९ प्रतिशत ब्याजदरमा ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्दै नबिल बैंक


काठमाडौं । नबिल बैंक लिमिटेडले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले यहि मंसिर २९ गतेदेखि ७ वर्षे अवधिको ‘९ प्रतिशत नबिल डिबेन्चर २०८७’ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ ।

उक्त ऋणपत्रका लगानीकर्ताले वार्षिक ९ प्रतिशत ब्याजदर प्राप्त गर्नेछन् । ऋणपत्रमा आर्जित ब्याज रकम प्रत्येक आर्थिक वर्षको प्रथम अर्थवार्षिक र दोस्रो अर्धवार्षिक समाप्त भएपश्चात कर कट्टा गरी भुक्तानी गरिनेछ।

बैंकलाई प्रतिइकाई १ हजार रुपैयाँ दरका ३ अर्ब मूल्यको ३० लाख इकाई ऋणपत्र बिक्री गर्ने भएको छ ।

जसअनुसार बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ दरका १२ लाख इकाई अर्थात १ अर्ब २० करोड रुपैयाँ बराबरको ऋणपत्र सर्वसाधारणका लागि निष्कासन गर्नेछ भने बाँकी १८ लाख इकाई बराबरको १ अर्ब ८० करोड मूल्यको ऋणपत्र बैंकले व्यक्तिगत तवरबाट बिक्री गर्नेछ ।

बाँकी ४० प्रतिशत अर्थात १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणमा बाँडफाँड गरिनेछ । सर्वसाधारणमा बाँडफाँड गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ ।

सो ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १२ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

उक्त ऋणपत्रमा लगानीकर्ताले मंसिर २९ गतेदेखि छिटोमा पुस ३ गतेसम्म ढिलोमा पुस १३ गतेसम्म आवेदन दिन सक्नेछन् ।

नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका तोकिएका शाखाहरु तथा सिडिएस एण्ड क्लिरिङ्ग लिमिटेडबाट निर्माण गरिएको मेरो शेयर अनलाइन प्रयोग गरी सि आस्बा प्रणालीमार्फत उक्त ऋणपत्रमा आवेदन दिन सकिनेछ ।

बैंकले उक्त ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

क्रेडिट रेटिङ्गमा इक्रा नेपालले बैंकलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल ए माइनस प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा उच्च मात्रामा सुरक्षित रहेको संकेत गर्दछ।