडले मंसिर २७ गतेदेखि आइपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले सर्वसाधारण लगानीकर्ताको लागि प्रिमियममा साढे दुई करोड कित्ता सेयर जारी गर्ने भएको हो ।

कम्पनीले १०० रुपैयाँ अंकित दरमा १०६ रुपैयाँ प्रिमियम थप गरी २०६ रुपैयाँमा कम्पनीले २ अर्ब ४९ करोड रुपैयाँ बराबरको २ करोड ४९ लाख कित्ता सेयर निष्काशन गर्न लागेको हो ।

हिमालयनले आफ्नो जारी पुँजी १० अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने ३ अर्ब रुपैयाँ बराबरको आइपीओ सर्वसाधारणलाई जारी गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।

यसअनुसार कम्पनीले यसको १० प्रतिशत अर्थात् ३० लाख कित्ता सेयर पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई जारी गरिसकेको छ ।

सोमध्ये, २ प्रतिशत अर्थात, ६ लाख कित्ता सेयर यस कम्पनीका कर्मचारी र ५ प्रतिशत अर्थात, १५ लाख कित्ता सामूहिक लगानीकोषलाई बाँडफाँट भएको छ । बाँकी २ करोड ४९ लाख कित्ता सेयर सर्वसाधारणलाई छुट्याएको हो ।

लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ३ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत आइपीओ भर्न सकिनेछ ।

उक्त आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ। यस आइपीओमा लगानीकर्ताले मंसिर २७ गतेदेखि छिटोमा पुस १ गते र ढिलोमा पुस ११ गतेसम्म आवेदन दिन सक्नेछन् ।

रेटिङ एजेन्सी इक्रा नेपालले यो आइपीओलाई ‘इक्राएनपी आइआर ए’ रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमता पर्याप्त मात्रामा सुरक्षित रहेको जनाउँछ ।